३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

इराकबाट फर्काइए ३० नेपाली

होम कार्की

काठमाडौँ — इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० जना नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो ।

इराकबाट फर्काइए ३० नेपाली

अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड) मा कामदार आपूर्ति गर्ने कम्पनीहरूले विदेशी कामदारलाई स्वदेश फर्काइरहेका छन् । ‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्कन इच्छुक हो/होइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ,’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ने सूचीमा परिहालें ।’


परिस्थितिअनुकूल भएपछि बोलाउने भनिएको उनले बताए । कम्पनीले अवस्था हेरेर पठाउने र बोलाउने प्रक्रिया चलिरहन्छ । ‘वर्षमा सामान्यत: चार पटकसम्म बिदा पाइन्छ, तर त्रिभुवन विमानस्थलबाट सहजै जान नपाउने भएकाले फर्किएको थिइनँ,’ उनले भने । ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गर्दै आएका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ । ‘कतिखेर के हुन्छ भनेर टुंगो नहुने । दूतावासले सुरक्षाको सबै उपायहरू अपनाएको हुँदा भित्रै बम/बारुद पड्किने त होइन, तैपनि कम्पनीले जोखिम लिन चाहेन,’ उनले भने ।


कामदार पठाउन होल्ड

इरान–अमेरिकाबीच तत्काल युद्ध नहुने परिस्थिति बन्दै गएपछि इराकमा रहेको अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना कामदार स्वदेश पठाउने कार्यलाई स्थगन गरेको छ । अमेरिकाबाट मारिएका इराकी पूर्वराष्ट्रपति सद्दाम हुसेनको गृहक्षेत्र सलादिन प्रान्तमा रहेको वलदा अमेरिकी सैन्य क्याम्पमा कार्यरत ३० नेपालीलाई अर्बिलमा ल्याएर राखिएको थियो । ‘इरानले आक्रमण गर्ने सूचना पाएपछि अमेरिकी सेनालाई सुरक्षित मानिएको अलअसाद एयरबेस र अर्बिल एयरबेसमा सारिएको थियो । हामीलाई पनि बुधबारै अर्बिलकै होटलमा ल्याएर राखिएको हो,’ एक नेपालीले कान्तिपुरलाई भने ।


इरानको मिसाइल आक्रमणमा परेको अलअसाद एयरबेस क्याम्पमा कार्यरत कामदारलाई समेत पठाइएको छैन । अलअसादमा नौ नेपाली कार्यरत छन् । ‘जतिखेर पनि जानुपर्छ भन्दै सूचना आएको थियो, हामीले नेपाल जाने सोच बनाइसकेका थियौं,’


झापाका दीपक क्षेत्रीले भने,‘अहिलेचाहिँ ड्युटीमा छौं । बुलेटप्रुफ ज्याकेट र टोपी लगाउन दिइएको छ ।’


बग्दादकै ग्रिन जोन (अन्तर्राष्ट्रिय क्षेत्र) मा कार्यरत कम्पनीहरूले कामदारका नामावली संकलन गरे पनि कसैलाई फर्काइएको छैन । ‘इच्छुकको नाम टिपे, मैले बुधबारै टिपाएको हुँ । अहिलेसम्म फर्काएनन्,’ रोल्पाका सुकबहादुर घलेले भने, ‘कम्पनीहरू पर्ख र हेरको स्थितिमा छन् ।’


त्रास हट्यो

काभ्रेकी जेसिका तामाङ शुक्रबार १२ बजे अर्बिलको होलीसारदामस्थित होलीनवरज हलमा पुग्दा झन्डै दुई सयभन्दा बढी नेपाली थिए । नेपाल मगर संघ कुर्दिस्तानको सांस्कृतिक कार्यक्रममा पुग्दा उनले नसोचेको माहोल पाएकी थिइन् । ‘खतरा छ भन्दै नेपालबाट फोन आइरहेको थियो । यहाँ हामीलाई सहजै छ । कार्यक्रममा आइपुगेका सबै साथी विन्दास देखिन्थे,’ उनले भनिन्, ‘एक सातादेखि तनाव थियो, अब डर भाग्यो ।’


दुई वर्षदेखि अर्बिलमा उनी काम गर्ने होटलमा इरानी, इराकी र नेपालीहरू छन् । बेनी–३ म्याग्दीका मेघबहादुर गर्बुजा अढाइ घण्टाको यात्रा गरेर दोहकबाट अर्बिल आइपुगेका थिए । ‘बाटोमा कुनै सुरक्षा खतरा भएन,’ उनले भने । उनीसहित ७० जना नेपाली कामदार एउटै कम्पनीमा कार्यरत छन् । दोहकमा मात्रै झन्डै २ हजार नेपाली छन् । ती सबै एजेन्टमार्फत पुगेका हुन् ।


प्रकाशित : पुस २६, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?