कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेकपामा यस्तो थियो सभामुख उम्मेदवार चयनको महाभारत

बबिता शर्मा

काठमाडौँ — संसद सचिवायलमै कार्यरत कर्मचारीलाई यौन दुर्व्यवहार आरोपपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपामा कसलाई सभामुख उम्मेदवार बनाउने भन्ने कुरामा महाभारत नै चलेको थियो । जसको पटाक्षेप आइतबार भएको छ ।

नेकपामा यस्तो थियो सभामुख उम्मेदवार चयनको महाभारत

महरा नेकपाको पूर्व माओवादी खेमाको 'कोटा'बाट सभामुख बनेका थिए । उनले राजीनामा गरेपछि यही खेमाबाट सभामुख हुनुपर्ने अडान अध्यक्ष पुष्पकमल दाहाललगायत पूर्वमाओवादी नेताहरुले राखेपछि नेकपाको 'सभामुख महाभारत' लम्बिएको थियो ।

सभामुख उम्मेदवार चयनका लागि नेकपा अध्यक्ष एव‌ं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच अनगिन्ती छलफल भए । तर, चार महिना अवधिका यी छलफलबाट पनि उम्मेदवार टुंगो लागेन । पूर्वसमूह र आफू नजिकका नेतालाई सभामुख बनाउने ओली र दाहालको चाहनासँगै उनीहरू अनिर्णयको बन्दी बने । सभामुख निर्वाचनको पहिलो कार्यसूचीसहित पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको बैठक तीनपटक स्थगित भएर माघ ६ गतेसम्म धकेलियो ।

संसद बैठक सोमबार बस्दैछ । त्यसको एक दिनअगाडि आइतबार ओली र दाहाल सभामुखको उम्मेदवार तय गर्न सफल भए । नेकपाले संसद बन्धन बनाएको भन्दै विपक्षी कांग्रेस र आफ्नै सांसदहरूको पनि अध्यक्षद्वयले चर्को आलोचना खेप्नुपर्‍यो ।

सभामुखमा राष्ट्रपतिको समेत चासो जोडिँदा अनिर्णयको बन्दी बनेका ओली र दाहालका लागि यो विषय झन् पेचिलो बन्यो । ओली पूर्वसभामुख नेम्वाङलाई र दाहाल सापकोटालाई सभामुख बनाउन चाहन्थे । भण्डारीको चाहना उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख देख्ने रुचि राखेपछि अध्यक्षद्वय दबाबमा परेका थिए । उपसभामुख शिवमायाले महराले गरेको गल्तीको सजाय आफूलाई दिन नमिल्ने भन्दै पदबाट राजीनामा गर्न मानिनन् । नेकपा सचिवालयले राजीनामा दिन निर्देशन गर्दासमेत उनले त्यसलाई अस्वीकार गरिन् । आफूलाई स्वत: सभामुख बनाउनु पर्ने उनको माग थियो । उनको यो अडानले ओली र दाहाल थप दबाबमा परेका थिए ।

अन्ततः ओली र दाहालले स्थायी समिति सदस्य सापकोटालाई सभामुखको जिम्मेवारी सुम्पिने निर्णयलाई सचिवालय बैठकबाट पारित गराए । पूर्वमाओवादी समूह आफ्नो अडानबाट पछि नहटेपछि आइतबार बिहान भएको दुई अध्यक्षको भेटघाटमा ओली सापकोटालाई सभामुख उम्मेदवार बनाउन सहमत भए, जसलाई साँझ बसेको सचिवालयले पारित गर्‍यो ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई मनाउने जिम्मा सचिवालय बैठकले दुई अध्यक्षलाई दिएको छ ।

प्रकाशित : माघ ५, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?