पहिलो संसद भवन भत्काउन संसदीय समितिको निर्देशन
काठमाडौँ — सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन भत्काएर 'स्टेट गेस्ट हाउस' बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक भवन भत्काएर नयाँ भवन बनाउन भनेको हो । नयाँ भवन पुरानै स्वरूपमा बनाउन पनि समितिले सरकारलाई भनेको छ ।
समिति सभापति कल्याणी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् । ‘पुरानो संसद भवन भत्काउन' र सो स्थानमा निर्माण हुने नयाँ संरचना पुरानै स्वरुपमा बनाउनू,' सभापति खड्काले दिएको निर्देशनमा लेखिएको छ ।
समिति बैठकमा सांसदहरूले भवनलाई भत्काउने कि रेट्रोफिटिङ गर्ने कि नयाँ बनाउने भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्मा र सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई जिज्ञासा राखेका थिए । सरकार उक्त भवन भत्काएर के बनाउने भन्नेमा निर्णयमा पुगिनसकेको सचिवहरूको भनाइ थियो ।
प्लास्टिकले छोपिएको अवस्थामा सिंहदरबारस्थित पुरानो संसद भवन
प्रकाशित : पुस २९, २०७६ १३:२८