कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठकले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।

सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपाको निर्णय

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान पनि करिब दुई घण्टा छलफल भएको थियो । उक्त छलफलपछि पूर्व माओवादी समूहबाट सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री एवं अध्यक्ष ओली सहमत भएपछि सचिवालय बैठक बोलाइएको थियो ।


बैठकमा अध्यक्ष दाहालले सभामुखको उमेद्वारमा सापकोटाको नाम प्रस्ताव गरेका थिए । त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । दुवै अध्यक्ष आआफ्ना अडानबाट पछाडि नहटेपछि प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन रह्यो ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेको पनि दाबी थियो ।

सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए ।

नेकपाले सभामुखको उमेद्वार टुङ्गाएपछि संसदको गतिरोध पनि खुलेको छ । प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने सम्भावना छ ।


प्रकाशित : माघ ५, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?