४ राजदूत पद एक वर्षदेखि रिक्त

काठमाडौँ — नेताहरूको भागबन्डा नमिल्दा र परराष्ट्रले कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा नराख्दा यस्तो अवस्था आएको हो

एक वर्षयता तीन मुलुकमा नेपाली राजदूत नियुक्ति हुन सकेको छैन । थप एक मुलुकमा ‘कामचलाउ’ हैसियतमा राजदूत कार्यरत छन् । शीर्ष नेताहरूको भागबन्डा नमिल्दा र परराष्ट्र मन्त्रालयले आफ्नो कार्य सञ्चालनमा कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा नराख्दा यस्तो भएको हो ।


सेवारत राजदूतलाई ‘राजनीतिक आधारमा’ फिर्ता बोलाएपछि दक्षिण कोरिया र श्रीलंकामा पद रिक्त छ । दक्षिण अफ्रिकामा रहेका राजदूत अमृतकुमार राईलाई फिर्ता बोलाएर न्युयोर्कस्थित स्थायी प्रतिनिधिमा पदस्थापन गरिएपछि त्यहाँ पनि पद रिक्त भएको हो । अमेरिकाका लागि राजदूत अर्जुन कार्कीको पदावधि आठ महिनाअघि सकिए पनि ‘अर्को व्यवस्था नभएसम्म’ थपिएकाले कामचलाउ हैसियतमा कार्यरत छन् । तर प्रधानमन्त्री कार्यालय निकटस्थ स्रोतका अनुसार वासिङ्टनस्थित राजदूत कार्कीलाई फिर्ता हुनका लागि अघिल्लो साता मात्रै पनि अर्को चरणको सूचना पठाइएको छ । श्रीलंकामा कार्यरत राजदूत डा.विश्वम्भर प्याकुर्‍याल परराष्ट्र संयन्त्रबाट आवश्यक सहयोग नपाएको दोषारोपणसहित ६ महिनाअघि फिर्ता भएका थिए । उनी कांग्रेस कोटामा नियुक्त भएकाले नेकपाको ‘निर्देशनअनुसार परराष्ट्रले असहयोग गरेको’ पुष्टि भएको थियो ।


नेपालका विभिन्न ३० मुलुकमा राजदूतावास, राष्ट्रसंघीय ३ स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास सञ्चालनमा छन् । यीमध्ये अघिल्लो सरकारका पालामा राप्रपा कोटामा जापानका लागि राजदूत प्रतिभा राणा, ओमानका लागि तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को कोटामा शर्मिला ढकाल पराजुली र म्यानमारका लागि कांग्रेस कोटामा भीमकृष्ण उदास मात्रै अहिलेसम्म ‘थमौती’ मा छन् । तर यस बीचमा मधेसी जनअधिकार लोकतान्त्रिक र कांग्रेसबीच एकता भएपछि ओमानमा कार्यरत राजदूतले वर्तमान सत्तारूढ नेकपालाई समर्थन गर्दै पद ‘बचाउ’ गरेकी हुन् । ‘अमेरिकास्थित राजदूतको थप पदावधिका आधारमा फिर्ता हुन भनिएको हो,’ परराष्ट्रका एक कूटनीतिक अधिकारीले भने, ‘यो लटमा ओमन, जापान र म्यानमारबाट पनि राजदूत फिर्ता हुन सक्ने संकेत छ ।’


यसपछि अर्को चरणमा, अबको ६ महिनापछि जर्मनी, बेलायत, पाकिस्तान, बेल्जियम, ब्राजिल, इजिप्ट र रुससहितका मुलुकमा पनि राजदूत पद रिक्त हुँदै छ । कूटनीतिक सामान्य अभ्यास र प्रक्रियामा ६ महिनाअघि राजदूत चयन प्रक्रिया थालिनुपर्नेमा राजनीतिक पहुँच प्रभावका आधारमा नियुक्ति हुने गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हाल रिक्त रहेका कूटनीतिक नियोगमा नियुक्तिका लागि राजदूत नाम सिफारिसको प्रक्रिया छिट्टै सुरु हुने जवाफ दिए ।

प्रकाशित : पुस २९, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?