तिब्बतमा नेपाल भ्रमण वर्षको प्रचार- समाचार - कान्तिपुर समाचार

तिब्बतमा नेपाल भ्रमण वर्षको प्रचार

लक्ष्मी लम्साल

बेइजिङ — चीनको स्वशासित क्षेत्र तिब्बतमा 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार गरिएको छ। बुधबार तिब्बतको ल्हासामा आयोजित एक कार्यक्रममा महावाणिज्य दूतावास र चिनियाँ सरकारी निकाय एवं पर्यटन व्यवसायीहरूमाझ नेपाली पर्यटनको प्रवर्द्धन गरिएको हाे।

महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपाल र तिब्बतबीच लामो समयदेखि सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध भएको बताए । उनले नेपाल र तिब्बतबीचको आपसी सम्बन्ध सँधै नै स्थिर तथा स्वस्थ रूपमा विकसित हुँदै आएको बताए ।

नेपालको उत्तरी सीमामा पर्ने तिब्बत चीनका लागि बेल्ट एण्ड रोड (बीआरआई)को दक्षिण एसिया प्रवेशको विन्दु हो। कार्कीले सीमा क्षेत्रका नेपाली जनताको जीवनस्तर उकास्नका लागि तिब्बतले खेलेको भूमिकको प्रशंसा गरे। तिब्बत सरकारले हालै नेपालको जीर्ण भएको कन्सुलेट कार्यालय भवन पनि निर्माण गरिएको छ। जसलाई दुवै देशको मित्रताको रूपमा अर्थ्याइएको छ।

कार्कीले नेपाली अर्थतन्त्रको आधार भएकाले पर्यटनको विकासमा चिनियाँ सहयोग अपरिहार्य भएको चर्चा गरे। उनले नेपालमा चिनियाँ पर्यटकलाई निःशुल्क भिसादेखि पर्यटकीय गन्तव्यहरूबारे पनि जानकारी गराए।

तिब्बत स्वशासित क्षेत्रका उपाध्यक्ष दोर्जे छ्छुले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका कारण धेरै चिनियाँले नेपालबारे जानकारी पाएको बताए। डिसेम्बर १२ मा तिब्बतका उपाध्यक्ष छी चाला नेतृत्वको प्रतिनिधि मण्डलले तिब्बतको भ्रमण गरेको स्मरण गर्दै उनले दुवै पक्षबीच वाणिज्य, पारवहन, पर्यटन, सीमा व्यापारलगायत अन्य विषयमा सहकार्य रहेको बताए।

सन् २०१९ मा करिब १० हजार विदेशी पर्यटकले नेपाल-तिब्बत नाका प्रयोग गरी नेपालको भ्रमण गरेको तिब्बती अनलाइनहरूले जनाएका छन्। त्यस्तै त्यस वर्ष तिब्बत पुगेका चिनियाँ तथा विदेशी गरी ४ करोड पर्यटक पुगेको र पर्यटनबाट भएको आम्दानी ५६ अर्ब आरएमबी पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित : माघ २, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्

नेता जोशी नै भन्छन्, 'कांग्रेस विधिविधानमा चल्न सकेन'

रासस

काठमाडौँ — कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन् । 

कांग्रेस विर्तामोड नगरसमितिले बिहीबार विर्तामोडमा गरेको कार्यक्रममा जोशीले कांग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रित रहेको बताए । उनले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रित रहेको धारणा राखे । 'नेपाली कांग्रेस अब सच्चिन जरुरी छ”, उनले भने, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ ।'

कार्यक्रममा पूर्वसांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले बोलेका थिए ।

प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव
साना निर्माणकर्मी व्यवसायीले भूकम्पबाट बच्न भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सुझाव दिएका छन् । २२औं भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार विर्तामोडमा आयोजित कार्यक्रममा साना निर्माणकर्मी सङ्घ झापाका अध्यक्ष राजु राजवंशीले भूकम्प आउँदा घर भत्कने जोखिम उच्च हुने हुँदा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आग्रह गरे ।

उनले भारतीय निर्माण व्यवसायीका कारण निर्माण क्षेत्रमा काम गर्ने व्यवसायी र मजदुर दुवै मारमा परेको भन्दै भूकम्प प्रतिरोधात्मक तालीम प्राप्त निर्माण व्यवसायी र निर्माण क्षेत्रमा काम गर्ने मजदूरलाई मात्र घर निर्माण गर्न लगाउनुपर्ने बताए ।

झापामा वार्षिक दुई हजार भन्दा बढी घर निर्माण हुने गरेको र अधिकांश निर्माण व्यवसायी भारतीय हुने तथा काम गर्ने मजदूरसमेत भारतबाट आउने हुँदा नेपाली मजदूर र व्यवसायी मारमा परेको उनले बताए । 'नेपाली व्यवसायी र मजदूरले भूकम्प प्रतिरोधात्मक तालीम लिएका छन् तर उनीहरुले भारतीय निर्माणकर्मी र मजदूरसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था छैन', अध्यक्ष राजवंशीले भने, 'सस्तोका नाममा भारतीय मजदूरबाट घर निर्माण गर्दा पछिल्लो समय निर्माण गरिएका अधिकांश घर भूकम्पीय जोखिममा छन् ।' झापामा झण्डै पाँच हजार निर्माण व्यवसायी र २० हजारभन्दा बढी मजदूर रहेको अध्यक्ष राजवंशीको भनाइ छ ।

त्यस्तै सङ्घका सचिव श्याम बस्नेतले भूकम्प प्रतिरोधात्मक घर निर्माणका विषयमा सचेतना जगाउन सङ्घले भूकम्प सुरक्षा दिवसको अवसरमा विर्तामोडमा र्‍यालीसहितको कार्यक्रम आयोजना गरेको बताउनुभयो । साना निर्माणकर्मी सङ्घले भूकम्पको विषयमा निकालेको चेतनामूलक र्‍यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।

प्रकाशित : माघ २, २०७६ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×