३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘नोबेल कोरोना’ को शंकामा निगरानी

अतुल मिश्र

काठमाडौँ — चीनमा निमोनियाको नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका एक नेपाली विद्यार्थीलाई सरुवा रोगसम्बन्धी सरकारी अस्पतालमा अन्य बिरामीभन्दा अलग (आइसोलेसन) राखी उपचार गरिएको छ । ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएका ती बिरामीलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा तीन दिनदेखि राखिएको हो । 

‘१० दिनअघि चीनबाट आएपछि केही समस्या देखिएकाले थप सतर्कता अपनाउन आइसोलेसन वार्डमा राखिएको हो,’ अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बुधबार कान्तिपुरसँग भने, ‘बिरामीको इन्फ्लुएन्जा परीक्षण गर्न पठाएका छौं ।’ चीनबाट यस्ता बिरामी आउने सम्भावनालाई उच्च प्राथमिकतासाथ हेरिरहेको उनले बताए । ‘चीनमा निमोनियाको नयाँ भाइरस नोबेल कोरोनो भाइरसले उत्पन्न भएर संक्रमण देखिएपछि विशेष सतर्कताअन्तर्गत शंकास्पद बिरामीलाई विशेष निगरानी गर्न थालेका हौं ।’


कोरोना भाइरसको समूहको एउटा हिस्सा हो, जसबाट सामान्य रुघाखोकीदेखि लिएर घातक रोगसम्म हुन सक्छ । कोरोना भाइरसको संक्रमण सामान्यतया पशु र मानिसमा हुन्छ र हाल यस्ता कतिपय भाइरस छन्, जो पशुमा भए पनि मानिस त्यसबाट संक्रमित भएका छैनन् । सन् २००३ मा चीनलगायत एसियामा यस्तै ‘सार्स भाइरस (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) फैलिएको थियो । यसको विस्तार उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपसम्म देखिएको थियो । त्यसयता यो संक्रमणबाट चीनमा ६ सय ४६ जनाको मृत्यु भएको थियो भने विश्वभरमा मर्नेको संख्या ८ सय १३ पुगेको थियो ।


चीनबाट आएका बिरामीबारे टेकु अस्पतालले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत निकायलाई समेत जानकारी दिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार चीनमा हालै देखिएको ‘नोबेल कोरोना भाइरस’ को परीक्षण प्रविधि नेपालमा उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनले चीनभन्दा बाहिर पहिलोपटक थाइल्यान्डमा ‘नोबेल कोरोनो भाइरस’ को केस देखिएको गत मंगलबार जनाएको थियो । थाइल्यान्डमा घुम्न गएकी अमेरिकाकी ६१ वर्षीया महिलालाई चिसो लाग्ने, घाँटीमा खस–खस, टाउको दुखाइ र ज्वरोलगायत लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । थाइल्यान्डको सुवर्णभूमि विमानस्थलमा थर्मल सर्भिलेन्सका माध्यमले त्यही दिन ज्वरोले पीडित ती महिलालाई पहिचान गरेर

अस्पतालमा भर्ना गरिएको थियो ।


चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई गत शनिबार र आइतबार उपलब्ध गराएको जानकारीअनुसार त्यहाँको हुवई प्रान्तस्थित वुहानमा ४१ जना नोबेल कोरोनोभाइरस संक्रमणले बिरामी भएको पहिचान गरिएको छ । तिनमा एक जनाको मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर छ ।


डब्लूएचओका अनुसार चिनियाँ अधिकारीहरूले नयाँ प्रकारको कोरोना भाइरसलाई गत पुस २२ गते मात्रै पहिचान गरेका हुन् । यो क्लस्टर (समूह) को सुरुवात ३१ डिसेम्बर सन् २०१९ मा भएको थियो, जतिखेर संगठनको चाइना कन्ट्री अफिसलाई सूचित गरिएको थियो । चीनले सबै सम्भावित केसको प्रयोगशाला परीक्षण गरेपछि इन्फ्लुएन्जा, एभियन इन्फ्लुएन्जा, एडेनो भाइरस, सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (एसएआरएस–सीओभी) र मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोनो भाइरस (एमईआरएस–सीओभी) जस्ता अन्य श्वासप्रश्वाससम्बन्धी रोग उत्पन्न गर्ने कारकको पहिचान गरेको थियो । यसअघि चिनियाँ सञ्चार माध्यममा जारी रिपोर्टअनुसार यो रोगका लागि कोरोनो भाइरसलाई जिम्मेवार ठानिएको थियो ।


प्रारम्भिक महामारीसम्बन्धी खोजबिनअनुसार वुहानको समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो । हालसम्म जो बिरामी देखिएका छन्, तीमध्ये अधिकांश समुद्री खाद्य बजारमा काम गर्नेहरू हुन् । सरकारी अधिकारीहरूका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण छैन । सतर्कताका लागि हाल अस्थायी रूपमा वुहान ‘सी–फुड होलसेल मार्केट’ अस्थायी रूपमा बन्द गरिएको छ । विश्व स्वास्थ्य संगठनले ‘नोबेल कोरोनो भाइरस’ फैलिने स्रोत पत्ता लगाउनु चीनका लागि आवश्यक रहेको जनाएको छ ।

प्रकाशित : माघ २, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?