१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस विवाद : सहमतिको प्रयास तीव्र

साँझ निधि र सिंहबीच छलफल हुँदै
मधुसुधन भट्टराई

काठमाडौँ — का‌ंग्रेसमा पछिल्लो समय बढेको सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले प्रयास तीव्र बनाएका छन् । देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि र पौडेल समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहले विवाद साँघुर्‍याएर सहमतिको आधार तयार गर्न म‌ंगलबार साँझ छलफल गर्ने पौडेल समूहका केन्द्रीय सदस्य दीलेन्द्र बडुले बताए ।

कांग्रेस विवाद : सहमतिको प्रयास तीव्र

गत आइतबार सभापति देउवाले नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटी केन्द्रीय समितले बहुमतबाट गरेका निर्णय सच्च्याउन आफू तयार रहेको बताएका थिए ।

केन्द्रीय कार्यसमितिले २०७७ मंसिर ९ गतेबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । त्यसलाई अगाडि सारेर दसैं र तिहारकै बीचबाट अधिवेशन सुरु गर्नेगरी मिलाउने प्रयास भइरहेको छ । ‘केन्द्र र प्रदेशको महाधिवेशनको मिति यथावत राख्दै बाँकी ६ तहका अधिवेशन सारेर सहमति खोज्ने प्रयास भइरहेको छ,’ स्रोतले भन्यो, ‘मंसिर ९ गतेबाट सुरु गर्ने निर्णय भएको वडा अधिवेशन दशैं र तिहारबीचबाट गर्ने गरी अनौपचारिक सहमति बनेको छ ।’

स्रोतका अनुसार १४ औं महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशनको मिति सार्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने निर्णय सच्च्याउने र विभाग बढाउने निर्णयमा सहमति खेज्न देउवा तयार भएपछि सहमतिका लागि अनौपचारिक प्रयास सुरु भएको हो ।

पौडेल र सिटौला समूहको बहिष्कारबीच सभापति देउवाले कार्यतालिकासहित १४ औं महाधिवेशनको मिति तोकेका थिए । महाधिवेशन प्रयोजनार्थ विधानका धारा ४, ३५ र ५० का केही व्यवस्था खारेज, तरुण दलको म्याद ६ महिना थप्ने र पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्‍याउने निर्णय पनि देउवाले बुहमतबाट गरेका थिए ।

विवाद समाधानमा सक्रिय एक नेताका अनुसार महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने निर्णय सच्च्याउन सभापति देउवा तयार भएका छन् । ‘अहिलेका लागि धारा निलम्बन गर्ने निर्णय फिर्ता लिने र निलम्बन गर्नु पर्ने भएमा पछि सहमतिमा केद्रीय कार्यसमिति बैठकबाट फेरि निर्णय गर्न सभापति तयार हुनु भएको छ,’ ती नेताले भने ।

विभाग बढाउने निर्णयमा पनि सहमति खोज्न संस्थापन तयार देखिएको छ । ‘अहिलेको निर्णय फिर्ता लिएर सहमतिमा बढाउन परे बढाउने, नभए विधानमा भए बमोजिमका विभागमा भागबण्डा गरेर मिलाउन गठन गर्नेगरी अनौपचारिक तयारी भइरहेको छ,’ सकभर दुवै पक्षलाई ‘विन–विन’ हुनेगरी मिलाउने प्रयासमा हामी छौं,’ देउवा समूहका नेताले भने । उनका अनुसार भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र तरुण दलको विषयमा भने सहमति जुटेको छैन ।

देउवा पक्षीय केन्द्रीय सदस्य रमेश लेखकले नेताहरुबीचको आइतबारको छलफलपछि विवाद साँघुरिएको बताए । ‘उहाँहरुबीच गहन, गम्भीर र महत्वपूर्ण छलफल भयो । त्यो बसाईले विवाद समाधान गर्ने विषयलाई सहज बनाएको छ,’ लेखकले इकान्तिपुरसित भने, ‘दुवै पक्षलाई मान्य हुनेगरी सहमति बन्छ ।’

माघ ५ गतेभित्र सहमति बन्ने नेताहरु दावी गर्छन् । ‘५ माघभित्र कांग्रेसमा देखिएको विवाद अन्त्य हुन्छ र महाधिवेशनका लागि अगाडि बढ्ने वातावरण निर्माण हुन्छ,’ एक पदाधिकारीले भने, ‘त्यसको गृहकार्य अन्तिम तयारीमा पुगेको छ ।’

पौडेल समूहका केन्द्रीय सदस्य बडूले विवाद साँघुरिएको बताए । ‘शीर्ष तहमा बहुमतका निर्णय आवश्यकताअनुसार सच्च्याउने सहमति बनेको छ, त्यहीअनुरुप पार्टी महाधिवेशन सहमतिमा गर्नेगरी सहमति जुटाउन हामी लागिरहेका छौं,’ बडूले ईकान्तिपुरसित भने, ‘उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच आज साँझ छलफल हुँदैछ । त्यसले विवाद अझ साँघुर्‍याउनेछ । २/३ दिनमा सहमति जुट्ला । र, हामी महाधिवेशनका काम गर्नतिर लाग्छौं ।’

गत मंसिर २६ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशनको कार्यतालिका समावेश नगरेको भन्दै बहिष्कार गरेको पौडेल र सिटौला समूहले पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ । पुस १७ गते बसेको राष्ट्रिय सभामा उम्मेदवार छान्ने एजेन्डा रहेको बैठक पनि असन्तुष्ट पौडेल समूहले बहिष्कार गरेका थिए ।


सम्बन्धित समाचार :

किन बल्झियो कांग्रेस विवाद ?

कांग्रेस विवाद : कहाँ छन् युवा नेता ?


प्रकाशित : पुस २९, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?