१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अबको मुख्यसचिव को ?

बलराम बानियाँ

काठमाडौँ — छ महिना अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो । गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले समेत मुख्यसचिव हुने बाटो खुलेको मानिएको थियो ।

अबको मुख्यसचिव को ?

मुख्यसचिव निजामती प्रशासनका ७१ जना विशिष्ट श्रेणी (सचिव) लाई संयोजन गर्ने, सरकारका तर्फबाट निर्देशन दिने तथा मन्त्रिपरिषद् बैठकमा कुन एजेन्डा पेस गर्ने र कुन नगर्ने भनेर निर्णय गर्ने आकर्षक पद हो । मन्त्रिपरिषद्मा सरकार प्रमुखको निकट भएर काम गर्नुपर्ने भएकाले मुख्यसचिव प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति नै हुनुपर्ने भएकाले स्वाभाविक रूपमा ओलीको प्रमुख रोजाइमा राई थिए ।


सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गरी निजामती प्रशासनको नेतृत्व सुम्पने तयारीसमेत सुरु गरेको थियो । प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत हुने मुलुक रोज्नसमेत आग्रह गरिसकेका थिए । ‘राईको उमेरका कारण पूरै तीन वर्ष मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री ओली राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका हुन्,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । ५८ वर्षे उमेर हदका कारण राई एक वर्षभन्दा कम समय मात्र मुख्यसचिव हुन्थे ।


राईले सचिवको ५ वर्षे पदावधि पूरा गरी आगामी माघ २१ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै एकै दिन बढुवा भएका सचिवत्रय गजेन्द्रकुमार ठाकुर, रामकुमार आचार्य, राजन खनालले समेत सोही दिन अवकाश पाउने छन् । राईसँगै १७ जना सचिवमा बढुवा भएका थिए । अरूले ५८ वर्षे उमेर अवधि पुगी यसअघि नै अनिवार्य अवकाश पाइसकेका छन् ।


मुख्यसचिव हुने चर्चा सेलाए पनि राईलाई प्रधानमन्त्री ओलीले अर्को आकर्षक पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले ६५ वर्ष उमेर पूरा गरी आगामी असोज २८ मा अवकाश पाउँदै छन् । राईलाई सचिवबाट अवकाश हुनासाथ सुरुमा अख्तियारको आयुक्तमा नियुक्त गर्ने र घिमिरेले अवकाश पाएपछि प्रमुख आयुक्त बनाउने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले उल्लेख गरेको छ । अख्तियारमा हाल दुई आयुक्त पद रिक्त छन् । राई मुख्यसचिव बन्ने सम्भावना लगभग सकिएपछि रेग्मीपछि निजामती प्रशासनको नेतृत्वमा को पुग्ला भन्ने चासो उठ्न थालेको छ ।


राई पछाडिको दोस्रो वरीयताका वरिष्ठ सचिवमा केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा, महेश दाहाल र शंकर बैरागी छन् । दाहालले ५८ वर्ष उमेर पुगी आगामी जेठमा अवकाश पाउँदै छन् । राईसहितका चार जनाले अवकाश पाएपछि मुख्यसचिव रेग्मीलाई बीचैमा कुनै आकर्षक पदमा नियुक्त गरेर पद खाली गराइयो भने अधिकारी, सापकोटा र बैरागीमध्ये एक मुख्यसचिव हुनेछन् । रेग्मीलाई तीनवर्षे कार्यकाल पूरा हुनुअगावै बिदा गरिएन भने यी चार जनाको मुख्यसचिव हुने ढोका बन्द हुनेछ । २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त रेग्मीको तीनवर्षे पदावधि आगामी कात्तिक ३ मा पूरा हुँदै छ । सचिव अधिकारी, सापकोटा, दाहाल र बैरागीले आगामी असोज २२ मै ५ वर्षे पदावधि पूरा गरी अवकाश पाउने छन् । उनीहरू २०७२ असोज २३ मा सचिवमा बढुवा भएका हुन् । उनीहरूसँग एकै दिन बढुवा भएका अरू ५ जनाले ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाइसकेका छन् ।


मुख्यसचिव रेग्मी तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश हुँदा सचिव चन्द्रकुमार घिमिरे सबभन्दा वरिष्ठका नाताले निजामती प्रशासनको नेतृत्वको स्वाभाविक दाबेदार हुनेछन् । उनी २०७२ माघमा सचिवमा बढुवा भएका हुन् । उनीसँगै बढुवा भएका अरू तीन सचिव शशिशेखर श्रेष्ठ, महेन्द्र गुरुङ र शंकर कोइरालाले ५८ वर्ष पूरा गरी यसअघि नै अनिवार्य अवकाश पाइसकेका छन् । ‘रेग्मीले तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएका दिन घिमिरे सबभन्दा वरिष्ठ सचिव हुनेछन् । उनीसँगै सचिव भएका अरूले अवकाश पाइसकेका छन् । वरिष्ठका नाताले उनी नै मुख्यसचिव हुने प्रबल सम्भावना रहनेछ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । सबभन्दा वरिष्ठ सचिवहरूबाट मुख्यसचिव बनाउने प्रचलन छ ।


सरकारले एकैपटक पदोन्नति भएकामध्येबाट वरिष्ठताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्ने गरे पनि पछिल्लो लटका सचिवबाट भने बढुवा गरेको उदाहरण छैन । सरकारले घिमिरेलाई बनाउन चाहेन भने मुख्यसचिवलाई एक महिना पहिल्यै बिदामा पठाएरसमेत अधिकारी, सापकोटा र बैरागीमध्ये एकलाई मुख्यसचिव बनाउन सक्नेछ ।


प्रकाशित : पुस २७, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?