कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छानबिन दायरामा रहेकालाई निर्देशक

फातिमा बानु

काठमाडौँ — उपचारमा लापरबाही गरेको भनी छानबिनको दायरामा रहेका डा. चन्द्रमणि अधिकारीलाई सरकारले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय केन्द्रको निर्देशकमा नियुक्त गरेको छ । पुस ७ को मन्त्रिपरिषद् निर्णयअनुसार मुटु रोग विशेषज्ञ डा. अधिकारी चारवर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । 

छानबिन दायरामा रहेकालाई निर्देशक

गलत रगत चढाउँदा सर्लाहीकी ५ वर्षीया आकृतिकुमारी साहको मृत्यु भएपछि डा. अधिकारीलगायत गंगालालका सात जनामाथि छानबिन गर्न उच्च अदालत पाटनले प्रहरीलाई आदेश दिएको थियो । ‘शल्यक्रिया गर्ने क्रममा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मृत्यु भएको तथ्यमा विवाद छैन । निवेदकले जाहेरी दर्ता गर्न ल्याएपछि अनुसन्धानको प्रक्रियामा लैजानुपर्छ,’ कात्तिक ८ मा न्यायाधीश कृष्णलाल भट्टराई र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले दिएको आदेशमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिल र सरकारी वकिल कार्यालयसँग समन्वय गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउनू ।’


अदालतको आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले आरोपित व्यक्तिलाई नेतृत्व दिएको भन्दै अस्पतालका चिकित्सक र पीडित पक्षले विरोध गरेका छन् । ‘अस्पतालमा अन्य वरिष्ठ चिकित्सक हुँदाहुँदै जुनियर र अभियोग लागेका व्यक्तिलाई नेतृत्व दिन सुहाउँछ ?’ गंगालालका एक चिकित्सकले भने ।


मृतकका आफन्त सुरेन्द्र साहले १० महिनादेखि न्याय माग्दै आए पनि नपाएको बताए । उनले मुद्दा फिर्ता गर्न प्रलोभन र धम्की आइरहने बताए । ‘न्याय माग्दै भौंतारिरहेको छु । जता गए पनि झुलाइरहन्छन्,’ उनले भने, ‘न्याय नपाएसम्म लडिरहन्छु ।’ बालिकाको उपचारमा अस्पतालका तत्कालीन निर्देशक डा. ज्योतीन्द्र शर्मा, डा. रवीन्द्रभक्त तिमिला र डा. नवीनचन्द्र गौतम संलग्न थिए । ल्याब कोर्डिनेटर डा. अधिकारी थिए । आफन्तले उपचारमा संलग्न तीनै जना चिकित्सक, डा. अधिकारी, प्रशासन प्रमुख दीपेन्द्र खड्का, ल्याब इन्चार्ज विन्देश्वर यादव र बेहोस गराउने चिकित्सक (ऐनस्थेसियोलोजिस्ट) जेजुनाथ पोखरेलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।


कतै उजुरी दर्ता नभएपछि पीडित अदालत पुगेका थिए । उच्च अदालतको आदेश पनि कार्यान्वयन नभएपछि अहिले पीडित पक्ष न्यायका लागि सर्वोच्चसम्म पुगेको छ । अदालतले अनुसन्धान गर्न आदेश दिए पनि महानगरीय प्रहरी वृत्त महाराजगन्जले अटेर गरिरहेको हो । वृत्तका डीएसपी उमेश लम्सालले सरकारी वकिल कार्यालयले समन्वय नगरेकाले छानबिन अघि नबढेको बताए । उनले भने, ‘शल्यक्रिया जस्तो मेडिकल विषयमा प्रहरीले मात्रै छानबिन गर्न सक्दैन । मेडिकल विज्ञ छनोट गरी सम्बन्धित निकायसँग समन्वय गरेर चाँडै अनुसन्धान गर्छौं ।’


छानबिन नगराउनसमेत डा. अधिकारीले प्रभाव पारेको चिकित्सकहरूको भनाइ छ । डा. अधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका भाइ हुन् ।

प्रकाशित : माघ ५, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?