कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उजुरी अब स्थानीय चौकीमै

प्रहरी चौकीले प्रारम्भिक तहको सूचना संकलन गरी थप कारबाहीका लागि माथिल्लो तहमा पठाउनेछ । पीडितले निकायपिच्छे धाइराख्नुपर्दैन । 
होम कार्की

काठमाडौँ — वैदेशिक रोजगारीका क्रममा ठगिएका र बेचबिखनमा परेका पीडितले अब स्थानीय प्रहरी चौकीमै उजुरी दिन सक्ने गरी वैदेशिक रोजगार विभाग र नेपाली प्रहरीबीच आइतबार समझदारी भएको छ । यसअघि उजुरीका लागि काठमाडौं आउनुपर्ने बाध्यता थियो ।

उजुरी अब स्थानीय चौकीमै

वैदेशिक रोजगारका नाममा हुन सक्ने मानव बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न र ठगी रोक्न दुई निकायबीच समझदारी भएको हो । समझदारीले वैदेशिक रोजगार ऐनमा छुटेका विषयमा कुन निकायले के हेर्ने भनेर प्रस्ट पारिएको छ ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगहरूलाई कारबाही गर्न काठमाडौंस्थित वैदेशिक रोजगार विभागमै धाउनुपर्ने बाध्यता हटाई घरदैलो सेवा सुरुवात गरिएको बताए । ‘पीडितलाई जहाँ पायक पर्छ, त्यहींको प्रहरी चौकीमा गएर पीडकविरुद्ध उजुरी दिन सकिने संयन्त्र बनेको छ,’ उनले भने, ‘प्रहरी चौकीले प्रारम्भिक तहका सूचना त्यहींबाट संकलन गरी थप कारबाहीका लागि माथिल्लो तहमा पठाउनेछ । त्यसका लागि पीडितले निकायपिच्छे धाइराख्नुपर्दैन ।’ उनले सबै तहको अनुसन्धान वैदेशिक रोजगार विभागसमक्ष आउनु नपरोस् भनेर निश्चित तहसम्मको अनुसन्धान स्थानीयस्तरबाटै हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

समझदारीअनुसार प्रहरी चौकीले वैदेशिक रोजगार विभागको क्षेत्राधिकार बलियो भए विभागमा पठाइदिन्छ । विभागले आफ्नो नेतृत्वमा प्रहरीसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ । तर प्रहरीको क्षेत्राधिकार बलियो भए प्रहरीको अपराध अनुसन्धान विभाग वा मानव बेचबिखन नियन्त्रण ब्युरोमा पठाइनेछ । प्रहरीले विभागसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ । म्यानपावर कम्पनी (संस्थागत) बाट हुने ठगीलाई नियन्त्रण गर्ने र पीडितलाई कारबाही गर्ने कानुन प्रस्ट छ । तर व्यक्तिगत रूपमा हुने ठगीलाई नियन्त्रण गर्ने संयन्त्र प्रस्ट छैन । जसका कारण व्यक्तिगत रूपमा ठगी गर्ने गिरोहलाई कानुनी कारबाहीभित्र ल्याउन निकै कठिन छ । ‘वैदेशिक रोजगार ऐनले कारबाहीको दायरामा ल्याउन नसकेका वा अनुसन्धान तहकिकात गर्न कानुनी व्यवस्थाले नसमेटेको विषयमा खेल्न गिरोहहरू सक्रिय थिए,’ भुसालले भने, ‘अब त्यस्ता लुपहोललाई विभाग र प्रहरीको समन्वयबाट हटाइएको छ ।’

समझदारीले संयुक्त अनुसन्धानको खाकासमेत तयार गरेको छ । ‘वैदेशिक रोजगारका लागि भनेर इजाजत नलिएका तर कन्सल्टेन्सी वा ट्राभल एजेन्सीका नाममा वैदेशिक रोजगारीको काम गरेको भए प्रहरी र विभागले संयुक्त रूपमा अनुसन्धान गर्नेछन्,’ विभागका महानिर्देशक भुसालले भने । विभागले सीमित जनशक्तिको कारण देखाएर अनुसन्धानबाट पन्छिने प्रवृत्तिलाई हटाएको उनले बताए । ‘सक्रिय गिरोहका लागि घन्टी बजेको छ,’ उनले भने ।

समझदारीले वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य हुने, बेचबिखनका जोखिमका क्षेत्र पहिचान गर्ने, आ–आफ्नो क्षेत्राधिकारका विषयहरू सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एकअर्कालाई सहयोग पुर्‍याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने र इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने वा वैदेशिक रोजगारसम्बन्धी ठगीमा संलग्न हुनेलाई कारबाही चलाउन बाटो खुलेको छ ।

प्रकाशित : पुस २८, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?