आज रातिसम्मै पानी पर्ने - समाचार - कान्तिपुर समाचार

आज रातिसम्मै पानी पर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर काठमाडौंलगायत मुलुकभर पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकी मौषमविद विभूति पोखरेलले पानी दिउँसो एकछिन रोकिए पनि पुनः पर्ने जानकारी दिइन ।

‘पानी दिउँसो एकछिन रोकिएपनि दिनभर र रातभर पर्ने देखिएको छ,’ पोखरेलले भनिन्, ‘भोली बदली भएपछि क्रमश मौषम सुधार हुँदै जाने देखिएको छ ।’


आज राति पनि देशका केही स्थानहरुमा हल्का बर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पोखरेलले बताइन ।


विभागले देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपात पर्ने जनाएको छ । मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको पोखरेलले बताइन ।


मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा पूर्णतया बदली रहने र पानी पर्ने विभागले जनाएको छ ।


शनिबारपनि देशभर सामान्य बदली भई पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने विभागले जनाएको छ ।

आइतबा दिउँसो अन्य स्थानमा बदली सफा रहने तथा पहाडी भू–भागमा आंशिक बदली भई थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको पोखरेलले बताइन ।

प्रकाशित : माघ ३, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

तीन नेपाली फिल्म निर्माता ‘बर्लिनाले ट्यालेन्ट’ मा छानिए 

गाेकर्ण गाैतम

काठमाडौँ — नेपालका तीन फिल्म निर्देशक ‘बर्लिनाले ट्यालेन्ट’ मा छानिएका छन् । प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२० को समानान्तर सेक्सनमा दीपक रौनियार, राजेश खत्री र किरण पोखरेल चयन भएका हुन् । रौनियारले 'हाइवे' र 'सेतो सूर्य' निर्देशन गरेका छन् ।

सर्टफिल्म 'जालगेडी'पछि खत्री फिचर फिल्मको निर्देशनमा जुटेका छन् भने पोखरेलले अघिल्लो वर्ष 'विंग्स' नामक सर्ट फिल्म बनाएका थिए । उनी मीन भामको 'कालो पोथी'का मुख्य सहायक निर्देशक पनि हुन् ।

२० फेब्रुअरीदेखि १ मार्चसम्म जर्मनीको बर्लिनमा चल्ने महोत्सव दौरान ‘बर्लिनाले ट्यालेन्ट’ हरु एक हप्ते विशेष कक्षामा सहभागी हुनेछन् । खत्रीका अनुसार ख्याति कमाएका निर्देशक, निर्माता, अभिनेता, सेल्स एजेन्ट, वितरक, क्यामेराम्यान आदिले अनुभव बाँडछन् । 'यो सिक्नेमात्र नभई विश्व सिनेमञ्चमा आफ्नो सम्पर्क विस्तार गर्ने मौका पनि हो,' उनले भने ।

खत्री किन पनि उत्साही छन् भने यही फेस्टिभलको स्क्रिप्ट स्टेसन सेक्सनमा उनको निर्माणाधीन फिल्म 'श्यामश्वेत तस्बिर' छानिएको छ । फेस्टिभलमा सहभागी संसारभरका उत्कृष्ट १० पटकथामा 'श्यामश्वेत तस्बिर' परेको हो । अब उनलाई फेस्टिभल आयोजकले स्क्रिप्टको विशेष प्रशिक्षक उपलब्ध गराउनेछ । प्रशिक्षकको मार्ग निर्देशनअनुरुप बहस हुनेछ । जसमा अन्य फिल्मकर्मी पनि सहभागी हुन सक्नेछन् । यहीँबाट उनले फन्ड पाउने वा अन्य सहकार्य विस्तार गर्ने सम्भावना पनि रहन्छ ।

'श्यामश्वेत तस्बिर' यसअघि एसिया सिने फन्ड र एसियन प्रोजेक्ट मार्केटमा छानिएको थियो । मुगुको गाँउको एक बच्चाले पासपोर्ट साइजको सादा तस्बिर प्राप्त गर्न नसक्दाको संघर्ष फिल्ममा बुनिएको खत्रीले जानकारी दिए । उनको सर्टफिल्म 'जालगेडी'ले केही विदेशी फेस्टिभलमा अवार्ड जितेको थियो ।

प्रकाशित : माघ ३, २०७६ ११:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×