उपसभामुख तुम्बाहाङ्फेले किन पार्टी निर्णयलाई चुनौती दिइन् ?

बबिता शर्मा

काठमाडौँ — शुक्रबार बिहान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरे ।

उपसभामुख तुम्बाहाङ्फेले किन पार्टी निर्णयलाई चुनौती दिइन् ?

ओली र दाहालले तुम्बाहाङ्फेलाई सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि राजीनामा दिन सुझाए । अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन गरेको यो पहिलो आग्रह थियो ।

र उपसभामुख तुम्बाहाङ्फेले निर्वतमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको आफू भागीदार नहुने भन्दै राजीनामा नदिने बताइन् । उनले आफू सभामुखका लागि योग्य पात्र भएको भन्दै योग्यताको लिस्ट नै अध्यक्षद्वयलाई पेस गरिन् । र, मिडियासँग भनिन्, ‘म राजीनामा दिन्नँ, हटाउने भए महाअभियोग लगाएर हटाउनुस् ।

आफूहरूको आग्रहलाई तुम्बाहाङ्फेले अस्वीकार गरेपछि सत्तारुढ दलका दुई अध्यक्ष असन्तुष्ट बने । शनिबार दिउँसो नेकपा सचिवालयको बैठक डाके । बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दियो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रतिक्रिया थियो, ‘सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ । त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुहुनेछ । पार्टीले उहाँलाई राजीनामा दिन आग्रह गरेको छ ।पार्टीले नै निर्णय गरेर तुम्बाहाङ्फेलाई राजीनामा दिन गरेको आग्रह यो दोस्रो थियो ।

नेकपाको निर्णय बाहिर आउँदाआउँदै त्यसलाई पनि उपसभामुख तुम्बाहाङ्फेले चुनौती दिइन् । उनले आइतबारको संसद बैठक आफैंले चलाउने तर राजीनामा नदिने बताइन् ।

पार्टी निर्णयलाई तुम्बाहाङ्फेले चुनौती दिएपछि आइतबार बिहान अध्यक्षद्वय ओलीदाहाल र महासचिव विष्णु पौडेलले उपसभामुख तुम्बाहाङ्फेलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर पार्टी निर्णयबारे औपचारिक जानकारी दिए । र, उनलाई राजीनामा दिन फेरि आग्रह गरे । महासचिवसहित अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई राजीनामा दिन गरेको आग्रह, यो तेस्रो थियो ।

आइतबार पनि तुम्बाहाङ्फेले अध्यक्षद्वयसहित महासचिवलाई भनिन्, ‘तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस् । म राजीनामा दिन्नँ ।

तुम्बाहाङ्फेले राजीनामा नदिने बरु संसद बैठक सञ्चालन गर्ने अडान लिएपछि अध्यक्षद्वयले उनीसँग केही समय मागे । समयकै लागि केही दिन संसद बैठक स्थगित गर्न भनेका थिए । त्यसैअनुसार उनले माघ ६ गते सम्मका लागि संसद बैठक स्थगित गरेकी छन् ।

तुम्बाहाङ्फे तत्कालीन एमालेको तर्फबाट उपसभामुखमा चयन भएकी थिइन् । आखिर पार्टी निर्णयअनुसार उपसभामुख भएकी तुम्बाहाङ्फेले किन पार्टीको निर्णयलाई चुनौती दिइन् त ?

कोही पनि व्यक्ति पार्टीभन्दा माथि हुँदैन । पार्टीले गरेका निर्णयलाई सर्वोपरी राख्नुपर्ने हुन्छ । कहिलेकाँही विभिन्न पदहरुमा रहँदा पार्टी सदस्यबाट राजीनामा दिनुपर्छ । तर त्यस्तो अवस्थामा पनि पार्टीकै मातहतमा रहेर काम गरेको छु र त्यो पद प्राप्त गरेको पनि पार्टीको कारणले हो भन्ने भुल्नु हुँदैन,’ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले इकान्तिपुरसँग भने, ‘त्यसकारण अहिले पार्टीले जे निर्देशन दिएको छ, शिवमाया तुम्बाहाङ्फेले पालना गर्नुपर्छ ।

नेता खनालले उपसभामुख तुम्बाहाङ्फेले पार्टी निर्णय नमाने पनि अब संसदको प्रक्रिया नरोकिने बताए ।

अहिले राजीनामा गर्दिनँ भने पनि उहाँले समय माग्नु भएको छ । त्यो समय हामीले दिएका छौं । संसद अधिवेशन पनि केही दिन पर सरेको छ । योबीचमा उहाँले गम्भीरतापूर्वक सोचेर पुर्ननिर्णय गनुहुन्छ । उहाँको राजीनामा आए त्यही ढंगले अगाढी बढ्छौं, नआए पनि अब प्रक्रिया स्थगित हुँदैन,’ खनालले भने ।

तर, उपसभामुख तुम्बाहाङ्फेले भने नेकपा अध्यक्षद्वयलाई राजीनामा नदिने बरु महाअभियोग लगाएर हटाउन चुनौती दिएकी छिन् ।

तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चुनौती दिएपछि नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीले निर्णय नगरुन्जेल यस विषयमा केही लेखिएन र बोलिएन । हिजो पार्टीले नै निर्णय गरिसकेको छ । धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले उपसभामुखबाट फिर्ता बेलाउने निर्णय गरिसकेको छ र सायद आज लिखित निर्देशन दिन्छ । उहाँले राजीनामा दिनुहुन्छ । किन्तु, परन्तु, भन्ने कुरै भएन । समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ, बाँकी त कुरै भएन ।

रिजालभन्दा एक कदम अगाडि बढेर नेकपाका अर्का केन्द्रीय सदस्य एवं नेकपाको भातृ संगठन युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेश ३ का दर्जनौं सासंदहरूले त माने भने तिमी को हौ पार्टी आदेश मान्दिनँ भन्ने ? खासमा नमाने पनि हुने चाहिँ सासंदहरूले हो, तिमीले होईन ! जसरी मन्त्रीहरूले माने !

कृष्णबहादुर महराको राजीनामापछि उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखको दावेदारको रुपमा पेस गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारी पनि उनलाई सभामुख बनाउने पक्षमा रहेको चर्चा नेकपा भित्रै हुने गरेको छ । राष्ट्रपति भण्डारीकै चाहनामासमेत तुम्बाहाङ्फेले पार्टीको निर्णयलाई चुनौती दिएको केही नेताहरुको विश्लेषण छ ।

त्यसबाहेक सामाजिक संजालमा आएका समर्थन र महिला नेतृहरुबाट पाएको साथले पनि उनलाई हौसाएको बुझाइ छ । योग्यता हुँदाहुँदै पनि महिला भएकै कारण नेकपाले उनलाई सभामुखमा योग्य नठानेको बहस सामाजिक सञ्जालमा भएको छ ।

तर, प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई र अर्का अध्यक्ष दाहाल अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा छन् । यही त्रिपक्षीय शक्ति संघर्षले नेकपामा सभामुख चयनको प्रक्रिया पेचिलो बन्दै गएको छ ।

प्रकाशित : पुस २७, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?