प्रसाईंले दिए उजुरी, गिरीले हाले मुद्दा

काठमाडौँ — बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

प्रसाईंले दिए उजुरी, गिरीले हाले मुद्दा

मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गर्दै आएका उनले उजुरी दिएका हुन् । गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बिमा बोर्डको निर्देशक हुँदा देखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने उनको माग छ । गिरीले बीएन्डसीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर २० करोड मागेको आरोप प्रसाईंको छ ।


आफू द्वारिकाज होटल नै नगएको भन्दै आरोपको खण्डन गर्दै आएका गिरीले प्रसाईं विरुद्ध मंगलबार मुद्दा हालेका छन् । काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानिको मुद्दा दर्ता गराएका हुन् । मिथ्या आरोप लगाई मानहानी गरेकाले बाध्य भएर अदालतमा मुद्दा दर्ता गराउनु परेको उनले बताए ।


प्रसाईंले मंगलबारै राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू पनि गिरी विरुद्ध अदालत जाने तयारी गरेको बताएका छन् । उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै उनले असन्तुष्टि जनाए ।


गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए । गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद सुरु भएको हो ।

प्रकाशित : पुस २९, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?