ट्युसनको तनाव

एलपी देवकोटा

(जुम्ला) — खलंगाको माइनस ८ डिग्रीको चिसो । बिहान ५ नबज्दै कालेखोलीमा विद्यार्थीको चहलपहल सुरु भइसक्छ । एसईईमा सहभागी हुने विद्यार्थी यतिबेला चिसोको फिक्री नगरी ट्युसन पढ्न धाइरहेका छन् । 

ट्युसनको तनाव

जिल्लाका अधिकांश विद्यालयमा वार्षिक औसत सय दिनभन्दा बढी पढाइ हुँदैन । नियमित पढाइ नहुँदा कोर्स अपुरै हुन्छ । त्यसैले विद्यार्थी ट्युसनको भर पर्ने गरेका हुन् । ट्युसन पढ्नेको भीडका कारण सदरमुकाम खलंगामा दुई महिना निकै चहलपहल हुने गरेको छ । अहिले खलंगा बजार विद्यार्थीले भरिभराउ छ । जिल्लाका सबै स्थानीय तहका विद्यार्थी सदरमुकाम आसपासका क्षेत्रमा ट्युसन पढ्न आएका छन् ।


यहाँका अधिकांश निजी र विद्यालयका शिक्षकले सदरमुकाममा ट्युसन सेन्टर सञ्चालन गरेका छन् । ‘स्कुलमा राम्ररी पढाउँदैनन्, कोर्स पनि कहिल्यै पूरा हुँदैन,’ भण्डारीबाडाकी एक छात्राले भनिन्, ‘राम्रो ग्रेड ल्याउन हामीले ट्युसन पढ्नैपर्ने बाध्यता छ ।’ उनका अनुसार सामुदायिक विद्यालयमा आठ महिनामा नसकिने कोर्स ट्युसन सेन्टरमा दुई महिनामै सकिन्छ ।


पढ्न आउनेको चापका कारण यहाँका ट्युसन सेन्टरमा एउटै कक्षामा सय जनाभन्दा बढी विद्यार्थी कोचाकोच गरेर पढ्छन् । जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी नेत्रविक्रम शाहीले आधा घण्टा हिँडेर बिहानै ट्युसन पढ्न आउने गरेको बताए । ठन्डीमा बिहानै पढ्न आउँदा बिरामी पर्नेहरू पनि छन् । ‘स्कुलमा पूरा पढाइ हुने भए कसले पढ्थ्यो ट्युसन,’ उनले भने, ‘बाउआमालाई ऋण लिन लगाएर पनि ट्युसन नपढी भएको छैन ।’


पुसको अन्तिम साता रत्नचुडेश्वर माविका शिक्षकले विद्यार्थीलाई आफ्नो ट्युसन सेन्टरमा पढ्न नआए एसईई परीक्षामा समस्या हुने चेतावनी दिएका थिए । एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका भरले उनले अहिले खलंगामा अंग्रेजी, गणित र विज्ञान विषयको ट्युसन कक्षा लिइरहेका छन् । शाहीका अनुसार विद्यालयमै पढाउने शिक्षकले खलंगाका ट्युसन सेन्टरमा कक्षा लिइरहेका हुन् । उनले एउटा विषयको मासिक दुई हजार रुपैयाँ शुल्क तिरिरहेको बताए ।


एसईईका विद्यार्थी मात्र होइन, जिल्लामा कक्षा ६ देखि नै ट्युसन पढ्ने ‘फेसन’ छ । विद्यालयमा प्रथम हुने विद्यार्थीसमेत ट्युसन कक्षामा सहभागी हुने गरेको स्थानीय निमप्रसाद देवकोटाले बताए । ‘साना कक्षाका विद्यार्थीलाई समेत ट्युसनको भर लाग्न थालेको छ,’ उनले भने, ‘झट्ट निकाल्न नसक्नेले पनि ऋण लिएर छोराछोरीलाई ट्युसन पढाउन बाध्य छन् ।’ विद्यालयमा नियमित पठनपाठन भए ट्युसन संस्कृति निरुत्साहित हुने उनको भनाइ छ ।


