तुम्बाहाङ्फे भन्छिन्, ‘सभामुखका लागि अन्तिमसम्म लड्छु’

नुवाकोट — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख पदमा दाबी नछाड्ने बताएकी छन् । उनले माघ ६ गते प्रतिनिधिसभाको बैठक डाकेर प्रक्रियाअनुसार चल्ने पनि बताइन् । ‘लडाइँ अन्तिमसम्म कायम रहन्छ,’ गोसाइँकुण्ड युवा क्लबले आयोजना गरेको गोरु जुधाइ प्रदर्शनीमा आएकी उनले कान्तिपुरसित भनिन् । 

तुम्बाहाङ्फे भन्छिन्, ‘सभामुखका लागि अन्तिमसम्म लड्छु’

उपसभामुख तुम्बाहाङ्फेले संविधानअनुसार आफू निर्वाचित भई शपथ लिएर आएकाले कुनै दलले छाड् भन्दैमा पदबाट राजीनामा नदिने बताइन् । दलले राजीनामाका लागि निर्देशन दिन नसक्ने उनको भनाइ थियो । ‘प्रतिनिधिसभा सार्वभौम संस्था हो । मैले संविधानलाई कार्यान्वयन गर्छु भन्दा एउटा दलले मलाई निर्देशन दिन सक्दैन,’ उनले भनिन् । उपसभामुखलाई राजीनामा गराएर प्रतिनिधिसभालाई दलहरूले नेतृत्वविहीन बनाउन नमिल्ने उनले बताइन् । संविधानले बीचमा पद खाली बनाउने अवस्था किटान नगरेको उनको जिकिर थियो । उनले दलहरूलाई आफ्नो क्षेत्राधिकारभित्र रहन पनि आग्रह गरिन् । ‘प्रतिनिधिसभालाई रिक्त बनाएर तुरुन्तै राजीनामा दिनेवाला छैन । जब दलले आफ्नो उम्मेदवार तय गर्छ, तब म राजीनामा दिन्छु,’ उनले भनिन् ।


उपसभामुख तुम्बाहाङ्फेले आफू ५ वर्ष काम गर्न उपसभामुख भएको तर ३ वर्ष बाँकी रहँदा अस्वाभाविक ढंगले हटाउन खोजिएको बताइन् । ‘तत्कालीन सभामुख (कृष्णबहादुर महरा) एउटा घटनामा मुछिनुभयो । पद खाली भयो । त्यो पद खाली रहेपछि स्वाभाविक रूपमा मेरो दाबी हो,’ उनले भनिन्, ‘मैले गल्ती गरेकी छैन । अर्काको गल्तीमा म भागिदार बन्न सक्दिनँ ।’


प्रकाशित : माघ १, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?