३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हिमपहिरोले सम्पर्कविहीनको उद्धारमा समस्या [अपडेट]

पोखरा — अन्नपूर्ण आधार शिविर जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र भरियाको खोजीमा समस्या भएको छ । बाक्लो हिउँ र बाटोसमेत बगेकाले समस्या भएको स्थानीयले बताए । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीको बीचमा पर्ने हिङकुमा आएको हिमपहिरोमा कम्तीमा २ नेपालीसहित ७ बेपत्ता भएका छन । घटनास्थल पुगेका देवकाजी गुरुङले बाक्लो हिमपातका कारण तत्काल कुनै पनि उद्धार गर्न सकिने अवस्था नरहेको बताए । ‘एउटा प्लाष्टिक हिउँमा पुरिएको अवस्थामा देखिएको छ । अरु अत्तोपत्तो छैन । पहिरोले अघि बढ्ने अवस्था पनि छैन,’ गुरुङले टेलिफोनमा भने, ‘हिउँ नपग्लिएसम्म उद्धार गर्न सकिने अवस्था छैन ।’


देउराली गेस्ट हाउसका सञ्‍चालक कृष्ण गुरुङले घटनास्थल २० मिनेटको पैदल दूरीमा भए पनि जान नसकिएको बताए । कति पर्यटक र नेपाली हराएको भन्ने कुनै यकिन नभएको उनले बताए ।

पोखरा विमानस्थलबाट गएको सिम्रिक एयरको हेलिकप्टरले केही स्थानका होटलमा बसेका नेपाली र विदेशी पर्यटक गरी ४० जनालाई उद्धार गरी छोम्रोङ ल्याएको वडाध्यक्ष हिम गुरुङले बताए । ५ कोरियन र २ नेपाली सम्पर्कविहीन भएको जानकारीमा आएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।

‘कति टोली र संख्यामा त्यता गएका हुन भन्ने यकिन छैन् । सम्पर्कविहीन पनि कति भन्ने यकिन छैन,’ उनले भने, ‘हामी पनि अन्यौलमा छौँ । सबै टोली फर्किएपछि यकिन हुन्छ ।’ शुक्रबार बिहान ११ बजेतिर आएको हिमपहिरोपछि उनीहरु सम्पर्कविहीन भएका हुन् ।

प्रकाशित : माघ ४, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?