१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री निवास नजिक बम राख्दा सुरक्षाकर्मी बेखबर, बम राख्ने पक्राउ परेनन्, सीसीटीभी फुटेजबाट खोजी

संवेदनशील क्षेत्रमा बम राख्ने मुख्य योजनाकार चिरन पुन
मातृका दाहाल

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले गत मंसिर २७ गते प्रहरी निरीक्षक आधारभूत तालिम समापनमा नेत्रविक्रम चन्द समूह छिन्नभिन्न र कमजोर बनिसकेको दाबी गरे । पुस ११ गते केन्द्रीय सुरक्षा समिति बैठकमा उनले चारवटै सुरक्षा निकायका उच्च अधिकारीमाझ चन्द समूह शान्तिपूर्ण राजनीतिमा नआए समाप्त हुने धारणा राखे ।

प्रधानमन्त्री निवास नजिक बम राख्दा सुरक्षाकर्मी बेखबर, बम राख्ने पक्राउ परेनन्, सीसीटीभी फुटेजबाट खोजी

रणनीति बदलेर चन्द समूहमाथि आक्रामक बन्न सुरक्षा निकायलाई उनले निर्देशन पनि दिए । त्यसको तीन सातामै बुधबार साँझ चन्द समूहले चौबीसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहने प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखका सरकारी निवास पछाडि ‘टाइम सेट’ गरेर कुकर बम राख्यो ।


बम राखेको स्थान भूमाफियाले हडपेको ललिता निवास परिसरभित्र पर्छ । जुन प्रधानमन्त्री निवासको पर्खालबाट मुस्किलले ५० मिटर र प्रहरी प्रधान कार्यालयबाट केही सय मिटर मात्रै टाढा हो । त्यस ठाउँमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास सुरक्षा गर्न सेनाका ‘सेन्ट्री पोस्ट’ समेत तैनाथ छन् । सुरक्षा संयन्त्रलाई छलेर कसरी प्रधानमन्त्री निवास नजिकै चन्द समूहले बम राख्यो भन्ने प्रश्न अहिले सुरक्षा निकायतर्फ सोझिएको छ ।


नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राज्यका अतिविशिष्ट पदाधिकारीको निवास आसपास बम राखेको विषयलाई सेनाले गम्भीर रूपमा लिएको बताए । उनले सबै सुरक्षा निकायका लागि पनि उक्त घटनाले चुनौती थपेको स्वीकार गरे । पछिल्लो समय विस्फोट र आगजनी गर्ने समूहका गतिविधिमा पनि बढोत्तरी आएको भन्दै उनले यसलाई नियन्त्रण गर्न सबै सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको बताए । ‘यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चालिनेछ,’ प्रवक्ता पाण्डेले कान्तिपुरसँग भने । उनले बम राख्ने र विस्फोट गराउने समूहको खोजीमा अन्य सुरक्षा निकायसँगै सैनिक गुप्तचरी संयन्त्रलाई सशक्त बनाइएको बताए । पाण्डेले बम भाटभटेनी सुपरमार्केटको स्टोर नजिकैको झाडीमा रहेको प्रहरीको सूचनापछि निष्क्रिय पारिएको पनि बताए ।


अरू बेला बम राखिएका ठाउँमा जाने सर्वसाधारणलाई सोधपुछ गरिरहने प्रहरीले बुधबार साँझ किन सावधानी अपनाएन भन्ने प्रश्न पनि उब्जिएको छ । बम राखेर शंकास्पद व्यक्ति फरार हुँदासम्म प्रहरी र सेनाले त्यसको सुइँकोसम्म नपाउनुले राज्यका उच्च पदस्थ अधिकारीका निवास पनि सुरक्षित छैनन् भन्ने सन्देश प्रवाह भएको एक उच्च पदस्थ सुरक्षा अधिकारीले स्वीकारे ।


गृह मन्त्रालयले घटनापछि सुरक्षा निकायहरूलाई निर्देशन दिँदै चन्द समूहप्रति कडा नीति अपनाउन भनेको छ । गृह मन्त्रालयमा सानो भर्‍याङमा भएको विस्फोट र बालुवाटारमा राखिएको बमसहित चन्द समूहका गतिविधिबारे समीक्षा बैठक बसेको थियो । ‘राजधानीमै भएका विस्फोट र ध्वंसात्मक गतिविधिले सुरक्षा संवेदनशीलता बढाएकै हो, यसप्रति हामी गम्भीर छौं,’ गृह प्रवक्ता केदारनाथ शर्माले भने, ‘चन्द समूहप्रति दृष्टिकोणमा कुनै परिवर्तन भएको छैन, अझ कडा र सशक्त नीति अपनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छौं ।’


बालुवाटारमा बम राखेकै समय ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालको सानो भर्‍याङस्थित घरमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटबाट ढकालको घर, सवारी, पर्खाल र छिमेकीका ३ वटा घरमा क्षति पुगेको छ । दुवै बम आफूले राखेको चन्द समूहले बताएको छ । बम राख्ने र विस्फोट गराउने कोही पनि पक्राउ परेका छैनन् । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको छ । यसबीचमा चन्द समूहका सचिवालय सदस्य हेमन्तप्रकाश वलीसहित १ हजार ३ सय ५९ जना नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । चन्दसहित ५ सयभन्दा बढीलाई फरार सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको छ ।


