१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बढ्दो मानव तस्करी : कहाँ हराउँछन् उनीहरू ?

विप्लव भट्टराई

इलाम — मानव तस्करीका हिसाबले इलाम जोखिमपूर्ण मानिन्छ । सीमापारिको मिल्दो संस्कृतिसहित विभिन्न चोरबाटा भएकाले देशभरबाट मानव तस्करीका लागि इलाम जिल्ला प्रयोग गरिएका उदाहरण प्रशस्तै छन् । तर जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा भने पछिल्लो समय मानव ओसारपसार र बेचबिखनसम्बन्धी उजुरी भने परेका छैनन् ।

बढ्दो मानव तस्करी : कहाँ हराउँछन् उनीहरू ?

माइती नेपालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३१ जना हराएका छन् । त्यसमध्ये १० जना मात्र फेला परे । अरू कता छन्, कसैलाई पत्तो छैन । पूर्वी सीमावर्ती क्षेत्रको पशुपतिनगरमा प्रहरी र माइती नेपालले संयुक्त रूपमा चेकजाँच गर्छन् । आसपासका नाकामा पनि जाँच हुने गरेको छ । तर मानव तस्करीमा संलग्नले विभिन्न बहाना बनाएर पूर्वी नाकाहरूबाट मानव बेचबिखन गर्ने गरेको नियन्त्रणमा सक्रियहरू नै स्विकार्दै आएका छन् ।

गत वर्ष मानव बेचबिखनसम्बन्धी ६ मुद्दा दर्ता भएका थिए । २ पुरुष र २ महिलालाई कारबाही गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा १ बालिका र १ महिलासम्बन्धी उजुरी थियो । त्यो वर्ष २ पुरुष र १ महिलालाई कारबाही भयो ।


‘प्रहरीमा उजुर गर्नुपर्छ भन्ने चेतनाको कमीले पनि यस्तो भएको हुन सक्छ,’ इलामका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले भने, ‘उजुरी गर्दा खर्च धेरै लाग्ने, झन्झटिलो प्रक्रिया हुने भन्ने ठानेर पनि पीडित परिवार प्रहरीसम्म आउँदैनन् ।’

मानव ओसारपसारसम्बन्धी छुट्टै कानुन नै निर्माण भएर कार्यान्वयन भएको अवस्थामा पनि यस्ता घटनामा कमी नआएको उनको भनाइ छ । ‘पहिला देह व्यापारका लागि भारतमा महिलाहरू लगिने गरेको भए पनि अहिले विश्वभरका मुलुकमा नेपाली चेलीहरू पुर्‍याइएका छन्,’ उनले थपे, ‘मानव तस्करीमा संलग्नले नयाँ–नयाँ तरिका अपनाएर पनि धन्दा चलाइरहेका छन् ।’


देहव्यापार, मानव अंग निकाल्ने, श्रम शोषणलगायत कारण नेपालीहरू तस्करीमा पर्ने गरेको सम्बन्धितहरूको भनाइ छ । यसका लागि सरकारी र सामाजिक संघसंस्थादेखि घरपरिवार, विद्यालय, समाज सबै चनाखो हुनुपर्ने अवस्था आएको उनीहरूको बुझाइ छ ।

‘भारतीय क्षेत्रका कलकारखानामा काम गर्ने र अध्ययन गर्ने बहानामा पनि धेरैलाई उता छिराउने गरेको पाइएको छ,’ पशुपतिनगरस्थित माइती नेपालका संयोजक होम ढकालले भने, ‘कामका लागि केटाभन्दा केटीहरू नै धेरै लगिने हुँदा शंका गर्न सकिने थुप्रै आधार छन् ।’ भारत कटाएर विभिन्न स्थानमा प्रयोग गरिएकालाई उद्धार गर्न र उद्धारपछि पुनर्वास तथा सीप प्रदान गर्न पनि उत्तिकै समस्या देखिएको छ ।


पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि धेरै जना तस्करीको फन्दामा पर्ने गरेको पाइएको छ । फेसबुकमार्फत साथी बनाउने अनि सम्बन्ध बढाएर भारतका विभिन्न क्षेत्रमा पुर्‍याइएका घटना पनि भएका माइती नेपालको भनाइ छ ।

पूर्वी क्षेत्र पर्यटकीय गन्तव्य भएकाले पनि दैनिक ठूलो संख्यामा घुमघामका लागि आउनेहरूको बीचबाट सीमा कटाइने सम्भावना उत्तिकै देखिएको छ ।’ पूर्वी सीमामा नाका कटाउने थुप्रै चोरबाटा रहेकाले पनि सानो प्रयासले नियन्त्रण सफल नभएको प्रहरीको बुझाइ छ ।


इलाम उद्योग वाणिज्य संघअन्तर्गत अमेरिकी कर्नरले पनि घटनाप्रति चासो देखाउँदै नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम अघि बढाएको छ । ‘विद्यालय र सम्बन्धित क्षेत्रका बासिन्दामाझ कानुनी जानकारीसँगै घटना न्यूनीकरणका लागि लागि काम गर्दै आएका छौं,’ कार्यक्रम संयोजक हेम पौडेलले भने ।

प्रकाशित : माघ ४, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?