३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पति बाकसमा आइपुगे, अन्तिम संस्कार गर्न पाइनन् पत्नीले

मकर श्रेष्ठ

काठमाडौँ — त्रिभुवन विमानस्थलमा आइतबार थाइ एयरमा आउने आफन्तलाई कुर्नेको भीडको कुनामा दुई दाजुभाई कुरा गर्दै थिए । घरीघरी आगमनतर्फको प्रतिक्षालयमा झुण्ड्याइएको मोनिटरमा विमानस्थलमा अवतरण भएको विमानको लिस्ट हेरिरहन्थे । त्यतिबेला मलेसिया र दुबईबाट आउने यात्रुको लाम थियो ।

पति बाकसमा आइपुगे, अन्तिम संस्कार गर्न पाइनन् पत्नीले

सवा १ बजे विमानस्थलमा थाइ एयर अवतरण भयो । दोलखा भिमेश्वर नगरपालिका-२ का गम्भीर र शिव श्रेष्ठ थाइ एयरलाई कुरिरहेका थिए । यही एयरमा उनका ३२ वर्षीय भाइ राजुको शव बाकसमा आउँदै थियो । चार दिन अगाडि उनको कार दुर्घटनामा मृत्यु भएको थियो ।

विमानस्थल पुग्नु भन्दा अघि भाइको लागि चिता पशुपतिमा तयार परिएको थियो । छोराको अन्तिम पटक अनुहार हेर्न ६६ वर्षीया आमा अमलापुरी श्रेष्ठ र ७३ वर्षीय बुवा विष्णुप्रसाद श्रेष्ठ दोलखाबाट चारदिन अघि नै काठमाडौं आइसकेका थिए ।


छोराको शव राखेको बाकस घाटमा पुर्‍याउने बित्तिकै आमा अमलापुरी सम्हालिन सकिनन् । ‘छोरा बैशाखमा बुहारी र नाति लिएर आउँछु भनेर फोन गरेको थियो,’ उनले भनिन्, ‘बाकसमा पो आयो ।’


मृतकका भिनाजु श्रवणकुमार श्रेष्ठ र श्रीमती सीता राईले राजुको शव बाकसमा हालेर नेपाल पठाए । तर, पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा श्रीमती र छोरा आरब भने आउन सकेनन् । सीता म्यानमारकी हुन् । उनले चाहेर पनि श्रीमानको दाहसंस्कारमा आउन सकिनन् ।

दश वर्षअघि क्लिनर भिसामा मलेसिया गएका राजु केही वर्ष कामदार भएर काम गरे । त्यसपछि आफैँ व्यापार गर्न थाले । विभिन्न कम्पनीका कामदारलाई खाना सप्लाई गर्ने श्रेष्ठले मलेसियामा रेष्टुरेन्ट समेत सञ्चालन गरेका थिए ।


नेपाली कामदारलाई नै व्यवसाय जिम्मा लगाएर अन्तिम पटक ०७४ वैशाखमा नेपाल आए । तर, कामदारको दुर्घटना भएको खबर आए लगत्तै मलेसिया फर्किए । त्यसअघि नै म्यानमारकी नेपालीभाषी सितासँग उनको विवाह गरिसकेका थिए ।

उनको १५ महिने छोरासहित श्रीमतीलाई आउँदो बैशाखमा स्वदेश फर्कने फोनमा आमा र आफन्तलाई सुनाएका थिए । उनको भक्तपुरको झौखेलमा साढे तीन तले घर बन्दैछ । ‘बैशाखमा घर सर्ने गरी बुहारी लिएर आउने भनेका थिए,’ दाई गम्भीरले भने,‘हतार हतार गरेर घर निर्माण भइरहेको थियो । उनीहरु सबै आउने कुराले हामी पनि खुसी थियौ । त्यस अघि उनको शव आइपुग्यो ।’ तीन वर्षअघि झौखेलको किनेको जग्गामा गम्भीरले नै एक करोड खर्चेर घर बनाइरहेका थिए ।

राजुको मृत्युपछि म्यानमार माइती भएकी बुहारी र डेढ वर्षीय भतिजलाई स्वदेश कसरी ल्याउने भन्ने यो परिवारमा अर्को चिन्ता छ । अर्को मुलुककी बुहारीलाई किरिया बसेको ठाउँमा राख्न समेत नपाएकोमा दुःखी रहेको उनले बताए ।

प्रकाशित : पुस २७, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?