कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दानको रकमले ‘विलासी गाडी’

लुम्बिनी विकास कोषका उपाध्यक्षका लागि १ करोड ५८ लाख मूल्य रहेको जापानको मित्सुबिसी ‘पजेरो स्पट’ किन्न लागिएको छ
मनोज पौडेल

(लुम्बिनी) — टिकट बिक्री, श्रद्धालुले गर्ने दान र चन्दा लुम्बिनी विकास कोषका मुख्य आम्दानी हुन् । उपासक, तीर्थालु र पर्यटकले दान नगरे कोषको प्रशासनिक काम ठप्प हुन्छ । कर्मचारीले तलबभत्ता पाउँदैनन् तर कोषले यसरी संकलित रकमबाट उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका लागि पजेरो गाडी खरिद गर्न लागेको छ । जापानमा निर्मित गाडीको मूल्य १ करोड ५८ लाख रुपैयाँ पर्ने बताइएको छ । 

कोषले गाडी खरिदका लागि गत मंसिर १५ गते पत्रिकामा ‘ई–बिडिङ’ का लागि सूचना प्रकाशन गरेको थियो । सूचनामा १ करोड ५८ लाख मूल्य रहेको जापानको मित्सुबिसी ‘पजेरो स्पट’ गाडी चाहिएको उल्लेख छ । सूचना प्रकाशन भएको ३० औं दिनमा निओन मोटर प्रालि काठमाडौंले कोषले उल्लेख गरेको भन्दा २ रुपैयाँ कममा प्रस्ताव पेस गरेको छ । अहिलेसम्म एउटामात्र कम्पनीले फारम भरेको हो । उक्त गाडी बजारमा आएको एक महिना पनि भएको छैन । २४७७ सीसीको पजेरो वातानुकूलित, अत्याधुनिक प्रविधि र सुविधायुक्त रहेको वेबसाइटमा उल्लेख छ ।


महँगो गाडी खरिद गर्न लागेको कोषका कर्मचारीले मन पराएका छैनन् । ‘चन्दा सहयोग उठेन भने कर्मचारी पारिश्रमिक पाउँदैनन्,’ कोषका एक कर्मचारीले भने, ‘यत्रो विलासी गाडी किन चाहियो !’ उनले गाड ी खरिदको विरोधमा देखिने गरेर उत्रिन गाह्रो रहेको बताए । कोषमा अहिले ६ वटा गाडी छन् । उपाध्यक्ष त्रिपाठी टक्सन चढ्छन् । कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य कियाको स्पोटेज प्रयोग गर्छन् । निमित्त सदस्य–सचिव तथा योजना प्रमुख सरोज भट्टराई स्कार्पियो चढ्छन् । सदस्य–सचिवका लागि रहेको अर्को स्कार्पियो अहिले पद रिक्त भएकाले काठमाडौंस्थित सम्पर्क कार्यालय प्रमुख ज्ञानिन राई चढ्छन् । अन्य कार र पिकअप कार्यालय प्रयोजनका लागि प्रयोग भइरहेका छन् ।


उपाध्यक्ष त्रिपाठी चढिरहेको टक्सन गाडी पुरानो भएपछि नयाँ गाडी खरिद गर्न लागिएको कोषको भनाइ छ । उपाध्यक्षले इच्छा जाहेर गरेपछि प्रक्रिया अघि बढाएको कोष स्रोतले बतायो । कोष सञ्चालन समिति (बोर्ड) ले गाडी किन्ने निर्णय गरिसकेको छ । उक्त निर्णयमा कुन गाडी र कति मूल्यको किन्ने भन्ने उल्लेख छैन । त्रिपाठीलाई २०७५ साउन १० गते सरकारले पाँच वर्षका लागि उपाध्यक्षमा नियुक्त गरेको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीबाट पहिलो राजनीतिक नियुक्ति उनले पाएका हुन् । त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी सरकारले उनलाई २०७४ मंसिर १४ मा उपाध्यक्षमा नियुक्त गरेको थियो । चुनावपछि ओली नेतृत्वको सरकारले २०७५ असार २१ मा उनलाई पदमुक्त गरेको थियो भने २० दिनपछि पुन: नियुक्त गरेको थियो । ‘मासिक पारिश्रमिक नपाउने सरकारी नियुक्ति छ,’ एक कर्मचारीले भने, ‘सुविधा भने उच्चस्तरको खोज्नु राम्रो हैन ।’ यसले शान्तिका अनुयायी हुँ भन्नेप्रति नकारात्मक सन्देश गइरहेको ती कर्मचारीले बताए । उपाध्यक्ष त्रिपाठीले कार्यालय प्रयोजनका लागि गाडी किन्न लागिएको बताए । ‘लुम्बिनीमा भीभीआईपी मुभमेन्ट हुन्छ,’ निमित्त सदस्य–सचिव सरोज भट्टराईले भने, ‘त्यसका लागि यस्तो गाडी आवश्यक छ ।’ उपाध्यक्ष चढ्ने गाडी धेरै बिग्रिने हुँदा उनका लागि नयाँ खरिद गर्न लागिएको कोषका सदस्य अम्रिका कोहारले बताए ।


पजेरोका लागि परेको टेन्डरको मेकानिकल इन्जिनियरको सहयोग लिएर प्रारम्भिक मूल्यांकन गरिएको कोषका लेखा अधिकृत नवलकिशोर यादवले बताए । टेन्डर डकुमेन्टअनुसार विस्तृत मूल्यांकन ठीक भए पजेरो किन्न पत्रिकामा आशयपत्र निकालिने उनले बताए । आन्तरिक स्रोतबाट पजेरो खरिद गर्न लागिएको यादवले बताए ।


गत आर्थिक वर्षमा मायादेवी मन्दिर प्रवेश टिकट बिक्रीबाट नौ करोड रुपैयाँ संकलन भएको थियो । विभिन्न व्यक्ति र संस्थाबाट दुई करोड रुपैयाँ चन्दा उठेको थियो । अन्य आम्दानी चार करोड रुपैयाँ थियो ।

प्रकाशित : पुस २५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?