३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मौसमका कारण ३७ आन्तरिक उडान रद्द, ४ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

सुरज कुँवर

काठमाडौँ — लगातारको वर्षाका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने चारवटा अन्तर्राष्ट्रिय उडान अन्यत्रै डाभइर्ट भएका छन् भने कम्तीमा ३७ वटा आन्तरिक उडान रद्द भएका छन् ।

मौसमका कारण ३७ आन्तरिक उडान रद्द, ४ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार, थाइल्याण्डको राजधानी बैंककबाट आएको थाई एयर काठमाडौंमा अवतरण हुन नसकेर बंगलादेशको राजधानी ढाका फर्किएको थियो । थाईको टीजी–३१९ उडान नम्बरको जहाजले काठमाडौं विमानस्थलमा अवतरणकालागि दुईपटक प्रयास गरेको थियो । दुवैपटक मिस्ड एप्रोच (ओभरसुट) गरेपछि बंगलादेशको राजधानी ढाका फर्किएको थियो । उक्त विमान साँझ ढाकाबाट फेरि बैंककतर्फ नै फर्किएको थियो ।

त्यसैगरी बैंककबाटै आएको थाई लायनको अर्को विमान नेपालको सीमानाभित्र आएर भारतको कोलकत्ता फर्किएको थियो । उता तिब्बतको ल्हासाबाट काठमाडौं आउन तयार रहेको तिब्बत एयरको जहाजले काठमाडौंको मौसम सुधार नभएपछि उतै उडान रद्द गरेको थियो । त्यस्तै दिल्लीबाट आएको इन्डीगो एयरको जहाज पनि नेपाली सीमानाभित्र नआई दिल्लीमै फर्किएको थियो । शुक्रबार साँझ ७ बजेर १० मिनेटसम्मको जानकारी अनुसार, यी चारवटै एयरलायन्स फेरि फर्केर आएनन् । शुक्रबार रातीसम्मका लागि ४६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका थियो ।

आन्तरिक उडानतर्फ काठमाडौंबाट पहाडि भेग लगायतका स्थानका लागि तय भएका ३७ वटा उडान स्थगित भए । विमानस्थलका अनुसार, शुक्रबार काठमाडौंबाट लुक्लाका लागि ६ वटा र पर्वतीय उडानका ६ वटा गरी १२ वटा उडान भएनन् ।

मौसमकै कारण भद्रपुरमा एउटा, पोखरामा ८, तुम्लिङटारमा ३, भरतपुरमा ४, सीमरामा ४ तथा सुर्खेतमा एक उडान भएनन् । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज त्यता अवतरण हुन नसकेर भैरहवा पुगेको थियो ।

प्रकाशित : माघ ३, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?