२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अन्नपूर्ण क्षेत्रको हिमपहिरोमा परी ७ बेपत्ता, उद्धारमा ३ हेलिकप्टर (अपडेट)

पोखरा — प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधार शिविर जाने र फर्कने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र पोर्टरको खोजी जारी छ ।

अन्नपूर्ण क्षेत्रको हिमपहिरोमा परी ७ बेपत्ता, उद्धारमा ३ हेलिकप्टर (अपडेट)

अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधार शिविर लगायत स्थानमा रहेका विदेशी र आन्तरिक पर्यटकको उद्धारको लागि तीनवटा हेलिकोप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ ।


कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार एयर डाइनेष्टी, सिम्रिक र प्रभुका तीन हेलिकप्टर अहिले अन्नपूर्ण क्षेत्रमा खटिएका छन् । अहिलेसम्म २० पर्यटकलाई पोखरा ल्याइसकिएको छ भने ५५ जनालाई छोम्रोङमा ल्याइएको छ । ‘ठूलो संख्यामा कोरियन, अस्ट्रेलियन र चाइनिज पर्यटक गएका रहेछन्’ कार्कीले भने, ‘हिमपातले बाटो छेकिएपछि उनीहरुलाई उद्धार गरिएको हो ।’


कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिङकुमा शुक्रबार विहान ११ बजेतिर आएको हिमपहिरोमा ७ बेपत्ता भएको प्रहरीले जनाएको छ । कार्कीका अनुसार ४ कोरियन पर्यटक र ३ नेपाली सम्पर्कविहीन छन् । सञ्चार सम्पर्क नहुँदा यसअघि सम्पर्क विहीन हुनेको संख्या फरकफरक आएको थियो । बिहीबार र शुक्रबारको ठूलो हिमपातपछि हिम पहिरो आएको र सम्पर्क विहीन त्यही पहिरोमा परेको अनुमान गरिएको छ ।


घटनास्थल पुगेका देवकाजी गुरुङका अनुसार बाक्लो हिउँ जमेका कारण घटनास्थलमा तत्काल कुनै पनि उद्धार गर्न सकिने अवस्था छैन । ‘एउटा प्लास्टिक हिउँमा पुरिएको अवस्थामा देखिएको छ । अरु अत्तोपत्तो छैन । पहिरोले अघि बढ्ने अवस्था पनि छैन,’ गुरुङले टेलिफोनमा भने, ‘हिउँ नपग्लिएसम्म उद्धार गर्न सकिने अवस्था छैन ।’

प्रकाशित : माघ ४, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?