१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा

अजित तिवारी

(जनकपुर) — अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उद्योगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ ।

दिलीप हत्या प्रकरण : वडाध्यक्ष पनि शंकाको घेरामा

गत शुक्रबार बिहान धनुषाको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगरपालिका–५ का दिलीपलाई सुरुमा लिभरले घोचेर घाइते बनाएपछि टिपरले टाउको किचेर मारिएको थियो । धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरपस्ट रगतको नमुना संकलन गरेर परीक्षणका लागि सोमबार विधि विज्ञान प्रयोगशाला पठाएको छ । ‘क्रसरमा प्रहरी खटाइएको छ । रगतको टाटालाई सुरक्षित राखिएको छ,’ धनुषाका एसपी रमेश बस्नेतले भने, ‘रगतको रिपोर्ट आएपछि अनुसन्धान अलि सजिलो हुनेछ ।’


प्रहरीले टिपरका सहचालकलाई पनि खोजिरहेको छ । उनी घटनाका प्रत्यक्षदर्शी भएकाले खोजी भइरहेको हो । ‘हत्याको योजना बुन्ने र आक्रमण गर्ने समयमा पनि खलासीको उपस्थिति देखिन्छ,’ एसपी बस्नेतले भने, ‘घटनापछि ऊ फरार छ । नियन्त्रणमा लिएपछि उसले धेरै भेद खोल्छ ।’ प्रहरीले दिलीपको हत्या घटनामा वडाध्यक्ष श्यामबाबु यादव र रोशन यादवको संलग्नता रहे/नरहेकोतर्फ पनि अनुसन्धानलाई केन्द्रित गरेको छ । यादवद्वय दिलीपका साथी हुन् । शुक्रबार बिहान खोलामा जानुअघि तीनै जना चोकमा भेला भएका थिए । पछि वडाध्यक्ष यादव अन्तिम समयमा घरतिर फर्किए ।


अर्का साथी रोशन भने दिलीपसँगै खोलासम्मै पुगे । पाइल्सको शल्यक्रिया भएकाले रोशन बिस्तारै हिँडे भने दिलीप हतारिंदै खोलामा पुगेका थिए । दिलीप अघिअघि, रोशन पछिपछि । दुवैबीच दुई मिनेट जतिको दूरी थियो । तर रोशन टिपर भएको ठाउँमा पुग्दा दिलीपको हत्या भइसकेको थियो । रोशनले नै फोन गरेपछि घर फर्किएका वडाध्यक्ष श्याम खोलामा पुगेका थिए । रोशन प्रहरीको हिरासतमै छन् । घटनाबारे उनले फरक–फरक बयान दिएको र वडाध्यक्ष श्याम बहाना बनाएर खोला नगई घर फर्किएकाले उनीहरू शंकाको घेरामा रहेको प्रहरीको भनाइ छ ।


‘दिलीपको घटनामा वडाध्यक्ष र रोशनको संलग्नता कति छ, त्यो पनि खोज्दै छौं,’ एसपी बस्नेतले भने, ‘हत्यासँग सम्बन्धित सबै कोणबाट अनुसन्धान हुँदै छ । संलग्न कोही पनि कारबाहीबाट जोगिन्नन् ।’ दिलीप हत्याको सुरुवाती अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार राति खोला दोहन गर्न खटिएका क्रसर सञ्चालक र टिपर–लोडरका चालकले मादक पदार्थ सेवन गरेका थिए ।


‘राति अबेरसम्म उनीहरूले क्रसरमै खानपिन गरेको देखिन्छ,’ इन्स्पेक्टर यादवले भने, ‘दारु खाँदै खोला दोहन गर्दा रहेछन् । क्रसर सञ्चालक र टिपर चालकले पनि रक्सी खाएका थिए ।’ उनका अनुसार दिलीप खोलामा पुग्दा ‘तँ मात्र डिस्टर्ब गर्ने’ भन्दै क्रसर सञ्चालक विपिन महतोले लिभरले घोचेर घाइते बनाए । दिलीप घाइते भएर ढलेपछि विपिनले टिपर चालकलाई उक्साए । ‘तिमीसँग लाइसेन्स छ । दिलीपको शरीरमा टिपर चलाइदे,’ विपिनले टिपर चालक मुनिन्द्र महतोलाई ५० हजार रुपैयाँको लोभ दिँदै उक्साए, ‘लाइसेन्स छँदै छ । किचिदिए नि केही हुन्न । सवारी ज्यानमा धेरै सजाय हुन्न । तिमीलाई म छोडाउँछु ।’


प्रहरीलाई चालक मुनिन्द्रले दिएको प्रारम्भिक बयानमा दिलीप ढलेको स्थानसम्म टिपर ब्याक गरेर टाउको किचेको स्वीकारेका छन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार दिलीपलाई टिपरले किचिरहेका बेला उनका साथी रोशन घटनास्थल पुगिसकेका थिए । उनी त्यहाँबाट फुत्किएर गाउँतिर भाग्दै हल्ला गर्न थाले । रोशनकै हल्ला सुनेर टिपर लिएर अभियुक्तहरू क्रसरतिर भागेका थिए ।


प्रदेश सरकारको ५ लाख

प्रदेश २ को सरकारले खोला दोहन रोक्न गएका दिलीप महतोलाई हत्या गरिएकामा दुःख व्यक्त गर्दै मृतक परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । परिवारलाई राहतस्वरूप उक्त रकम हस्तान्तरण गर्ने सोमबारको मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

प्रकाशित : पुस २९, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?