कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

छाउगोठ भत्काउँदा सर्प भेटियो

‘प्रहरीले छाउगोठ भत्काइदियो भन्दै नराम्रो मानेका थियौं, यो त हाम्रै ज्यान जोगाउनका लागि रहेछ’
मेनुका ढुंगाना

अछाम — अछाममा पुस ९ गतेदेखि प्रहरी, प्रशासन, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा छाउगोठ भत्काउन थालियो । अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनाललाई लाग्यो– अब आफ्नो छाउगोठ पनि भत्काउनुपर्छ । स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उनले गोठ भत्काउने निधो गरिन् । जब उनी भत्काउन लागिन्, त्यहीबेला गोठबाट सर्प निस्कियो ।

छाउगोठ भत्काउँदा सर्प भेटियो

‘दुई दिनअघि मात्रै म त्यही गोठमा बसेकी थिएँ । प्रहरीले भत्काउनु नभनेको भए अर्कोपटक पनि त्यहीँ बस्थें,’ उनले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो ।’ प्रत्येक छाउगोठ यस्तै असुरक्षित रहेको उनको भनाइ छ । ‘प्रहरीले छाउगोठ भत्काइदियो भन्दै नराम्रो मानेका थियौं, यो त हाम्रै ज्यान जोगाउनका लागि रहेछ,’ उनी भन्छिन्, ‘छाउ नबार्दा सर्प आउँछ भन्थे, यहाँ त छाउगोठमै आयो ।’


सोमबारसम्म मंगलसेनलगायत १० पालिकाका १८ सय छाउगोठ भत्काइएको प्रहरी प्रमुख दीपक भारतीले बताए । जिल्लाका सबै छाउगोठ माघ मसान्तसम्म भत्काउने पालिकाहरूले जानकारी दिएका छन् । पालिकाहरूले स्थानीयलाई सम्झाउँदै बुझाउँदै छाउगोठ भत्काउन थालेका हुन् ।


जनप्रतिनिधिले छाउगोठमा बस्न बाध्य पार्नु कानुनविपरीत भएको भन्दै सचेत गराइरहेका छन् । छाउगोठ भत्काउन अटेर गरे कारबाही गर्न गृह मन्त्रालयबाट परिपत्र आएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।


‘१० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको बैठकले छाउगोठ भत्काउने निर्णय गरेको हो,’ उनले भने, ‘सँगसँगै जनचेतनाका कार्यक्रम पनि अघि बढेको छ ।’ माघ मसान्तसम्म कसैको घरमा छाउगोठ भए स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा रोक्ने प्रतिनिधिले बताएका छन् ।

प्रकाशित : पुस २८, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?