कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सभामुख चयन अन्योलमै

उपसभामुखलाई राजीनामा गर्न नेकपा सचिवालयको निर्देशन
बिनु सुवेदी

काठमाडौँ — सत्तारूढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेकाले बैठक बोलाउने/नबोलाउने अन्योल बढेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

सभामुख चयन अन्योलमै

‘नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनावी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो सुरु गर्न पनि सकिन्छ ।’


यसअघि दुईपटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो । तर नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आइतबारको बैठक सकेसम्म सूचना टाँसेर स्थगित गर्नु नपरोस् भन्ने सोचिएको नेकपा महासचिव विष्णु पौडेलले बताए । ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन तर अहिलेसम्मको प्रगति हेर्दा आइतबार सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ला,’ उनले भने ।


यसका लागि आइतबार ज्येष्ठ सदस्यले बैठक चलाउने र उम्मेदवार मनोनयनका लागि साता दिनजति समय दिने गरी प्रक्रिया अघि बढाउने विकल्पबारे सोचिएको संसद् सचिवालय स्रोतको भनाइ छ ।


संसद्मा बहुमतका आधारमा सभामुख नेकपाकै हुने अवस्था छ । तर उपसभामुख र सभामुख एउटै दलको हुन नहुने संवैधानिक प्रावधान भएकाले यो प्रक्रिया सुरु हुनुअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्नेछ । उनले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि उपसभामुखबाट राजीनामा दिने सम्भावना छ । कान्तिपुरसँगको कुराकानीमा भने तुम्बाहाङ्फेले आफूले राजीनामा दिनेबारे सोचिनसकेको बताइन् । ‘मेरो नेकपा अध्यक्षहरूसँग कुरा भइसकेको छैन, कुराकानीपछि औपचारिक धारणा भन्नेछु,’ उनले भनिन्, ‘अहिलेसम्मको अवस्थामा भोलि संसद् बैठक चल्छ । सभामुखको चुनावी प्रक्रिया मैले सुरु गर्छु ।’ उनले यही कुरा शुक्रबार दुवै अध्यक्षलाई समेत भनेकी थिइन् । उनले भनेजस्तै आइतबार उनैले सभामुखको चुनावी प्रक्रिया सुरु गरे संविधानको व्यवस्थाअनुसार नेकपाले सभामुखमा उम्मेदवार दिन पाउने छैन ।


उनलाई उपसभामुख बनाएको नेकपाले भने राजीनामा गराउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । नयाँ सभामुखको उम्मेदवार को हुन्छ भन्नेबारे भने कुनै छलफल नभएको श्रेष्ठले बताए । ‘शनिबार यही एउटा मात्रै निर्णय भयो, उपसभामुखज्यूको राजीनामा आएपछि उम्मेदवारबारे छलफल होला,’ श्रेष्ठले भने ।


महासचिव पौडेलले पनि शनिबारको बैठकमा सभामुखबारे छलफल नभएको बताए । ‘व्यक्तिबारे छलफल भएन,’ पौडेलले भने, ‘तर तपाईंहरूले गज्जबको उम्मेदवार छान्नुभएछ भन्ने गरी उम्मेदवार तय गर्छौं ।’


पौडेल र श्रेष्ठको भनाइलाई आधार मान्ने हो भने नयाँ सभामुख को हुने भन्ने विषयमा अध्यक्षद्वयबाहेक अरूबीच छलफल भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई भावी सभामुखका रूपमा अघि सारिरहेका छन् । उनको दोस्रो रोजाइ तुम्बाहाङ्फे हुन् । तुम्बाहाङ्फेले आफूलाई सभामुखको स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत गरेकी पनि छन् । उनलाई नेकपाका नेतृत्वबाहेक अरूको समर्थन छ । दाहालको पहिलो रोजाइ नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा हुन् । तुम्बाहाङ्फेका बारेमा समेत प्रधानमन्त्री लचिलो देखिएपछि दाहालले स्थायी समिति सदस्य पम्फा भुसालको नामसमेत सभामुखमा अघि सारेको स्रोतहरूको भनाइ छ ।


बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीले उपसभामुखसँग शुक्रबार भएको भेटबारे नेताहरूलाई करिब आधा घण्टा ब्रिफिङ गरेका थिए । ‘त्यसपछि पहिले उपसभामुखले राजीनामा दिएपछि उहाँसहित सबै उम्मेदवारबारे छलफल गरौं भनेर हामीले यो निर्णय गरेका हौं,’ सचिवालय स्रोतले भन्यो, ‘तर सचिवालयमा उम्मेदवारको नाम नआउने र अध्यक्षद्वयले टुंगो लगाउन पनि नसक्ने हुँदा सभामुखको अन्योल अझै बढ्ला जस्तो छ ।’


प्रकाशित : पुस २७, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?