कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

शिव पुरी

रौतहट — जिल्ला कारागारबाट चार दिन अघि कैदी फरार भएको घटनामा सुरक्षामा खटिएका दुई प्रहरी निलम्बनमा परेका छन् । कारागारको सुरक्षार्थ खटिएका हवलदार नीरजकुमार सिंह र जवान महानन्दप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार निलम्बन गरी अनुसन्धान थालेको छ ।

कारागारको सुरक्षा जिम्मा पाएका प्रहरी नायब निरीक्षक रामसरोबर सिंह र प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादवलाई निलम्बनका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा लेखी पठाएको छ ।


गत आइतबार राति अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा १५ वर्षको कैद सजाय भोगिरहेका गढीमाई नगरपालिका १ का अशोक राययादव फरार भएका थिए ।


कैदी राययादव फरार घटनाको छानबिन गर्न रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रशासकीय अधिकृत किरणनिधि तिवारीको संयोजकत्वमा प्रहरी निरीक्षक नवीनकुमार सिंह, राष्ट्रिय अनुसन्धानका निरीक्षक मायाशंकर सिंह रहेको समिति गठन गरेका थिए । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको थियो ।


समितिको सिफारिसमा हवलदार सिंह र जवान यादवलाई निलम्बन र प्रहरी नायब निरीक्षक सिंह र प्रहरी सहायक निरीक्षक यादवलाई निलम्बनको सिफारिस गरिएको हो ।


कैदी फरार भएको राति जवान यादव मुख्य गेटमा सेन्ट्री बसेका थिए । समितिले कारागारका कार्यालय सहयोगी एकरामुल हक, सुरक्षाको जिम्मा लिएका नायब निरीक्षक सिंह, सहायक निरीक्षक यादव, हवलदार सिंह र जवान यादवले लापरबाही ठहर गर्दै विभागीय कारबाही गर्न प्रतिवेदन बुझाएको संयोजक प्रशासकिय अधिकृत तिवारीले जानकारी दिए । ‘कैदी भाग्दा भएका त्रुटि र दोषीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेका छौ,’ अधिकारीले भने ।


समिति संयोजक तिवारीले कारागारको क्षमता भन्दा बढी कैदी राख्न नहुने, सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुपर्ने, कारागारको पर्खाल अग्लो बनाउनुपर्ने, सीसीटिभी क्यामेराबाट गतिविधि अवलोकन गर्नुपर्नेलगायत १५ बुँदे सुझाव दिइएको बताए ।

१ सय २० कैदी राख्ने क्षमता रहेको कारागारमा अहिले २ सय ९६ जना राखिएको छ ।


कैदी भगाउन सहयोग गर्ने कार्यालय सहयोगी एकरामुललाई प्रहरीले नियन्त्रणमा राखेको छ । उनलाई जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । ‘घटनामा फरारको खोजी भईरहेको छ,’ खड्काले भने, ‘कारागार सुरक्षालाई मजबुत बनाउछौं । लापरबाही गर्नेलाई कारबाही हुन्छ ।’


सर्लाहीमा भएको बालक अपहरण मुद्दामा यादवलाई २०७३ सालमा जिल्ला अदालत सर्लाहीले १५ बर्ष कैद सजाय सुनाएको थियो । ३ बर्षदेखि जेल सजाय भोगिरहेका यादव मिलोमतोमा रातिकैदी गन्ने क्रममा कारागारबाट बाहिरिएका थिए ।

प्रकाशित : माघ ३, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?