कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेस विवाद : सिटौला कतापट्टि ?

१३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका सिटौला अहिले पार्टीभित्र चेपुवामा छन् । जब भागबन्डाको कुरा उठ्न थाल्छ, तब देउवा र पौडेल एक–अर्कालाई देखाउन थाल्छन् । 

काठमाडौँ — कांग्रेस नेता गोपालमान श्रेष्ठले केही दिनअघि सभापति शेरबहादुर देउवासँग उनकै निवास बूढानीलकण्ठमा एउटा प्रश्न तेर्साए, किन तपाईं पूर्वमहामन्त्री कृष्ण सिटौलालाई नेता बनाउनुहुन्छ ? के हैसियतमा उनलाई पदाधिकारी बैठकमा बोलाउनुहुन्छ ?’

कांग्रेस विवाद : सिटौला कतापट्टि ?

देउवाले ठाडो शैलीमा जवाफ फर्काए, ‘ऊ मसँग चुनाव लड्यो नि त !’

श्रेष्ठले थपे, ‘त्यसो भए म पनि तपाईंविरुद्ध चुनाव लड्छु ।’

देउवा रिसाए, ‘जानुस्, लड्नुस् ।’


सिटौलाभन्दा आफू सिनियर भएको तर्क गर्दै श्रेष्ठले पदाधिकारी बैठकमा आफूलाई नडाकिएकामा देउवासँग तीतो पोख्दाको प्रसंग हो ।


०७५ चैत २२ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको विषयमा छलफल गर्न देउवाले आफ्नै निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौलासहितका नेतालाई बोलाएका थिए । पौडेलले कार्यसम्पादन समितिमा आफ्नो पक्षलाई ४० प्रतिशत दिनुपर्ने माग राखे । त्यसमा सिटौला परेनन् । पौडेलले सिटौला तपाईंतिरै पर्नुहुन्छ है भने । देउवाले मतिर होइन, तपाईंतिरै हो भने । सिटौला झोक्किएर बाहिरिए । आफ्नो अपमान गरेको भन्दै उनले आफू कोहीतिर नरहेको प्रतिक्रिया दिए । ‘म देउवा र पौडेल दुवैतिर छैन । मेरो आफ्नै स्थान छ । कसैको अस्तित्व समाप्त पारेर बजारका खसी–बोकाजस्तो भाउ गर्न मिल्दैन,’ त्यतिबेला सिटौलाले कान्तिपुरसँग भनेका थिए ।

०००

कांग्रेसको पछिल्लोपटक चर्केको विवादको जड पनि धेरै हदमा सिटौला कतातिर भन्नेसँग जोडिएको छ । गत मंसिर २७ मा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नौवटा एजेन्डा प्रस्तुत हुँदा केन्द्रीय महाधिवेशनको कार्यतालिका परेन । पौडेल पक्षले त्यसैलाई कारण बनाएर बैठक बहिष्कार गर्‍यो । सिटौलाले बैठक बहिष्कार र बहुमतबाट बैठक सञ्चालन गर्ने दुवै कदमको तत्काल विरोध गरे । देउवा महाधिवेशनको कार्यतालिकासहित केन्द्रीय विभाग, नेविसंघको गठन र तरुण दलको म्याद थप तथा कार्यसमिति विस्तारको एजेन्डामा पौडेलसँग ‘प्याकेज’ मै सहमति जुटाउन तयार भए । यसका लागि उपसभापति विमलेन्द्र निधिलाई खटाए । पौडेलले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा हृदयराम थानी र दिलेन्द्र बडू रहेको वार्ता समिति नै बनाए । सिटौलाले अर्कै पार्टीसँग छलफल गर्नेजस्तो गरी वार्ता समिति बनाइएको भन्दै असन्तुष्टि जनाए ।


