मुगुको व्यथा : अस्पताल लाँदा-लाँदै सुत्केरीको मृत्यु, शिशुको बिचल्ली

राजबहादुर शाही

मुगु — कर्णाली प्रदेशको जिल्ला मुगु । स्वास्थ्य सेवा र सुविधाको हिसाबले पुछारमा रहेको क्षेत्र । छायाँनाथ रारा नगरपालिका १० को जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकका चार सन्तान घरमा छन्। गर्भवती धनरुपा पाँचौंपटक आमा बन्दै थिइन्।

बुधबार बिहानैदेखि हिउँ परिरहेको थियो । ससाना बच्चाहरू चिसोमा जेनतेन घरभित्र बसिरहेका थिए । पत्नीलाई सुत्केरी व्यथा लागेदेखि नै पति रामबहादुर विक तनावमा थिए।


व्यथाले च्यापिरहे पनि बच्चा जन्मिन सकिरहेको थिएन । धेरै समय भएपछि गाउँमा हल्ला भयो। छिमेकी र दाजुभाइ जम्मा भए । आधा घण्टा दूरीको झाकोट गाउँमा हालै खुलेको 'बर्थिङ सेन्टर'मा लैजाने कि दुई घन्टा टाढा सदरमुकामको जिल्ला अस्पताल लैजाने भन्नेमा छलफल भयो। अन्तिम निश्कर्ष निस्कियो- बर्थिङ सेन्टर के हो, के हो ? जिल्ला अस्पताल ठिनी नै लैजाउँ ! अरु कुनै समस्या भयो भने पनि उपचार हुन्छ ।


हिमपातका कारण मोबाइलमा नेटवर्क बिग्रिएको थियो । त्यसैले सदरमुकामबाट एम्बुलेन्स बोलाउने सम्भावना रहेन। स्ट्रेचरमा राखेर उनलाई अस्पतालतिर दौडाइयो। बाटैमा उनले आफ्नो पाँचौं सन्ताका रूपमा छोरीलाई जन्म दिइन् ।


छोरी जन्मिए पनि आमाको रक्तश्राव रोकिएको थिएन । थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा आमा धनरुपाको मृत्यु भयो।


आमाको मृत्यु भएपछि नवजात शिशुको बिचल्ली भएको छ। 'आमा बितेको सात दिनदेखि नै छोरी रोएको रोयै छ, बचाउनै मुश्किल परिरहेको छ,' रामबहादुरले भने, 'श्रीमती बितेपछि अरु बच्चाको समेत स्याहार गर्न गाह्रो भएको छ ।'


सबभन्दा ठूलो समस्या नवजातलाई दूध खुवाउन भएको उनी बताउँछन्। 'आक्कलझुक्कल छिमेकका महिलाले दूध खुवाइदिने गरेका छन्। तर, त्यतिले पुग्दैन । भोको भएकाले रातभर रोइरहन्छे,' रामबहादुरले भने। एकातिर धेरै बालबच्चा, अर्कातिर मृतक श्रीमतीको काजकिरियाको कामले गर्दा रामबहादुरको बिजोग र बच्चीको बिचल्ली भएको उनका आफन्त रामसिंह विकले बताए ।


जन्मेदेखि आमाको दूध खान नपाएका कारण शिशुको शरीर सुक्दै गएको पनि रामसिंहले बताए । 'गाउँमा गाईभैंसीको दूध पाइँदैन । मुश्किलले पाइए पनि शिशुलाई खुवाउन सकिएको छैन,' उनले भने ।

प्रकाशित : पुस २९, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्

प्रसाईंले दिए उजुरी, गिरीले हाले मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।


मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गर्दै आएका उनले उजुरी दिएका हुन् । गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बिमा बोर्डको निर्देशक हुँदा देखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने उनको माग छ । गिरीले बीएन्डसीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर २० करोड मागेको आरोप प्रसाईंको छ ।

आफू द्वारिकाज होटल नै नगएको भन्दै आरोपको खण्डन गर्दै आएका गिरीले प्रसाईं विरुद्ध मंगलबार मुद्दा हालेका छन् । काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानिको मुद्दा दर्ता गराएका हुन् । मिथ्या आरोप लगाई मानहानी गरेकाले बाध्य भएर अदालतमा मुद्दा दर्ता गराउनु परेको उनले बताए ।

प्रसाईंले मंगलबारै राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू पनि गिरी विरुद्ध अदालत जाने तयारी गरेको बताएका छन् । उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै उनले असन्तुष्टि जनाए ।

गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए । गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद सुरु भएको हो ।

प्रकाशित : पुस २९, २०७६ १९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×