कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन

नवीन पोखरेल

लन्डन — बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको हृदयघातका कारण लन्डनमा निधन भएको छ ।लन्डन पट्‌नी निवासी ६८ वर्षीय शर्माको मंगलबार बिहान पौने ११ बजेतिर घरमै निधन भएको शर्माका आफन्त एवं दूतावासका पूर्व कर्मचारी अनिल अधिकारीले जानकारी दिए । मर्निङ वाक गरी घर फर्किएर ब्रेकफास्ट खाएको केही समयपछि उनको निधन भएको थियो ।

बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन

शर्माको शव अहिले लन्डन टुटिङस्थित सेन्ट जोर्ज अस्पतालमा राखिएको छ । छोराहरु अमेरिकाबाट आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्नेबारे टुंगो लाग्ने अधिकारीले बताए ।


शर्मा श्रीमती निलाका साथ लन्डनमा बस्थे । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । उनको स्थायी घर भोजपुरको दिङ्ला हो ।


सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरे ।


पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।


‘पहिले अभिजात्य वर्गका राजदूतहरु आउने र बेलायतस्थित नेपाली समुदायमा त्यति घुलमिल नगर्ने परम्परा तोडेर शर्मा समुदायमा निकै भिजेका थिए’, पूर्व काउन्सिलर धन गुरुङले स्मरण गरे, ‘बेलायतको नेपाली समुदायले उनको योगदान कहिल्यै भुल्ने छैन् ।’


पूर्व परराष्ट्र सचिव मदन भट्टराईले स्वर्गीय शर्मा एक स्वाभिमानी र मिहेनती व्यक्ति भएको बताएका छन् ।


गत सेप्टेम्बर २००८ मा राष्ट्रसंघको महासभामा भाग लिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल जर्मनी हुँदै न्यूयोर्क जान लागेका बेला परराष्ट्र मन्त्रालयले जर्मनीको फ्रयांकफर्ट शहरमा युरोपस्थित नेपाली राजदूतहरुको भेला आयोजना गरेको थियो । तर त्यसको अर्को दिन लन्डनमा नेपालका पर्यटनमन्त्रीको कार्यक्रम रहेको भन्दै शर्मा उक्त सम्मेलनमा गएनन् । त्यसपछि उनलाई नेपाल सरकारले पदावधि पूरा नहुँदै फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएपछि शर्मा सुरक्षाका कारण भन्दै नेपाल नफर्की लन्डनमै बसेका थिए । उनले बेलायतमा राजनीतिक शरणार्थीको आवेदन दिएपछि कूटनीतिक वृत्तमा निकै चासो र आश्चर्यजनक रुपमा हेरिएको थियो ।


राजदूतबाट हटेपछि शर्मा लन्डनमा पुस्तक, समसामयिक लेख, गीत, कविता लेखन आदिमा व्यस्त थिए । गायनमा रुचि राख्ने उनले कुनै बेला लोक गायन प्रतियोगितामा पुरस्कारसमेत जितेका थिए ।

प्रकाशित : माघ २, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?