१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उपसभामुख तुम्बाहाङ्फेलाई नेकपा प्रमुख सचेतकले भने : पदमा बसेर बार्गेनिङ नगर्नुस्

काठमाडौँ — सभामुखको उम्मेदवार बन्नलाई पनि शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिनुपर्ने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । उनले संवैधानिक पदमा बसेर पार्टीसँग बार्गेनिङ नगर्न पनि उपसभामुखलाई सुझाव दिएका छन् ।

उपसभामुख तुम्बाहाङ्फेलाई नेकपा प्रमुख सचेतकले भने : पदमा बसेर बार्गेनिङ नगर्नुस्

नेकपा सचिवालय बैठकले शनिबार सभामुखमा पार्टीले उम्मेदवारी दिने भएकाले उपसभामुखलाई राजीनामा गर्न भनेको थियो । जसलाई तुम्बाहाङ्फेले मान्य नभएको भन्दै चुनौती दिएकी थिइन् ।

गुरुङले सोमबार पार्टी कुनै व्यक्तिको इच्छाअनुसार नचल्ने भन्दै सचिवालयको निर्णयअनुसार राजीनामा दिनुपर्ने बताएका हुन् । उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै उनले उम्मेद्वार बन्नका लागि पनि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताए । संवैधानिक संकटतर्फ मुलुकलाई नधकेल्न पनि उनले आग्रह गरेका थिए । संवैधानिक रूपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको उनको तर्क थियो ।

कसलाई उम्मेदवार बनाउने र कसलाई नबनाउने भन्ने कुरा तुम्बाहाङ्फेले गर्न नहुने र पार्टीको आग्रहअनुसार राजीनामा दिनुपर्ने गुरुङको भनाइ थियो । उनले भने, 'पदमा बसेर कुनै कुराको बार्गेनिङ गर्ने, संवैधानिक संकट निम्त्याएर बार्गेनिङ गर्ने 'फेयर पोलिटिक्स'भित्र परेन । कम्युनिस्टको नैतिकताले पनि त्यो दिँदैन ।'

'सभामुखको उम्मेदवार हुनका लागि उपसभामुख पदमा बसेर त पाउँदैन । संवैधानिक रूपले उहाँको उम्मेदवारी सही ठहँर्दैन । उम्मेदवार हुनका लागि त सांसद मात्रै हुनुपर्‍यो नि !,' उनले भने ।

व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नका लागि संसद अवरुद्ध नगर्न पनि उपसभामुखलाई उनको सुझाव थियो । 'आफ्नो इच्छाअनुसार यो पाराले निर्णय गरोस्, यो किसिमले निर्णय गरोस् भनेर त हुँदैन नि ! पार्टी त संस्थागत र सामूहिक रूपले चलाउने कुरा हुन्छ । कुनै व्यक्तिको इच्छा र आकांक्षाअनुसार पार्टी चल्नुपर्छ भन्ने त होइन नि,' उनको भनाइ थियो ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयनको विषयलाई महिला र पुरुषको विषय बनाएकोमा पनि गुरुङले असन्तुष्टि जनाए । उनले भने, 'यो महिला र पुरुषको कुरा होइन । संवैधानिक अवरोध फुकाउने कुरा हो ।'

संसदमा बहुमत भएको नेकपाले सभामुख अर्को दललाई दिन नसक्ने गुरुङको भनाइ थियो । उनले नेकपाले सभामुखमा उम्मेदवार तय गर्ने वातावरण बनि नसकेको धारणा बताएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : पुस २८, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?