२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

राष्ट्रिय सभा निर्वाचन : मत खोस्ने र जोगाउने कसरतमा गठबन्धन

राजेश मिश्र

काठमाडौँ — राष्ट्रिय सभा चुनावले प्रदेश २ मा सरगर्मी बढाएको छ । प्रदेशमा सरकार चलाइरहेका समाजवादी पार्टी र राजपा प्रदेशसभाका विपक्षी दलसँग अलग–अलग गठबन्धन बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेकपा–राजपा गठबन्धनमा बहुमत रहे पनि कांग्रेस–समाजवादी गठबन्धनसँग फराकिलो मतान्तर छैन । त्यसैले नेकपा–राजपा आफ्नो मत सुरक्षित राख्ने प्रयत्नमा देखिन्छन् भने अर्को गठबन्धन मतदाता खोस्ने दाउमा छ । 

राष्ट्रिय सभा निर्वाचन : मत खोस्ने र जोगाउने कसरतमा गठबन्धन

प्रदेशगत रूपमा हुने राष्ट्रिय सभा चुनावमा प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । यसअघि प्रदेश २ बाट निर्वाचित राष्ट्रिय सभाका ८ जनामध्ये चार जनाको दुईवर्षे कार्यकाल सकिन लागेकाले माघ ९ गते निर्वाचन हुँदै छ । बाँकी ६ वटा प्रदेशमा पनि रिक्त हुन लागेका १४ पदका लागि त्यही दिन निर्वाचन हुने हो । अन्य प्रदेशमा नेकपाको सहज बहुमत छ । प्रदेश २ मा सहज नभएपछि उसले राजपासँग गठबन्धन गरेको हो । केन्द्रमा समाजवादी पार्टी सत्तामा सँगै रहेकै बेला नेकपाले राजपासित गठबन्धन बनाएको हो । पछि सरकारबाट बाहिरिएको समाजवादीले कांग्रेससँग गठबन्धन गरेको हो ।


कांग्रेस र समाजवादी अर्को गठबन्धनमा देखिएका कमजोरी र असन्तुष्टिको लाभ लिने सुरमा छन् । त्यसैले नेकपा–राजपाले आफ्ना मतदातामाथि निगरानी बढाएका छन् ।


प्रदेश २ मा १ सय ७ जना प्रदेशसभा सदस्य छन् । जसमा नेकपाका ३२ र राजपाका २५ गरी उक्त गठबन्धनसँग ५७ जना छन् । स्थानीय तहका २ सय ७२ मतदातामा नेकपाका ८३ र राजपाका ५४ गरी नेकपा–राजपा गठबन्धनमा १ सय ३७ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ छ । त्यसअनुसार नेकपा–राजपासँग कुल मत ५ हजार २ सय २ छ ।


प्रदेशसभामा कांग्रेस–समाजवादी पार्टी गठबन्धनको संख्या नेकपा–राजपाभन्दा ८ ले कम छ । कांग्रेसको १९ र समाजवादीका ३० जना सदस्य जोड्दा प्रदेशसभामा उनीहरूसँग ४९ जना मतदाता छन् । स्थानीय तहमा कांग्रेसका ८१ र समाजवादीका ५२ गरेर १ सय ३३ जना मतदाता छन् । नेकपा–राजपाभन्दा ४ जना मतदाता मात्रै कम छन् । मतदाता संख्यामा थोरैले मात्र अन्तर रहेकाले कांग्रेस–समाजवादी ‘क्रस भोटिङ’ गराउन सकिन्छ कि भन्ने प्रयत्नमा लागेका छन् । यस गठबन्धनसँग कुल मतभार ४ हजार ७ सय ४६ छ । दुई गठबन्धनबीच ४ सय ५६ मतको अन्तर छ ।


समाजवादी पार्टीका प्रदेश अध्यक्ष विजय यादव चुनाव जित्ने दाबी गर्छन् । नेकपा–राजपाभन्दा प्रदेशसभा र स्थानीय तहका मतदाता कम हुँदाहुँदै जित्ने आधार के ? उनी भन्छन्, ‘मतदान व्यक्तिको स्वतन्त्रताको अधिकार हो । गोप्य मतदान हुन्छ । हामी सफलता प्राप्त गर्छौं ।’


उनले नेकपा–राजपाको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै त्यसलाई मतदाताले अस्वीकार गर्ने दाबी गरे । उक्त प्रदेशमा दुई गठबन्धनभन्दा बाहिर संघीय समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य १ जना तथा स्थानीय तहबाट जनता दलका २ जना मतदाता छन् । ती तीन जना मतदाताको मत प्राप्त गर्ने दुइटै गठबन्धनको दाबी रहँदै आएको छ । यादवले ती तीन जनाको मत आफूहरूले पाउने दाबी गरे । त्यो तीन मत प्राप्त गरे पनि नेकपा–राजपाभन्दा कांग्रेस–समाजवादीको मतभार ३ सय ७३ कम हुन्छ ।


प्रदेश २ मा नेकपाबाट राधेश्याम पासवान, तुलसा दाहाल तथा राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंह उम्मेदवार छन् । अर्को गठबन्धनमा कांग्रेसबाट नगिना यादव, भोला पञ्जियार तथा समाजवादी पार्टीबाट रामलाल पासवान र अनिरुद्रसिंह यादव उम्मेदवार छन् ।


राजपाबाट चुनावी गठबन्धनको मोर्चा सम्हालिरहेका प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आफूहरूले सहजै चुनाव जित्ने दाबी गरे । ‘यो आम मानिसले गर्ने मतदान होइन, पार्टीको चिह्नबाट चुनाव जितेकाहरू मतदाता छन्,’ उनले भने, ‘जुन चिह्नबाट चुनाव जितेका छन् । उनीहरूले त्यही पार्टी र पार्टीले गरेको गठबन्धनका उम्मेदवारलाई मतदान गर्नेछन् ।’ उनले ‘भोट क्रस’ हुने सम्भावना नरहेको बताए । उनले पनि गठबन्धन बाहिर रहेका प्रदेशसभाको १ र स्थानीय तहका २ जनाको मत आफूहरूको गठबन्धनले पाउने दाबी गरे ।


नेकपा र राजपाले शनिबार राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न ‘ह्वीप’ जारी गरेका छन् ।

प्रकाशित : माघ ५, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?