कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दम्पती त्रिशूलीमा हेलिनुको कारण मिटरब्याज, सानो छोराको आज थियो पास्‍नी

धादिङ — बिहीबार धादिङको बेनिघाटमा त्रिशूली नदीमा दम्पती हेलिनुको कारण मिटरब्याज रहेको प्रहरीले बताएको छ । आफ्‍ना दुई नाबालक छोरासहित चन्द्रागिरी नगरपालिका ४, थानकोटका विनय लामिछाने र उनकी पत्नी जमुना रेग्मी लामिछाने त्रिशूलीमा हेलिएका थिए ।

दम्पती त्रिशूलीमा हेलिनुको कारण मिटरब्याज, सानो छोराको आज थियो पास्‍नी

२७ वर्षीया जमुनाको शव प्रहरीले बिहीबार नै फेला पारेको छ । विनयको उद्धार गरिएको छ भने उनीहरुका दुई वर्षे र छ महिने छोरा बेपत्ता छन् । आफन्तका अनुसार सानो छोराको शुक्रबार (आज) भातखुवाइ (पास्‍नी) थियो ।

मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पती सल्लाहमा नै त्रिशूलीमा हेलिएको प्रहरीको भनाई छ । प्रहरीले विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको सुसाइड नोट भेटिएको बताएको छ । यस्तै जमुनाका फेसबुक स्टाटसका आधारमा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो ।

प्रहरीले उनीहरु झलुंगे पुलबाट हामफालेकाे प्रारम्भिक अनुमान गरेको भए पनि विनयले आफूहरु नदीमा हेलिएको बताएका हुन् । उनीहरु बिहीबार बेनीघाट सिउरेनी पुल मुन्तिरबाट हात समाएर दुवै छोरालाई काखमा लिइ त्रिशूलीमा हेलिएको गजुरी प्रहरीलाई विनयले बताएका छन् । त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि श्रीमान विनय लामिछानेको तत्काल उद्धार गरियो । संक्रान्ति मनाउन गजुरी ६ आदमघाट बजारस्थित माइतीसमेत रहेका वडाध्यक्ष कुमार रेग्मीको घर जान्छु भनेर पोखरा जाने बसमा चढेका लामिछाने दम्पति आदमघाटस्थित माइतीघर नझरेर बेनीघाट बजार झरेका थिए ।

जमुनाले आफ्नो अंग्रेजी नाम उल्टो बनाएर फेसबुकमा पुस १९ गते ७ बजेर ४९ मिनेटमा लेखेको स्टाटसमा मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दबाब दिएको उल्लेख गरेकी छन् । जमुनाले चलाएको ‘इम्गिर अनुमाज’ नामक फेसबुक एकाउन्टमा गत जनवरी ४ मा थानकोटमा आएका नयाँ डिएसपीसँग मिटर ब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारबाही गर्न माग गरेकी थिइन् ।


उनले फेसबुकमा आफनो नाम उल्टोपाल्टो बनाएर परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दबाब थेग्न नसकेपछि कारबाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने अनुमान गरिएको धादिङ प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिकाअन्तर्गत थानकोटमा बस्दै आएका थिए । उनीहरुले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेका थिए । सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब २ करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरुले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको घरमा छोडेको लिखतमा फेला परेको प्रहरीले बताएको छ । माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा अनलाइन व्यापारका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरिए पनि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम गोप्य राखेको छ ।

मृतक जमुना सिद्दलेक ७ वडघरेमा जन्मेर स्नातकोत्तरसम्मको अध्ययन गरेकी थिइन् भने विनयले २ वटा विषयमा स्नातकोत्तर अध्ययन गरेको पारिवारिक स्रोतले जनाएको छ ।

विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको पनि एसपी रेग्मीले बताए ।

प्रकाशित : माघ ३, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?