१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दिलीप हत्यामा पक्राउ परेकालाई म्याद थप

 आयोगले भन्यो– ‘प्रभावकारी न्यायिक छानबिन गर्नू’   
 सदनमा सांसदहरुले भने– ‘दोषीलाई कडा कारबाही होस्’

काठमाडौँ — दिलीप महतोको हत्या आरोपमा पक्राउ गरिएका चार जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा स्थानीय २४ वर्षीय महतोको गत शुक्रबार बिहान हत्या भएको थियो ।

दिलीप हत्यामा पक्राउ परेकालाई म्याद थप

हत्या आरोपमा पक्राउ पर्नेमा क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादव छन् । हत्याका मुख्य योजनाकार भनिएका विपिन महतोको औरही खोलामा चुरियामाई बालुवा प्रशोधन छ । उद्योग सञ्चालनका लागि मिथिला नगरपालिका–५ का वडाध्यक्ष श्यामबाबु यादवले २०७५ कात्तिक १४ मा स्थलगत मुचुल्काका आधारमा अनुमति दिन घरेलु तथा साना उद्योग कार्यालय धनुषालाई सिफारिस गरेको पाइएको छ ।


वडाध्यक्ष यादव उत्खनन रोक्ने क्रममा ज्यान गुमाएका दिलीप महतोका साथी हुन् । शुक्रबार बिहान खोलामा उत्खनन भइरहेको पहिलो खबर दिलीपले यादवलाई नै गरेका थिए । टिपरले किचेर दिलीपको हत्या भएपछि वडाध्यक्ष यादव नै खोलामा पहिला पुगेका थिए । उत्खनन रोक्न खोलामा जान दिलीपले वडाध्यक्ष यादवलाई शुक्रबार बिहान चोकमा भेट्न बोलाएका थिए । तर, घर अगाडि बेवारिसे मोटरसाइकल रहेको फोन आएपछि यादव घर फर्किए, दिलीप खोलातिर लागेका थिए । ‘खोलामा पुगेपछि दिलीपले यादवलाई फेरि फोन गरेको रहेछ,’ इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले भने, ‘तर, उनी पुग्नुअघि नै दिलीपको हत्या भइसकेको थियो ।’ घटनामा वडाध्यक्षको भूमिका शंकास्पद नदेखिएको उनले बताए ।


धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले अभियुक्तहरूसित बयान लिने क्रम आइतबार सुरु भएकाले घटनामा अरू को–को संलग्न छन् भन्ने खुल्न समय लाग्ने बताए । ‘म्याद थप भएको छ । बयान लिने क्रम पनि थालिएको छ,’ उनले भने, ‘बयानबाट धेरै कुरा खुल्छ ।’


आयोगद्वारा सरकारलाई निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले धनुषाका दिलीप महतोको हत्यामा संलग्नलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।


आयोगले आइतबार विज्ञप्ति जारी गरी यस्ता घटना दोहोरिन नदिन निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । आयोगले पनि उक्त घटनाको आफ्नो तवरबाट अनुसन्धान गर्ने भएको छ ।


यसैबीच राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षका सांसदहरूले धनुषाका युवक दिलीप महतोको शुक्रबार बिहान टिपरले किचेर हत्या गर्नेहरूलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले जथाभाबी सञ्चालित क्रसर उद्योगहरूलाई नियन्त्रण गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

विशेष समयमा बोल्दै सांसद कोमल ओलीले अवैध उत्खननको विरोध गर्ने युवकलाई टिपरले मार्नुले मानिसमा हिंसक मनोविज्ञान विकास भएको संकेत गरेको बताइन् । प्राकृतिक स्रोतको दोहन देशैभरिको समस्या रहेको उनको भनाइ थियो ।


सांसद वृषेशचन्द्र लालले घटनास्थलको मुचुल्का नउठाएर प्रहरीले गल्ती गरेको टिप्पणी गरे । सांसद प्रमिला कुमारीले सरकारका कारण नीतिगत भ्रष्टाचार र हत्या बढेको बताइन् । उनले दिलीपको हत्यारालाई कडा सजाय दिन माग गरिन् । सांसद विमला राई पौड्यालले धनुषामा भएको घटनाका दोषीलाई कारबाही गरेर र दिवंगतप्रति समवेदना दिएर मात्र अब नहुने बताइन् । ‘छाडा क्रसर उद्योग रोक्न नसके यस्ता घटना भइरहन्छन्,’ उनले भनिन् । राष्ट्रपति चुरे कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले जथाभाबी क्रसर उद्योग सञ्चालन रोक्नुपर्ने बताइन् ।

प्रकाशित : पुस २८, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?