नेकपाको नयाँ आचारसंहिता : मितव्ययी विवाहदेखि परिवारमा ‘तँ’ भन्न नपाइनेसम्म

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिता बनाएको छ । आइतबार बसेको सचिवालय बैठकपछि पार्टी कमिटीमा जारी भएको ‘विशेष परिपत्र ७’ अनुसार पार्टीका नेता कार्यकर्ताले आगामी दिनमा अनिवार्य आचारसंहिता पालना गर्नुपर्ने भएको छ । 

नेकपाको नयाँ आचारसंहिता : मितव्ययी विवाहदेखि परिवारमा ‘तँ’ भन्न नपाइनेसम्म

आफ्ना छोराछोरीको विवाहलाई सरल र मितव्ययी बनाउनेदेखि आफ्नै कमाईबाट पार्टीमा अनिवार्य लेबी बुझाउनुपर्ने आचारसंहिता बनाएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले जारी गरेको परिपत्रमा भनिएको छ, ‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं । यसका लागि पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले आचारसंहिता पालन गर्न जरुरी छ ।’ नेकपाले ११ बुँदे आचारसहिंता बनाएको छ ।


परिपत्र अनुसार पहिलो बुँदामा प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख छ । र, पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्ने उल्लेख छ । ‘आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ,’ परिपत्रमा भनिएको छ ।


यस्तै आचारसंहिताको दोस्रो बुँदा अनुसार सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने उल्लेख छ ।


परिपत्रमा भनिएको छ, ‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरी गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अप्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ ।’


परिवारमा गालीगलौज, झगडा, भेदभाव र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने आचारसंहितामा उल्लेख छ । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।’

घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्ने र नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्ने आचारसंहिताको बुँदा ३ मा छ । काममा राहेको सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्ने र खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुनेगरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्ने आचारसंहितामा छ ।

चौथो बुँदामा भनिएको छ, ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग संचालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा संचालन गर्नुपर्छ । व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानून बमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।’

कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेद्वार बन्न बन्देज लगाउनुपर्ने आचारसंहिताको पाँचौं बुदामा छ ।

यस्तै पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने र घरमा सिक्ने सिकाउने वातावरण सिर्जना गरी हुकाउनुपर्ने आचारसंहिताको छैटौं बुँदामा छ ।

पार्टी सदस्यले ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्ने र भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिशन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफुसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कुरा आचारसंहिताको सातौं बुँदामा छ ।

यस्तै आठौं बुँदामा सामूहिक जीवन प्रणालीलाई जोड दिँदै परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन नदिन उत्पादन, वितरण र उपभोगमा सामूहिकता कायम गर्नुपर्ने उल्लेख छ । सोही बुँदामा थप भनिएको छ, ‘महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनकाबीच बनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि संचालन गर्नुपर्छ ।’

आचार संहिताको नवौं बुदाँमा पार्टीका प्रत्येक सदस्यले आˆनो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । ‘आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।’


समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीचि, छुवाछुत, जातपात र जातिभेद अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्ने आचारसंहिताको दशौं बुँदामा छ ।

आचारसंहिताको एघारौं बुँदामा भनिएको छ, ‘आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो । मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसंग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।’


प्रकाशित : माघ ६, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?