कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पूर्व माओवादीलाई सभामुख दिन ओली सकारात्मक !

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको विषयमा छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटमा उपसभामुखको राजीनामा र भावी सभामुखको विषयमा छलफल भएको हो । 

पूर्व माओवादीलाई सभामुख दिन ओली सकारात्मक !

नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार दुई अध्यक्षबीचको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । ‘दुई अध्यक्षबीच केही दिन संवादहीनताको स्थिति सिर्जना भयो । तर, आजको छलफल पहिला भन्दा सकारात्मक भएको छ,’ गजुरेलले भने, ‘छलफल समस्या हल हुने तर्फ अग्रसर देखिएको छ ।’


नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने दुई अध्यक्षबीच छलफल भएको तर सकारात्मक/नकारात्मक के कुराकानी भयो भन्नेबारे जानकारी नभएको बताए । ‘दुई अध्यक्षबीच छलफल भयो । सकारात्मक/नराकारात्म भन्ने छैन । पछिल्लो समसामयिक विषयमा उहाँहरुबीच एकघण्टा बढी छलफल भयो,’ थापाले भने ।


छलफलमा अध्यक्ष ओली पूर्व सहमतिअनुसार माओवादीलाई सभामुख दिन सकारात्मक भएका स्रोतको दाबी छ । पात्रको विषयमा भने छलफल खुला राख्नुपर्ने प्रस्ताव ओलीले गरेका छन् । उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने र उनलाई अन्य जिम्मेवारी दिनेबारे पनि दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।


शनिबार बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । उनले आफू कुनै पार्टीमा नरहेको र सभामुख बनाउने सुनिश्चित भएपछि मात्रै राजीनामा दिने अडान लिएकी थिइन् ।


आइतबार बिहान उपसभामुख तुम्बाहाङ्फेकै आग्रहमा ओली र दाहालले बालुवाटारमा उनीसँग छलफल गरेका थिए । छलफलमा सचिवालय सदस्यहरु इश्वर पोखरेल र विष्णु पौडेल पनि सहभागी थिए ।


उक्त छलफलमा पार्टी निर्णय लागू गरेर राजीनामा दिन दाहालले तुम्बाहाङ्फेसँग आग्रह गरेका थिए । नेकपा सचिवालयको निर्णय र लेखिएको पत्रप्रति आपत्ति जनाउँदै उपसभामुख तुम्बाहाङ्फेले निर्णय फिर्ता लिनसमेत चेतावनी दिएकी थिइन् ।


सचिवालयले सर्वसम्मत गरेको निर्णयलाई उपसभामुख तुम्बाहाङ्फेले चुनौती दिँदासमेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वेवास्ता गरेपछि दाहाल असन्तुष्ट थिए । त्यसयता दाहाल र ओलीबीच भेटघाट र संवाद टुटेको थियो ।


त्यसपछि सचिवालयका केही नेताले पनि तत्काल बालुवाटार नजान दाहाललाई सुझाएका थिए । बिहीबार भने प्रधानमन्त्री ओलीकै आग्रहमा छलफलको लागि दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।


बामगठबन्धन हुँदा तत्कालीन एमाले र माओवादीले शक्ति बाँडफाँड गरेका थिए । जसमा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेले र उपपराष्ट्रपति र सभामुख माओवादीले पाउने सहमति भएको थियो ।


संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले जबरजस्ती करणीको आरोप लागेपछि असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । महराको राजीनामासँगै साढे तीन महिनादेखि सभामुख कसले पाउने भनेर पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद चलिरहेको छ ।


यसको नेतृत्व दुई अध्यक्ष ओली र दाहालले गर्दै आएका थिए । प्रधानमन्त्री ओलीले पार्टी एकता भएकाले ‘पूर्व-पश्चिम’ को कुनै अर्थ नरहने र अनुभवी व्यक्ति सभामुख हुनुपर्ने बताउँदै आएका थिए भने अध्यक्ष दाहालले पार्टी एकता नटुंगिसकेकाले पूर्व सभामुख माओवादीले पाउनुपर्ने अडान राखेका थिए । अर्कोतर्फ सभामुखलाई लिएर राष्ट्रपतिको समेत चासो जोडिएपछि उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखको प्रमुख दाबेदार मान्दै आएकी छन् ।


ओली र दाहालबीच आगामी भेटमा भावी सभामुखका लागि व्यक्तिको विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

प्रकाशित : माघ २, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?