दुवै पक्षको वार्ता समितिमा महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप र तरुण दलको म्याद थप तथा कार्यसमिति विस्तारका विषयमा मोटामोटी सहमतिजस्तै बनेको थियो । तर नेविसंघको भागबन्डामा कुरा अड्कियो । संघको तत्कालीन कार्यसमितिमा सिटौला पक्षको बलियो उपस्थिति थियो । त्यही हैसियतमा सिटौलाले आफ्नो प्रतिनिधित्वको चाहना राखेका थिए । साठी र चालीसको भागबन्डामा उनी कहाँनेर पर्ने भन्ने मुख्य द्वन्द्व नै चल्यो । पौडेल पक्षले पदाधिकारी र सदस्यहरूमै चालीस प्रतिशतको माग गरेको थियो । संस्थापनले साठी प्रतिशत नछाड्ने अडान लियो । सिटौलालाई कसले समेट्ने भन्ने विवाद उठ्यो । १३ औं महाधिवेशनमा देउवासँगै रहेकाले पौडेल पक्ष चालीस प्रतिशतको हिस्साभित्र सिटौला समूह नपर्ने तर्क गर्छ । उसैगरी आफूसँग अलग भएर संस्थापनइतर पक्षमा जोडिसकेको कारण देखाउँदै सिटौला पौडेल पक्षमा रहेको देउवाको तर्क छ । यस्तैमा कुरा नमिलेपछि देउवाले बहिष्कारबीच पुस ११ मा बहुमतबाट महत्त्वपूर्ण निर्णयहरू गरे ।


पुस ११ को केन्द्रीय कार्यसमितिको निर्णयमा सिटौला पौडेल पक्षसँगै छन् । तर उनले आफ्नो समूह छुट्टै हो भन्ने सन्देश दिन चाहेको देखिन्छ । पौडेल र महामन्त्री शशांक कोइराला निवासमा भएका छलफलमा नगई सिटौलाले बहुमतको निर्णय सच्याउनुपर्ने मागसहित देउवालाई पुस १५ मा छुट्टै पत्र बुझाएका थिए । संस्थापनइतर पक्षीय जिल्ला सभापतिको भेलामा भने उनी सहभागी भए ।


महाधिवेशनको कार्यतालिका, कार्यविधि र विधानका दफा निलम्बन बहुमतको आडमा गरिएको भन्दै सिटौला सभापति देउवाप्रति आक्रोशित छन् । पार्टी संरचनाका विषयमा भने बारम्बार झेल्नुपर्ने भागबन्डाको कचिंगलका कारण उनले विधानको बाटो समात्न खबरदारी गरेका छन् । विभाग र नेविसंघ गठन विधानअनुसार हुनुपर्ने उनको तर्क छ ।


चार वर्षअघि सम्पन्न १३ औं महाधिवेशनमा सिटौला निर्णायक शक्ति थिए । देउवा, पौडेलसँगै उनले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । तीन प्रतिस्पर्धीमा पहिलो चरणमा ५१ प्रतिशत कसैले ल्याउन नसकेपछि सिटौला बाहिरिए । पहिलो र दोस्रो मत प्राप्त गर्ने देउवा र पौडेलबीचको प्रतिस्पर्धामा उनी देउवाको कित्तामा उभिए । सिटौलाकै सहयोगले देउवा सभापति बन्न सफल भए । करिब दुई वर्षको सहकार्यपछि सिटौलाले देउवाको कित्ता छाडे । चुनावमा आफूलाई सोध्दै नसोधी समानुपातिक सूचीमा राखिएकोमा उनको असन्तुष्टि थियो । देउवाको पार्टी सञ्चालनको कार्यशैलीलाई समेत उनले मन पराएनन् । चुनावमा हारेलगतै उनी इतर समूहमा आइपुगे ।


पछिल्ला दुई वर्ष मुद्दाका हिसाबले उनी पौडेलसँगै देखिन्छन् । आधा दर्जनजति भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनमा पौडेल र सिटौला पक्षको गठबन्धन बन्यो । दुइटाको गठबन्धनकै कारण अधिवेशन भएका सबैजसोको नेतृत्व इतरपक्षमा पुग्यो । देउवाले त्यसपछि अधिवेशन गराउनसमेत खोजेनन् । करिब दर्जनभन्दा बढी भ्रातृसंस्था वर्षौंदेखि तदर्थवादमा चल्दै आएका छन् । पौडेल र सिटौलबीचको सहकार्य पनि अविश्वासले बढी झेलिएको छ । पौडेल र सिटौलालाई एउटै धारमा ल्याउन अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापा र प्रदीप पौडेल नलागेका होइनन् । तर उनीहरूबीच सम्बन्ध न्यानो छैन । सिटौलाकै कारण आफू सभापति हुन नपाएको ‘तुष’ पौडेलमा अझै छ । मौका परे फेरि देउवासँगै मिल्ने हो कि भन्ने आशंका पनि उनमा देखिन्छ ।


