छेन्दु-भैरहवा सिधा उडान गर्न चीनले सहयोग गर्ने

घनश्याम गौतम

रूपन्देही — नेपालका लागि चिनीया राजदूत होउ यान्छीले चीनको सिचुवान प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा हवाई उडान गर्न सहयोग गर्ने बताएकी छन् । उनले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने प्रष्ट पारिन् ।

छेन्दु-भैरहवा सिधा उडान गर्न चीनले सहयोग गर्ने

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मुख्यमन्त्री कार्यालयमा बुधबार भएको भेटमा राजदूत यान्छीले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जिवन्त बनाउने प्रदेश सरकारको प्रयासमा चीनले सहयोग गर्ने बताइन । स्थापनाको छोटो समयमै प्रदेश–५ ले आर्थिक विकासमा फड्को मारेकोमा उनले बधाईसमेत दिइन ।


राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको भन्दै नेपाल अहिले द्रुत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनिया साथ निरन्तर हुने बताइन् । राजदूत यान्छीले केही महिना अघि चिनियाँ राष्टपतिको नेपाल भ्रमण र नेपालका राष्टपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको बताइन ।


भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको भन्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । पोखरेलले विआरआई परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न, रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना प्रदेश सरकारले अघि सारेको र तीमध्ये एकमा चिनिया मोडलको औद्योगिक क्षेत्र होस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताए ।


त्यस्तै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न चिनिया सहयोग आवश्यक रहेको बताए ।भेटवार्तामा राजदुत यान्छीसहित दुतावासका विभागीय प्रमुखहरुको पनि सहभागिता थियो ।

प्रकाशित : माघ १, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?