२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मेडिकल काउन्सिलको निष्कर्ष : ‘बालिका मृत्युमा चिकित्सकको कमजोरी देखिएन’

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको मृत्यु हुनुमा चिकित्सकको नभई अस्पताल व्यवस्थापनको कमजोरी देखिएको नेपाल मेडिकल काउन्सिलले निष्कर्ष निकालेको छ । साहको वैशाख १७ गते शल्यक्रिया हुँदा गलत समूहको रगत चढाएको पाँच दिनपछि मृत्यु भएको थियो । ‘ओ पोजेटिभ’ रगत भएकी बालिकालाई शल्यक्रियाका क्रममा ‘ए पोजेटिभ’ रगत चढाउँदा मृत्यु भएपछि त्यसको मेडिकल काउन्सिलले छानबिन गरेको थियो । 

मेडिकल काउन्सिलको निष्कर्ष : ‘बालिका मृत्युमा चिकित्सकको कमजोरी देखिएन’

‘बालिकाको शल्यक्रिया गर्नुअघि अस्पतालले व्यवस्था गर्नुपर्ने चेकलिस्टसमेत थिएन । ल्याबमा बस्नेले तयार गरेको विवरणकै आधारमा बालिकालाई रगत चढाइएको छ । सबैले ल्याबले दिने रिपोर्टलाई विश्वास गरेको देखिन्छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले भने, ‘बालिकाको मृत्यु हुनुमा चिकित्सकको कमजोरी देखिएन । अस्पताल व्यवस्थापनको कमजोरीले बालिकाको मृत्यु भएको पाइयो ।’ शल्यक्रिया गर्ने चिकित्सकको कमजोरी नभए पनि नैतिक जिम्मेवारी भने लिनुपर्ने भन्दै सचेतपत्र दिइएको उनले बताए । काउन्सिलले तयार पारेको प्रतिवेदनमाथि विज्ञ चिकित्सक संयोजक रहेको समितिमा समेत छलफल भइरहेको रजिस्ट्रार अधिकारीले बताए ।


सहन्यायाधिवक्ता, प्रहरी, स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारीलगायत सदस्य रहेको उक्त समितिले अनुसन्धान गर्दा कसैको कमजोरी भेटिए मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ । यसअघि उच्च अदालत पाटनले यस घटनाका सम्बन्धमा मेडिकल काउन्सिल र सरकारी वकिल कार्यालयसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।


मैले बिरामी नहेरी कसरी मेरो गल्ती ?

यसैबीच अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले उक्त शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । ‘म शल्यक्रियामा संलग्न थिइनँ । बेहोस बनाउने टिममा पनि थिइनँ । न त उनलाई चढाइएको रगत मेरो सिफारिसमा भएको हो,’ अधिकारीले भने, ‘यो घटनामा मेरो कुनै संलग्नता र कमजोरी नभएको भनेर काउन्सिलले पत्र दिइसकेको छ । मेरो बेइज्जत गर्न मात्रै यस्तो आरोप लगाइएको हो ।’ यसअघि पीडित पक्षले उक्त घटनाको छानबिन जारी रहेको भन्दै डा. अधिकारीलाई निर्देशक बनाइएकामा आपत्ति जनाएको थियो ।

प्रकाशित : माघ ७, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?