१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिटौलाको ध्यान आफ्नै समूहमा

सिटौला आगामी महाधिवेशनमा उठ्ने मनस्थितिमा देखिँदैनन् । उनी संस्थापनइतरमा कसलाई सघाउने भन्नेमा निर्णायक भूमिकाका लागि आफ्नो समूहलाई सशक्त बनाउने योजनामा छन् ।

काठमाडौँ — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो समूह छुट्टै रहेको सन्देश दिएका छन् । पार्टी संरचनाको भागबन्डामा बारम्बार सिटौला समूह कता भन्ने प्रश्न उठेपछि उनले सार्वजनिक कार्यक्रममार्फत नै संस्थापन र रामचन्द्र पौडेल समूह कुनैमा पनि नरहेको बताएका हुन् । 

सिटौलाको ध्यान आफ्नै समूहमा

तेस्रो समूहमा रहेका सबै नेतालाई एउटै मञ्चमा राखेर जीपी कोइराला, लोकतन्त्र संवर्द्धन केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा सिटौलाले १३ औं महाधिवेशनदेखि आफूसँग जोडिएका सबै नेता तथा कार्यकर्ता एकै ठाउँ रहेको पनि दाबी गरे । ‘देउवातिर पनि होइन, पौडेलतिर पनि होइन । १३ औं महाधिवेशनपछि हामी जहाँ छौं, त्यहीँ छौं । बरु विस्तारित हुँदै गएका छौं,’ कार्यक्रमपछि कान्तिपुरसँग सिटौलाले भने । उनले पार्टीभित्रको बृहत् एकता र १४ औं महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक बनाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।


कार्यक्रम केन्द्रीय सदस्य तथा गत महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उठेका गगन थापाको भने उपस्थिति थिएन । थापाको अनुपस्थितिलाई सिटौला पक्षीय अन्य नेता तथा कार्यकर्ताले अर्थपूर्ण रूपमा लिएका छन् । पारिवारिक भ्रमणमा रहेकाले मंगलबारको कार्यक्रममा थापा उपस्थित हुन नसकेको सिटौलाको भनाइ छ । कार्यक्रममा गत महाधिवेशनमा सिटौला प्यानलबाट कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरी पनि अनुपस्थित थिए । उनी माघी पर्वको कारण देखाएर नआएका हुन् । तेस्रो धारसँग जोडिएका नेताहरू प्रदीप पौडेल, शिव हुमगाईं, भीमसेनदास प्रधान, धना खतिवडा र कालीकोट, सिन्धुपाल्चोक, उदयपुर, ताप्लेजुङका जिल्ला सभापतिलगायत भने कार्यक्रममा सहभागी थिए ।


१३ औं महाधिवेशनमा सिटौला शेरबहादुर देउवा र पौडेलसँगै सभापति पदमा चुनाव लडेका थिए । त्यही महाधिवेशनबाट जन्मिएको सिटौला नेतृत्वको तेस्रो धार ०७४ को निर्वाचनपछि कतातिर भन्ने प्रश्न बारम्बार उठ्दै आएको छ । ०७४ को निर्वाचनअघिसम्म उनी सभापति देउवासँगै थिए । देउवासँग मिलेर नै उनले भ्रातृ संस्थाहरूमा हिस्सा लिँदै आएका थिए । निर्वाचनपछि भने संस्थापन पक्षबाट अलग भए । संस्थापन छाडे पनि उनी पौडेल समूहमा मिसिएका छैनन् । पौडेल समूहमै एकाकार गराउने प्रयास नभएको भने होइन ।


केन्द्रीय सदस्य प्रदीप पौडेलले उक्त समूहले सिटौलालाई सम्मानित रूपमा व्यवस्थापन गर्न नसक्दा समस्या आएको बताए । ‘छेडछाड गर्ने, सक्किएर आउनुभएको हो भन्नेजस्ता गतिविधिले उहाँ (सिटौला) लाई सहज भएन,’ प्रदीपले भने, ‘पार्टी सभापतिबाट पनि पौडेलतिरको ४० प्रतिशततिरै धकेल्ने काम भयो । जमिनै नभएको जस्तो अनुभूति हुन थालेपछि आफ्नो समूहलाई अघि बढाउनुको विकल्प उहाँले देख्नुभएन ।’


