सभामुखबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ — सभामुख चयनमा देखिएको अन्यौलताबारे कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने भएको छ । कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । यसबारेमा छलफल गर्नका लागि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ ।
सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । 'संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई सदनमा राख्न सक्नुभएको छैन,' उनले भने, 'संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ ।'
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको खाँणको भनाइ छ । कांग्रेस संसदीय दलको बैठक शुक्रबार साढे १ बजे बस्नेछ ।
प्रकाशित : माघ २, २०७६ १८:२७