अहिलेको जस्तो संघीयताको अर्थ छैन : उपेन्द्र यादव

अजित तिवारी

जनकपुर — समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रहरी, कर्मचारी र आफ्नो आम्दानी नहुने अहिलेको प्रदेश सरकारजस्तो संघीयताको अर्थ नभएको बताएका छन् । पार्टीले शुक्रबारबाट सुरु गरेको संगठन विस्तार र सुदृढीकरण अभियानको जनकपुरमा उद्‌घाटन गर्दै यादवले प्रदेशमा केन्द्रले नै शासन गरेको र आफू अनुकूल चलाइरहेको आरोप लगाए ।

अहिलेको जस्तो संघीयताको अर्थ छैन : उपेन्द्र यादव

‘आफ्नो प्रहरी र कर्मचारी नि नहुने । एक पैसाको आम्दानीसमेत नहुने सरकार हुन्छ ?,’ यादवले भने, ‘यस्तो प्रदेश सरकारको कुनै अर्थ हुन्न ।’ नेपालमा सुदृढ संघीयता चाहिएको यादवको भनाइ छ ।


नाम मात्रको संघीयताले परनिर्भरता नहटाउने यादवले बताए । ‘स्वायत्त शासन र परतन्त्रता अन्त्य गर्ने खालको प्रदेश हुनुपर्छ,’ यादवले भने, ‘प्रदेश सरकारसँग आफूले गरेको निर्णय कार्यान्वयनका लागि साधन–स्रोत र जनशक्ति हुनुपर्छ ।’ नेपालमा प्रदेश स्थापना गर्दा संघीयताको कुनै आधार लागू नगरिएको आरोप यादवले लगाए । ‘नेपाल प्रदेशहरु केन्द्रले नै शासन गर्ने खालका भए,’ यादवले भने, ‘आफूले जित्ने र शासन गर्ने इच्छाअनुसार नै प्रदेशको सिमाकंन गरिदा यस्तो अवस्था आयो ।’


यादवले इथोपिया र भारतको संघीयताको उदाहरण दिदै ती देशहरुमा संघ र प्रदेशको छुट्टै झन्डा र संविधान रहेको बताए । ‘इथोपियामा दुई ओटा झन्डा र दुई ओटा संविधान छ । देश र प्रदेशको आ–आफ्नै झन्डा र आ–आफ्नै संविधान,’ उनले भने, ‘भारतमा जातीय, भाषिक र भूगोलको आधारमा प्रदेश छ । नेपालमा संघीयताको कुनै आधार नै टेकिएन् । संविधान लेख्ने लेखनदासले आफूखुसी गरे ।’


कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयतालाई कमजोर र समाप्त पार्ने खेल भइरहेको बताए । उनले मधेस आन्दोलनले अहिलेजस्तो संघीयता नचाहेको बताए ।

मधेस आन्दोलनको मर्म अनुरुपको संघीयता निर्माण गर्न संविधान संशोधन आवश्यक रहेको राउतले बताए । ‘आन्दोलनले यस्तो संघीयता मागेको थिएन । प्रदेशको सिमाकंनमै हाम्रो असन्तुष्टि छ,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारलाई विकास युनिटजस्तो राख्ने संघको चाहना देखियो । संघीयता रहेपनि सिंहदरवारबाटै चलाउने व्यवहार देखिन्छ ।’


समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका राउतले अधिकारसम्पन्न संघीयता मागेपनि केन्द्र शासित व्यवहार मात्र देखाइएको आरोप लगाए ।

प्रकाशित : माघ ३, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?