पार्टी संरचनाको भागबन्डामा देउवाले पौडेलतिरै देखाउने र पौडेलले देउवातिर देखाउने गरेका छन् । यसैको चेपुवामा सिटौला पर्दै आएका छन् ।


पार्टीभित्रको विवाद मिलाउन सभापति देउवाले आइतबार बोलाएको छलफलमा सिटौलाले आफू साठी र चालीस दुवैतिर नपरे पनि माइनस नभएको भन्दै व्यंग्य गरेका थिए । ‘म माइनस त रहनेछु नि, जिरोमै छु । जिरो भनेको सिड (बीउ) हो । यो सिड फैलिँदै जान्छ, जरा फैलिँदै जान्छ । तपार्इंहरूको जरा मक्किँदै गएको छ,’ सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।


सिटौलालाई अप्ठ्यारो आफ्नै समूहका नेताहरूका कारण पनि भइरहेको छ । शिव हुमगाईं, भीमसेनदास प्रधान र उमाकान्त चौधरी वरिष्ठ नेता पौडेल पक्षतिर भन्दा संस्थापनतिरै ढल्कने गरेका छन् । गगन थापा र प्रदीप पौडेल भने इतर खेमालाई बलियो बनाउने पक्षमा छन् । यसको छाया मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा समेत देखिएको थियो । पूर्वमन्त्रीसमेत रहेका प्रधानले अर्जुन नभएपछि कृष्णको भूमिका नहुने भन्दै संस्थापनतिरै एकाकार बन्न सिटौलालाई अप्रत्यक्ष ढंगबाट आग्रह गरेका थिए । हुमगाईंले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कारलाई घरमा आगो लगाउने घटनासँग जोडे । सिटौलाले त्यसको ठाडो अस्वीकार गरे । ‘कृष्ण बन्नेमा मेरो विश्वास छैन’ भन्दै उनले सभापतिको कार्यशैलीको कडा आलोचना गर्दै प्रधान र हुमगाईंको भनाइको जवाफ दिए ।


सिटौला फेरि देउवा समूहलाई सघाउने पक्षमा देखिँदैनन् । बहुमतको निर्णयबाट गरिएको महाधिवेशनको कार्यतालिका, कार्यविधि र विधानका धारा निलम्बन गर्ने निर्णय सच्याउन माग राख्दै पुस १५ गते सभापति देउवालाई लिखित पत्र बुझाउने क्रममा उनले ‘म तपाईंसँग रहन्न, भ्रममा नपर्नुस्’ भनेका थिए । त्यसको जवाफमा देउवाले समेत आ–आफ्नो बाटोमा हिँडौं भन्ने जवाफ उनलाई दिएका थिए । स्रोतका अनुसार सिटौला आगामी महाधिवेशनमा निर्णायक शक्ति बन्नका लागि आफ्नै समूहलाई विस्तार गर्ने योजनामा छन् । उनको भूमिका देउवातिर नभएर इतरपक्षमै को उम्मेदवार बन्ने भन्नेले निर्क्योल हुने उनीनिकट नेताहरू बताउँछन् । संस्थापनइतरमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला उम्मेदवारका लागि मुख्य चर्चामा छन् । ‘सिटौला आफैं सभापति उठ्ने मनस्थितिमा अहिले देखिनु हुन्न,’ सिटौलानिकट रहेका एक नेताले भने, ‘इतरपक्षमै कसलाई सघाउने भन्नेमा उहाँको भूमिका निर्णायक हुन सक्छ । त्यतिन्जेल आफ्नो समूहलाई सशक्त बनाउने योजना देखिन्छ ।’


सिटौला महाधिवेशनको कार्यतालिका र कार्यविधिको मुद्दामा पौडेल पक्षसँगै जोडिए पनि नेविसंघ र तरुण दलको विषयमा दुवै पक्षसँग आफ्नो भिन्न मत रहेको बताउँछन् । नेविसंघ भंग गर्ने र तीन वर्षअघि तरुण दलको अधिवेशन हुन नदिई भागबन्डामा टुंग्याउने विधानविपरीतका काममा देउवा र पौडेल दुवै सामेल रहेको उनको भनाइ छ । अहिले देखिएको पार्टीभित्रको विवादमा महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने र विधानअनुसार पार्टी चल्नुपर्ने माग आफ्नो मुख्य चासो हुने उनले बताए ।

प्रकाशित : माघ १, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?