कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अन्नपूर्ण पदमार्गमा ७ जना अझै बेपत्ता 

बेपत्ता हुनेमा ४ कोरियन पर्यटक र ३ नेपाली

पोखरा — अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परेर बेपत्ता ७ को अवस्था अझै अज्ञात छ । हिमपहिरोमा ४ कोरियन पर्यटक र ३ नेपाली बेपत्ता भएका हुन् ।

अन्नपूर्ण पदमार्गमा ७ जना अझै बेपत्ता 

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार बेपत्ता हुनेमा २ पुरुष र २ महिला कोरियन छन् । लि मिन सु, जोङ पिल बोङ, किम सुक जा र चोइ ह्यो वोन बेपत्ता भएको केसीले बताए । यसैगरी नेपालीमा वाङदक भोटे (शेर्पा), सरोज परियार र मेनबहादुर तामाङ छन् । तामाङ भरियाको रुपमा गएका थिए ।


हिमपहिरोस्थलमा बाक्लो हिउँ परेकाले उद्धारमा कठिनाइ छ । केही स्थानीय शनिबार दिउँसो पहिरोस्थलमा पुगेका थिए । तर बाक्लो हिउँका कारण समस्या परेको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिम गुरुङले बताए । सोही वडाको हिमालय र देउराली बीचको हिङकु केभमा शुक्रबार बिहान ११ बजेतिर हिमपहिरो आएको थियो । उक्त स्थानमा जहिल्यै हिमपहिरो आउने गुरुङले बताए । ‘हिमपात भएको बेला हिँड्नै हुदैनथ्यो’ उनले भने, ‘होटलमा बसेकाहरु सुरक्षित भए ।’ शनिबार साँझ पनि हिमपात थपिएको थियो । हिउँ नपग्लेसम्म घटनास्थलमा गएर यथार्थ बुझ्न नसकिने उनले बताए ।


अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविर, देउरालीलगायत स्थानबाट शुक्रबार ५१ कोरियन, १४ चिनियाँ, ५ सिंगापुरे, २ अस्ट्रेलियन र एक साल्भाडोरका नागरिकलाई उद्धार गरी पोखरा र छोम्रोङ ल्याइएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । यी बाहेक अन्य नेपाली गाइड, भरिया र स्थानीयलाई पनि छोम्रोङ ल्याइएको थियो ।

प्रकाशित : माघ ५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?