३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राष्ट्रिय राजनीतिमा अलि अलि जटिलता छ : दाहाल

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय राजनीतिमा जटिलता आएको बताएका छन् । चितवनको माडी नगरपालिकामा आयोजित खिचरा महोत्सव उद्घाटन कार्यक्रममा दाहालले राष्ट्रिय राजनीतिमा जटिलता आएको बताएका हुन् ।

राष्ट्रिय राजनीतिमा अलि अलि जटिलता छ : दाहाल

'कहिलेकाँही केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखा पर्छन् । काठमाडौंमा अलिअलि जटिलता छन् । मलाई समयको निक्कै दबाब थियो । जटिलता समाधान गर्नका लागि लगातार छलफल गर्नुपर्ने थियो । यस्तो बेला बाहिर नजान साथीहरुले भन्नुभएको थियो,' दाहालले भने ।


आफूलाई दबाब दिने राष्ट्रिय राजनीतिको जटिलता के हो भन्नेचाहिँ उल्लेख गरेनन् । सभामुख चयनलाई लिएर नेकपामा संघर्ष छ । दाहाल आफैंले पूर्वमाओवादीले सभामुख पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनीमाथि पूर्वमाओवादीका नेताले सभामुख छोड्न नहुने दबाब दिँदै आएका छन् । अर्कोतिर, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान लिएका छन् ।


उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू स्वतः सभामुख बन्नुपर्ने दाबी गर्दै आएकी छन् । उनले आफूलाई सभामुख नबनाउने भए उपसभामुखबाट राजीनामा नदिने अडान लिएकी छन् । उनले नेकपाको सचिवालय बैठकले पदबाट राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै हटाउन चुनौती दिएकी छन् ।


यसैबीच चितवन पुगेका दाहालले राष्ट्रिय राजनीतिमा दबाब उत्पन्न भएको बताएका हुन् । त्यसबारे आज साँझ बालुवाटारमा दुवै अध्यक्ष र अन्य नेताहरूबीच छलफल हुन लागेको छ ।


दाहालले नेपाललाई समृद्ध र सुखी बनाउने राष्ट्रिय आकांक्षाका साथ पार्टी नेतृत्व अगाडि बढेको पनि बताएका छन् । सरकार र पार्टीलाई यतिबेला अवसर र चुनौती दुवै रहेको उनको भनाइ थियो ।

प्रकाशित : पुस २९, २०७६ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?