खेत र गाउँ बचाउन चाहन्थे दिलीप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेत र गाउँ बचाउन चाहन्थे दिलीप

अवैध उत्खनन‌्‌काे विराेध गर्दा टिपरले किचेर हत्या
सन्तोष सिंह

धनुषा — भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)को शुक्रबार बिहान टिपरले किचेर हत्या गरियो । महतो दुई साताअघि मात्र कलेज बिदामा घर फर्केका थिए । महतो बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिए ।

गाउँमा मिलनसार र लोकप्रिय युवा दिलीप राजनीतिमा रुचि राख्थे । छिमेकी संजयकुमार महतोका अनुसार दिलीप गाउँमा हुने विवादहरु मिलाउन पनि अग्रसर हुन्थे । दिलीपका साथी एवं स्थानीय विद्यालयका शिक्षक कमलेश सिंहकाअनुसार दिलीपले पछिल्लो २ वर्षयता गाउँनजिकैको औरही खोलामा भइरहेको उत्खननकाे विरोध गरिरहेका थिए ।


नदीमा गरिने उत्खननले श्रीपुर वरपरका उब्जाउ खेत खोलाले कटान गर्ने र गाउँमा बाढी छिर्ने भन्दै दिलीप निरन्तर यसको विरोधमा थिए । उत्खननकाे विरोध गरेकै कारण उनको पटक–पटक ठेकेदारहरुसँग विवाद भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव बताउँछन् ।


उनलाई धम्की आउनु सामान्यजस्तै भएको आफन्त बताउँछन् । चिनजानकै व्यक्तिले धम्की दिँदा उनी वास्ता गर्दैनथे । दिलीपका दाई वीरेन्द्रकुमार महतो नदी उत्खननकाे विरोध गरेकै कारण उनको हत्या भएको बताउँछन् । ‘उसलाई धम्की र प्रलोभन आइरहेका थिए,’ उनले भने, ‘ठेक्दारहरुले घरमै आएर धम्की र प्रलोभन दिन्थे । क्रसर सञ्चालकले मोटर साइकल खरिद गरिदेने प्रलोभन दिए । तर, ऊ न धम्कीबाट डरायो न प्रलोभनमा पर्‍यो । विरोध गर्न छोडेन ।’


दिलीपले गत वर्ष खोलामा भएको उत्खननबारे जनकपुरका पत्रकारलाई बोलाएरसमेत देखाएका थिए । सञ्चारमाध्यममा उत्खन्नको खबर आएपछि केही दिन कारोबारी काम बन्द पनि भयो । सञ्चारकर्मीको समेत साथ पाएका महतोलाई क्रसर व्यवसायी र निर्माण व्यवसायी संयुक्त रुपमा मिलाउन चाहन्थे ।


केही महिनाअघि छठ मनाउन घर आउँदा पनि दिलीपको क्रसर व्यवसायीहरुसँग विवाद भएको थियो । दुई साताअघि घर आएका उनी औरही खोलामा राति डोजर प्रयोग गरी भइरहेको उत्खनन रोक्ने अभियान चलाउन चाहन्थे । तर, उनलाई सहयोग गर्ने कोही थिएन ।


दिलीपले खोलामै पुगेर उत्खनन नगर्न आग्रह गरेपछि उनका बुबा रामजीवन महतोलाई क्रसर सञ्चालक विपन महतोले टिपरले किचेर ज्यान मार्ने धम्की दिएको दाजु वीरेन्द्रले बताए ।


शुक्रबार बिहान घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि साथी रोशन यादवसँग खोलातर्फ गएका थिए । त्यहीँ उनलाई टिपरले किचेर हत्या गरिएको साथी रोशनले गाउँमा आएर जानकारी गराएका थिए । दिलीपको किचेर हत्या गरेको ना ७ ख ६४१३ टिपर र चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण गरिएको टिपर घटनास्थलबाट २ सय मिटर दुरीमा रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगको रहेको प्रहरीले जनाएको छ ।


महतोको हत्यापछि विपन महतोसहितका बालुवा प्रशोधनका सञ्चालकहरु फरार छन् । दिलीपको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ ।


सम्बन्धित समाचार :

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या

प्रकाशित : पुस २५, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

युवक हत्याको विरोधमा उत्रिएका स्थानीयमाथि हवाई फायर

सन्तोष सिंह

धनुषा — युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि हवाई फायर गरी प्रहरीले राजमार्ग खुलाएको छ । अवैध रुपमा भइरहेको उत्खनन्‌को विरोध गर्दा मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेपछि स्थानीयले टायर बालेर राजमार्ग बन्द गरेका थिए ।

आफूहरुसँग सल्लाह नगरी र मुचुल्का नगरी शव उठाएको भन्दै मृतकका परिवारले शवको पोस्टमार्टम गर्न दिएका छैनन् । प्रहरी पनि क्रसर उद्योगसँगै मिलेको परिवारले आरोप लगाएका छन् ।

शुक्रबार बिहान साथीसँग मर्निङवाकमा गएका बेला औरही खोलमा उनलाई टिपरले किचेर हत्या गरेको थियो ।
मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

दिलीपकुमार महतो भारतको भोपालमा इन्जिनियरिङ पढ्दै आएका थिए । उनी गाउँका हुने गरेको अवैध उत्खनन्‌को लामो समयदेखि विरोध गर्दै आएका थिए ।

प्रकाशित : पुस २५, २०७६ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×