अन्नपूर्ण आधार शिविरमा ५ पर्यटक र २ नेपाली गाइड सम्पर्कविहीन [अपडेट]

लालप्रसाद शर्मा

पोखरा — पर्यटकीय पदमार्ग अन्नपूर्ण आधारशिविर हिँडेका पाँच विदेशी पर्यटक र दुई नेपाली गाइड शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन छन् । हिमपहिरो आएको उक्त रुटबाट चार कोरियाली, एक चिनियाँ र दुई नेपाली सम्पर्कविहीन रहेका हुन् ।

‘अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ,’ गण्डकीका प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘नेपाली भरियासहित गएका एक चिनियाँ र छुट्टै टोलीका दुई नेपाली गाइड पनि सम्पर्कविहीन छन् ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो आएपछि उनीहरू सम्पर्कमा नरहेको उनले बताए । उक्त वडाको दोभानस्थित डेस्टिनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङले पनि केही पर्यटक र नेपाली बाटैबाट सम्पर्कविहीन रहेको बताए । अत्यधिक हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन । स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन् ।


‘एबीसी जाने बाटोमा रहेका होटलमा उनीहरू सुरक्षितसाथ बसेका पनि हुन सक्छन्,’ डीआईजी घिमिरेले भने, ‘टेलिफोन सम्पर्क छैन । अत्यधिक हिमपातले कोही जान सक्ने अवस्था छैन ।’ नजिकै रहेको घान्द्रुक प्रहरी चौकीबाट घटनास्थल पुग्न एक दिन लाग्छ । शुक्रबार बिहान ११ बजेतिर उक्त स्थानमा हिमपहिरो आएको थियो । डीआईजी घिमिरेले स्थानीय र प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको बताए । कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि घटनाबारे अपुष्ट सूचना आएको बताए । प्रकाशित : माघ ३, २०७६ १८:०४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अहिलेको जस्तो संघीयताको अर्थ छैन : उपेन्द्र यादव

अजित तिवारी

जनकपुर — समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रहरी, कर्मचारी र आफ्नो आम्दानी नहुने अहिलेको प्रदेश सरकारजस्तो संघीयताको अर्थ नभएको बताएका छन् । पार्टीले शुक्रबारबाट सुरु गरेको संगठन विस्तार र सुदृढीकरण अभियानको जनकपुरमा उद्‌घाटन गर्दै यादवले प्रदेशमा केन्द्रले नै शासन गरेको र आफू अनुकूल चलाइरहेको आरोप लगाए ।

‘आफ्नो प्रहरी र कर्मचारी नि नहुने। एक पैसाको आम्दानीसमेत नहुने सरकार हुन्छ?,’ यादवले भने, ‘यस्तो प्रदेश सरकारको कुनै अर्थ हुन्न।’ नेपालमा सुदृढ संघीयता चाहिएको यादवको भनाइ छ।

नाम मात्रको संघीयताले परनिर्भरता नहटाउने यादवले बताए। ‘स्वायत्त शासन र परतन्त्रता अन्त्य गर्ने खालको प्रदेश हुनुपर्छ,’ यादवले भने, ‘प्रदेश सरकारसँग आफूले गरेको निर्णय कार्यान्वयनका लागि साधन–स्रोत र जनशक्ति हुनुपर्छ।’ नेपालमा प्रदेश स्थापना गर्दा संघीयताको कुनै आधार लागू नगरिएको आरोप यादवले लगाए। ‘नेपाल प्रदेशहरु केन्द्रले नै शासन गर्ने खालका भए,’ यादवले भने, ‘आफूले जित्ने र शासन गर्ने इच्छाअनुसार नै प्रदेशको सिमाकंन गरिदा यस्तो अवस्था आयो।’

यादवले इथोपिया र भारतको संघीयताको उदाहरण दिदै ती देशहरुमा संघ र प्रदेशको छुट्टै झन्डा र संविधान रहेको बताए। ‘इथोपियामा दुई ओटा झन्डा र दुई ओटा संविधान छ। देश र प्रदेशको आ–आफ्नै झन्डा र आ–आफ्नै संविधान,’ उनले भने, ‘भारतमा जातीय, भाषिक र भूगोलको आधारमा प्रदेश छ। नेपालमा संघीयताको कुनै आधार नै टेकिएन्। संविधान लेख्ने लेखनदासले आफूखुसी गरे।’

कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयतालाई कमजोर र समाप्त पार्ने खेल भइरहेको बताए। उनले मधेस आन्दोलनले अहिलेजस्तो संघीयता नचाहेको बताए।

मधेस आन्दोलनको मर्म अनुरुपको संघीयता निर्माण गर्न संविधान संशोधन आवश्यक रहेको राउतले बताए। ‘आन्दोलनले यस्तो संघीयता मागेको थिएन। प्रदेशको सिमाकंनमै हाम्रो असन्तुष्टि छ,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारलाई विकास युनिटजस्तो राख्ने संघको चाहना देखियो। संघीयता रहेपनि सिंहदरवारबाटै चलाउने व्यवहार देखिन्छ।’

समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका राउतले अधिकारसम्पन्न संघीयता मागेपनि केन्द्र शासित व्यवहार मात्र देखाइएको आरोप लगाए।

प्रकाशित : माघ ३, २०७६ १८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×