प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले सानो भर्‍याङमा विस्फोट गराउने र बालुवाटारमा बम राख्ने व्यक्तिहरूलाई छिट्टै कारबाहीको दायरामा ल्याउने बताए । ‘प्रतिबन्धित समूहका सयौं नेता–कार्यकर्ता पक्राउ परिसकेका छन्, कोही अनुसन्धानका क्रममा छन्,’ उनले भने, ‘प्रहरीको सक्रियताबिना उनीहरू यसरी पक्राउ पर्ने थिएनन् । बालुवाटारमा बम राखिएको घटनाले भने हामीलाई सजग र सतर्क बनाएको छ ।’

सरकारले गतिविधिमा प्रतिबन्ध लगाएयताका ११ महिनामा पक्राउ परेकामध्ये वलीसहित १ सय ५३ जना जेल र ६८ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । पक्राउ परेर छुटेका नेता मोहन कार्कीसहित १ हजार भन्दा बढीले चन्द समूह छाडिसकेका छन् ।


‘आफ्ना प्रभावशाली नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि बदला लिन चन्द समूहले राजधानीकेन्द्रित ध्वंसात्मक गतिविधिलाई बढाउन लागेको देखिन्छ । प्रधानमन्त्री निवास नजिकै बम राखेर उसले आफ्नो प्रभाव कम नभएको सन्देश दिन खोजेको छ,’ प्रहरीकै एक डीआईजीले भने, ‘यसप्रति सचेत र सतर्क छौं ।’


सरकारले चन्द समूहलाई वार्तामा ल्याउनेबारे पछिल्लो समय कुनै ठोस कदम चालेको छैन । बरु चन्द समूहलाई निस्तेज पार्न कुनै कसर नराख्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चन्द समूहका हिंसात्मक र ध्वंसात्मक गतिविधिले देशको सम्पत्ति नोक्सान भइरहेको बताए । उनले हिंसात्मक र ध्वंसात्मक गतिविधिमा सरकार सहनशील नहुने चेतावनी दिए ।

‘ललिता निवासको जग्गा लक्षित विस्फोट हो भने सरकार आफैं त्यसमा छानबिन गरिरहेको छ, लुकेर भएको हमलाले राम्रो गर्दैन,’ बाँस्कोटाले चन्द समूहप्रति लक्षित गर्दै भने, ‘सरकारले टावरमा हान भनेको छैन । जनताको सम्पत्तिमा आक्रमण भएको छ, सरकार यस विषयमा सहनशील हुन सक्तैन ।’ केही महिनाअघि चन्द समूहको विस्तारित बैठकले राज्यलाई कर नतिर्ने व्यक्ति तथा संस्था, सरकारी जग्गा हिनामिना गर्ने भूमाफिया, उद्योगी/व्यापारीलगायत सम्पत्तिवालाको सूची तयार पारेर ‘जनकारबाही अभियान’ चलाउने निर्णय गरेको स्रोतको भनाइ छ । त्यसपछि सुरक्षा रणनीति परिवर्तन गरिएको एक अधिकारीले बताए । तर पछिल्लोपटक बालुवाटार र सानो भर्‍याङमा बम राखेर चन्द समूहले सरकारलाई चुनौती दिएको छ ।


नेता पक्राउपछि झनै आक्रोश

२०७५ चैत ८ गते सचिवालय सदस्य तथा मध्यकमान्ड इन्चार्ज वलीसहित ८ जना काभ्रे र चैत १ गते पोलिटब्युरो सदस्य मोहन कार्की ललितपुरको बालकुमारीबाट पक्राउ परेका थिए । २०७६ वैशाख २५ गते पोलिटब्युरो सदस्य भरत बम विस्फोटक पदार्थसहित नेपालगन्जबाट पक्राउ परे । २०७६ असोज २९ गते राति मध्यपश्चिम कमान्ड इन्चार्जसमेत रहेका नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द (वीरगन्ज) र राप्ती ब्युरो इन्चार्ज सुवास बाठासहित २१ नेता दाङबाट समातिए । दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विक, युवा संगठन केन्द्रीय अध्यक्ष बबिल केसी, नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्यायलगायत नेता पनि प्रहरीको फन्दामा परे । गएको पुस १२ गते केन्द्रीय सदस्य उमा भुजेल सुनसरीबाट पक्राउ परिन् ।


सरकारले गतिविधिमा प्रतिबन्ध लगाएपछि चन्द समूहका अधिकांश नेता–कार्यकर्ता भूमिगत छन् । पदाधिकारी तथा केन्द्रीय तह र जनवर्गीय संगठनका शीर्ष ७४ जना नेतालाई प्रहरीले पक्राउ गरिसकेको छ । यो अवधिमा पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपामा प्रवेश गरिसकेका छन् । केही दिनअघि अर्का केन्द्रीय नेता मोहन कार्की जेलबाट छुटेलगत्तै सत्तारूढ नेकपामै प्रवेश गरेका छन् । यी घटनापछि चन्द समूह सरकारसँग झनै रुष्ट र आक्रोश बनेको सुरक्षा स्रोतहरू बताउँछन् ।


प्रकाशित : माघ २, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?