कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वीपी प्रतिष्ठानकाे अक्सिजन प्लान्ट बिग्रियाे, शल्यक्रिया सेवा अवरुद्ध

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट आइतबार राति ११ बजेदेखि बिग्रेर अक्सिजन उत्पादन गर्न नसकेपछि बिरामीको शल्यक्रिया तत्कालका लागि बन्द गरिएको छ । प्रतिष्ठानका चारवटा अप्रेसन थिएटरमा जाने अक्सिजन पाइपलाइनको मुख्य पाइपलाइनबाटै अक्सिजन आपूर्ति नभएपछि बिरामीको अप्रेसन हुन नसकेको हो  ।

वीपी प्रतिष्ठानकाे अक्सिजन प्लान्ट बिग्रियाे, शल्यक्रिया सेवा अवरुद्ध

प्रतिष्ठानमा माइनर र मेजरगरी दैनिक ७० देखि ८० वटा अप्रेसन हुने गरेको छ । तर यसपटक आफ्नै अक्सिजन प्लान्टमा एक्कासि खराबी आएपछि अप्रेसन गर्न थिएटरमा छिराइसकिएका बिरामीकोसमेत अप्रेसन रद्द गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ । आकस्मिक कक्षमा र सघन उपचार कक्षमा भने अक्सिजन सिलिन्डर राखिएका छन् ।

प्रतिष्ठानजस्तो दैनिक ३५ सय बिरामी उपचारका लागि आउने, हजार बढी शैयामा बिरामी भर्ना गरेर उपचार हुने स्वास्थ्य संस्थामा अक्सिजन प्लान्टकै कारण अप्रेसन रोकिएको प्रतिष्ठान स्थापनायताको यो पहिलो घटना हो । ०६२/०६३ को जनआन्दोलन हुँदा पनि प्रतिष्ठानमा अप्रेसन थिएटर खाली राखिएको थिएन ।


प्रतिष्ठानका सर्जिकल विभागका प्रमुख डाक्टर राकेश गुप्ताले भने, ‘अप्रेसन गर्ने बेलामा अक्सिजन आपुर्ति नभएपछि अधिकांश बिरामीको अप्रेसन समय पोस्टपोन्ड गर्नुपरेको छ । प्रतिष्ठानले अक्सिजनको व्यवस्था गरेपछि फेरि अप्रेसन थिएटर चालु हुन्छ ।’ अर्का एक चिकित्सकले अप्रेसन थिएटरमा बिरामीका लागि अनिवार्य आपुर्ति गर्नुपर्ने अक्सिन नै रोकिएलगतै अस्पताल प्रशासनले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा त्यो पनि गर्न नसकेको बताए । ती चिकित्सकले भने, ‘हामी त चिकित्सक मात्र हौं । तर बिजुली, पानी, अक्सिजनजस्ता आवश्यक प्राविधिक विषयको उपचार त गर्न सक्दैनौं नि । अस्पताल व्यवस्थापन गर्न भनेर पदाधिकारीहरु छन् । हजारजना बढी त कर्मचारी मात्र छन् । विद्युत हेर्ने, तथ्यांक हुर्ने, कर्मचारी हर्ने, भौतिक पूर्वाधार हेर्ने, मेडिकल उपकरण हेर्ने विभागहरु छन् । तर खै के हेरेर बस्छन् थाहा छैन ।’

अप्रेसन थिएटर नै बन्द भएपछि बिरामी र उनीहरुका आफन्तले चिकित्सकहरुलाई बारम्बार फोन गरेर तनाव दिएको अर्का चिकित्सकले बताए । अक्सिजनले भरिएको सिलिन्डर राखेर पनि अप्रेसन गर्नुपर्ने विकल्प छ । तर प्रतिष्ठानले अक्सिजन सिलिन्डरसमेत पर्याप्त नराखेकाले मुख्य अप्रेसन थिएटरमा बिरामीको अप्रेसन गर्न नसकिएको चिकित्सकहरुले बताए ।

भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युट मेडिकल साइन्सको मोडल अनुसार प्रतिष्ठान स्थापना भएपनि व्यवस्थापन पक्ष र सरकारले प्राथमिकतामा नराखेपछि प्रतिष्ठानमा मेडिकल उपकरण बिग्रीरहने, अत्यावश्यक अक्सिजन प्लान्ट, सीटी स्क्यान, एमआरआई, भिडियो एक्सरे मेसिनमा खराबी आइरने गरेको चिकित्सकहरुले बताएका छन् ।

आइतबार राति बिग्रेको अक्सिजन प्लान्ट गत माघ २४ गते जडान गरिएको हो । भारतीय आपूर्तिकर्ता युनिषी इन्डिया (युएनएसएसआई इन्डिया) र नेपाली आपूर्तिकर्ता काठमाडौंको डाइग्नोकेनले उपलब्ध गराएको भएपनि यो समेत गरी तीन पटक बिग्रीसकेको छ । प्रतिष्ठान स्रोतका अनुसार अक्सिजन प्लान्टको कम्प्रेसर मेसिन बिग्रेको बताइएको छ । प्रतिष्ठानका इलेक्ट्रोमेड विभागका प्रमुख इन्जिनियर राहुल मिश्रले भने, ‘प्लान्टमा प्राविधिक समस्या आएको हो । बनाउने प्रयास गरिरहेका छौं । बाँकी जवाफ अस्पताल प्रशासनलाई सोध्नुहोला ।’


तीन पटक बिग्रेको अक्सिजन प्लान्ट

तत्कालिन उपकुलपति प्रा डा बलभद्र प्रसाद दासको कार्यकालमा ३ करोड २४ लाख रुपैयाँको अक्सिजन प्लान्ट आपूर्ति गरिएपनि खुला चौरमा करिब एक वर्ष डम्प गरेर राखिएको थियो । जडान गरेको भोलिपल्ट अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन जेनेरेटरमध्ये एउटाले काम नगरेपछि प्रतिष्ठानले दुवै आपूर्तिकर्ता कम्पनीहरु युनिषि इन्डिया र डाइग्नोकेनलाई सम्झौता अनुसारको अक्सिजन प्लान्ट जडान गर्न पत्राचार गरेको थियो । युनिषि र डाइग्नेकेनले ल्याइदिएको उक्त प्लान्टको अक्सिजन जेनेरेटर स्लोभाकियाको अक्सिवाइज, एयर कम्प्रेसर जर्मनको केजर, अक्सिजन बुस्टर अमेरिकाको आरआइएक्स र मेनिफोल्ड इटालीको एफडी कम्पनीले बनाएको हो ।


स्पेसीफिकेसनमा प्लान्टको उत्पादन क्षमता १६ सय लिटर प्रति मिनेट रहेको र अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने जनाइए पनि युनिषि र डाइग्नोकेनले उपलब्ध गराएको प्लान्ट बिग्रनुअघि ८ सय लिटर प्रतिमिनेट मात्र रहको थियो । काठमाडौंस्थित डाइग्नोकेनका सञ्चालक विज्ञान अर्यालले यसअघि बिग्रेको अर्को अक्सिजन जेनेरटरको जियोलाइट अझै आपूर्ति गर्न नसकेको प्रतिष्ठानले स्रोतले बतायो । सुनसरीको दुहवीमा ८० लाख रुपैयाँ लागतमा जडान गरेको दुर्गा अक्जिसन प्लान्टले पूर्वको सबै अस्पतालहरुमा अक्सिजन आपूर्ति गर्न भ्याएको बेला प्रतिष्ठानमा सवा तीन करोडको प्लान्ट जहिल्यै बिग्रने र स्पेसीफिकेसन अनुसार आधामात्र उत्पादन गर्दै आएकाले खरिद प्रक्रियामै खोट रहेको बताउन थालिएको छ ।


प्रकाशित : पुस २८, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?