दुवै पक्षसँग जोडिन नसक्नुका पछाडि उनका आफ्नै बाध्यता पनि छन् । केन्द्रीय राजनीतिमा चिनिएका अनुहार उनका पछि कम छन् । गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं, भीमसेनदास प्रधान र उमाकान्त चौधरी उनका मुख्य खम्बा हुन् । थापा र पौडेल अहिले वरिष्ठ नेता पौडेलसँग निकट देखिन्छन् । आसन्न १४ औं महाधिवेशनमा देउवालाई पार्टी सभापतिबाट रोक्नका लागि पौडेल–सिटौलालाई एक ठाउँमा ल्याउने उनीहरूको कसरत जारी छ । हुमागाईं, प्रधान र चौधरी सभापति देउवातर्फ बढी झुकाव राख्छन् । ‘त्यसैले पनि सिटौला अहिले आफ्नै समूह नछाड्ने मुडमा देखिनुभएको हो,’ उनीनिकट एक केन्द्रीय सदस्यको भनाइ छ, ‘अर्कोतर्फ सिटौलामा पौडेलप्रति विश्वास पटक्कै छैन । चाीलस प्रतिशत पाउनासाथ देउवासँग मिलिहाल्छन् भन्ने उहाँलाई परेको छ ।’


त्यसो भए सिटौला के गर्लान् त ? फेरि पनि सभापतिमै उम्मेदवारी देलान् या उपसभापतिमै चित्त बुझाउलान् ? संस्थापनइतर पक्षका धेरैजसो नेताहरू पौडेललाई बारम्बार सुझाव दिन्छन्– पहिला सिटौलालाई मिलाउनुस् । सभापति देउवालाई उनीनिकट सदस्यहरूले दिने सुझाव पनि उस्तै छ– सिटौलालाई मिलाउनुस् । दुवै पक्षका नेताहरूको बुझाइमा आगामी महाधिवेशनमा पनि सिटौला ‘किङमेकर’ हुन सक्छन् भन्ने छ, जसरी उनी १३ औं महाधिवेशनमा थिए ।


सिटौलाले पार्टीभित्रको अहिलेको परिस्थितिलाई ‘घरमूलीले खाइरहने र अरूले हेरिरहने’ दृश्यसँग चित्रण गरे । ‘घरमूलीको काम त सबैलाई मिलाउने हो, घर भत्काउने होइन । घर भत्किँदा छिमेकीले त मान्दैनन् भने अरू कसले मान्छ ?’ सिटौलाले भने, ‘म सिद्धान्त, नीति र विचारका आधारमा गर्नुपर्छ भन्छु । उहाँहरू (देउवा–पौडेल) भागबन्डाको कुरा गर्नुहुन्छ ।’


अब तपाईं कतातिर हो त भन्ने प्रश्नमा उनले भने, ‘मुद्दाका हिसाबले हामी (पौडेल समूह) एकै ठाउँमा छौं ।’ अहिले सिटौला आफैं पनि पर्ख र हेरको स्थितिमा छन् । उनलाई नजिकबाट नियाल्नेहरू फेरि सभापतिमै प्रतिस्पर्धा गर्ने सम्भावना कम रहेको बताउँछन् । तर पार्टीभित्र कसलाई सघाउने भन्नेमा उनको दृश्य अझै प्रस्ट भइसकेको छैन । धेरैको बुझाइमा उनी कोइराला परिवारसँगै जोडिन चाहेका छन् । त्यसमा पनि शेखर कोइराला उनको पहिलो रोजाइ हुन् । त्यसको संकेत उनले पुस २१ मा धनकुटामा आयोजित कार्यक्रममा दिएका थिए । सिटौला र शेखरले एउटै मञ्चबाट सभापति देउवाको कार्यशैलीको कडा विरोध गरेका थिए ।

प्रकाशित : पुस २७, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?