कक्षा ६ देखि नै ट्युसन पढाउँदा विद्यार्थीमा विकृति बढेको तातोपानीका अभिभावक जय शाहीले बताए । ‘जेठो छोरालाई एसईईको तयारीका लागि खलंगामा ट्युसन पढ्न पठाएँ, कक्षा ६ मा पढ्ने छोरीले म पनि पढ्छु भनेर दैनिक जिद्दी गर्न थालेपछि नपठाई सुखै पाइएन,’ उनले भने, ‘अहिले छोरीलाई पनि खलंगामा ट्युसन पढाउन पठाएको छु ।’


जुम्लामा बिहान ५ देखि राति ९ बजेसम्म ट्युसन कक्षा सञ्चालन हुन्छन् । विद्यालयमा मुस्किलले ५ घण्टी पढाउने शिक्षकले ट्युसनमा १२ घण्टासम्म समय दिने गरेका छन् । रिनीको सरस्वती माविका शिक्षक राजेन्द्र खत्रीले ब्राइट फ्युचर ट्युसन सेन्टर खोलेका छन् । जाडीभीड स्कुलका प्रधानाध्यापक भीम थापाले डाइनामिक ट्युसन सेन्टर सञ्चालन गरिरहेका छन् । उनी ट्युसन सेन्टर सञ्चालन गरेयता बर्सेनि एसईई परीक्षामा महतगाउँस्थित जनता माविको सहायक केन्द्राध्यक्ष हुन्छन् ।


जनता मावि महतगाउँका विज्ञान शिक्षक विजय पालको पनि ट्युसन सेन्टर छ । आफ्नो सेन्टरमा पढ्न नआए प्रयोगात्मक नम्बर कम दिन्छु भन्दै उनले विद्यार्थीलाई धम्क्याउने गरेको गुनासो बढिरहेको छ । उनीहरू मात्र होइन, खलंगा र आसपासका क्षेत्रमा सञ्चालन भएका ट्युसन सेन्टरका अधिकांश सञ्चालक माविका शिक्षक नै छन् ।


केहीले कोठाभाडा लिएर पढाइरहेका छन् भने अधिकांश ट्युसन सामुदायिक विद्यालयका भवनमा हुन्छ । सरस्वती मावि रिनीका अर्का शिक्षक जयशंकर धितालले न्यु भिजन ट्युसन सेन्टर सञ्चालन गरी आफ्नैमा पढ्न आउन दबाब दिने गरेको विद्यार्थीको गुनासो छ ।


पुस र माघ महिनामा खलंगामा विद्यार्थीको चाप धेरै हुने गरेको छ । चापसँगै विकृति पनि बढेको सरोकारवाला बताउँछन् । मेरिस्टोप सेन्टर जुम्लाको तथ्यांकअनुसार अन्य समयभन्दा दुई महिनामा गर्भपतन गराउनेको संख्या पनि धेरै छ । गर्भपतन गराउनेमा धेरैजसो एसईई दिने किशोरी हुने गरेको सेन्टरले जनाएको छ ।


ट्युसन सेन्टरको नियमनका लागि शिक्षा विकास तथा समन्वय इकाईले समेत बेवास्ता गरिरहेको अभिभावकको गुनासो छ । खलंगामा ट्युसन सिजनमा विद्यार्थी असुरक्षित हुने गरेको गुनासो पटकपटक स्थानीय प्रशासनमा पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार यो समयमा छात्रा बढी असुरक्षित हुने गरेका छन् । उनले ट्युसन सेन्टरको अनुगमन गर्न र व्यवस्थित गर्न इकाईलाई निर्देशन दिइएको जानकारी दिइन् । ‘सर्वपक्षीय बैठक बसेर ट्युसन सञ्चालकलाई परीक्षामा निरीक्षक नराख्नेलगायत विषयहरूमा छलफल गर्ने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘विद्यालयमा नपढाउने शिक्षकलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक प्रक्रिया थालिने छ ।’


परीक्षामा कडाइका साथै विद्यालयको पठनपाठनबारे नियमित अनुगमन गर्न जरुरी रहेको उनले बताइन् । सामुदायिक विद्यालय स्थानीय सरकार मातहत रहेकाले जनप्रतिनिधिको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस २६, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?