जीर्ण राजभवनकी ‘जेठीकान्छी’

राजभवनमा आएपछि उनले खासै काम गर्नुपरेन । नोकरचाकरले सबै काम निप्ट्याउँथे । त्यसबेला बिहान र बेलुका सासूको चरण छुनु अनिवार्य थियो । झिलीमिली भवनभित्रै सबै सुविधा उपलब्ध हुन्थ्यो ।
मधु शाही

(बाँके) — मुख्य द्वारमा लेखिएको छ, ‘राजभवन ।’ गेटभित्र पस्नेबित्तिकै घाँस उम्रिएको देखिन्छ । भवनका भित्ता मक्किएर काला भएका छन् । लेउ, झारपात, वर र पीपलका टुसा पलाएका छन् । लाग्छ– यसले वर्षौंदेखि स्याहार पाएको छैन । यो त्यही भवन हो, कुनै बेला राणा परिवारको सान र मान थियो । 

जीर्ण राजभवनकी ‘जेठीकान्छी’

आँगनमा पुग्दा छतमा एक वृद्धा झुल्किइन् । टोपी, कालो चस्मा र स्विटर लगाएर गोजीमा हात लुकाउँदै उभिएकी उनको अवस्था भवनकै जस्तो लाग्थ्यो, वृद्ध । म पुरानो काठको भर्‍याङ चढेर उनलाई भेट्न माथिल्लो तला पुगेँ । ‘के काम थियो ?,’ ८८ वर्षीया बोधकुमारी शमशेर राणाले ठाडो शैलीमा सोधिन् । ‘तपाईंसँग भलाकुसारी गर्न आएको’ भनेपछि झोक्किँदै भनिन्, ‘जो आउँछ, कुरा गर्छ, जान्छ । हामीलाई के फाइदा ?’


ससुरा राजशमशेर राणाका ७ भाइमध्ये कान्छोमाथिको छोरा (अमृतशमशेर राणा) की पत्नी भएकाले उनलाई परिवारमा ‘जेठीकान्छी’ भनेर चिनिँदो रहेछ । उनले परिवारले बोलाउने आफ्नो नामबाट कुरा सुरु गरिन् । राजभवनबारे बताउन उनले भवनवरिपरि घुमाउन थालिन् । उप्किएका, चिरा परेका र झारपात पलाएका भित्ता देखाउँदै भनिन्, ‘ऊ यस्तै छ राजभवनको हाल ।’


पावरवाला कालो चस्माले भावुक आँखा छोप्दै उनी एकैछिन मौन रहिन् । बोधकुमारी अर्थात् जेठीकान्छीको साइनो राजभवनसँग गहिरो छ । त्यसैले उनी कसैले भवनको कुरा सोध्दा बढी भावुक हुन्छिन् । सन् १९३४ मा निर्माण भएको राजभवनभन्दा उनी तीन वर्षले जेठी भएको जानकारी दिइन् । राणा खानदानमा बेहुली भई भित्रिँदाको त्यो राजभवन र अहिले आकाश–जमिनको फरक छ, उनको उमेर जस्तै । जेठीकान्छीको जवानी र भवनको जवानी सँगसँगै बुढो हुँदै गयो । कुनै बेला दुवै जवान थिए ।


नेपालगन्ज फुलटेक्रा–६ माइत भएकी उनी १४ वर्षको उमेरमा राणा परिवारकी बुहारी भइन् । २००४ सालमा बिहे गरेकी उनको बाल्य, जवानी, अधबैंस र बुढ्यौली यहीँ बित्यो । फुलटेक्रा उति बेला नेपालगन्जको मुख्य सहर थियो । हुलाकी सडक जोडिएकाले यही बाटो हुँदै छिमेकी भारत व्यापार गर्न जाने–आउनेको चलहपहल थियो । अहिले रहेको सुर्खेत रोड, धम्बोजी चोक र नेपालगन्जका आधाजसो भाग जंगलै जंगलले भरिएका थिए । फुलटेक्रा उतिबेला सहरी क्षेत्र भएकाले यहीं भवन बनाउन राजशमशेर राणाको मञ्जुरी भएको उनले सुनाइन् ।


मल्ल परिवारमा जन्मिएकी बोधकुमारीले ससुरा राजशमशेरबारे सुनेकी मात्रै थिइन् । ‘उतिबेला छोरीलाई बाहिर घुमफिर गर्न दिइने चलन थिएन,’ भन्छिन्, ‘दुई/चार अक्षर घरमै सिकाउन गुरु आउँथे । बाहिर कहिलेकाहीँ हिँड्नुपरे एक्का, टाँगामा जानुपर्थ्यो । त्यसमा पनि अनुहार देखिन्छ भनेर पर्दा लगाइएको हुन्थ्यो ।’


त्यस बेला राणाले ठकुरीकी छोरीलाई बिहा गर्ने चलन थियो । ठकुरीको पहाडमा धेरै बसोबास थियो । नयाँ बस्ती बसेकाले यहाँ ठकुरीका छोरी खोज्न चुनौती थियो । राणाको छोराले बिहे गर्ने सुन्दा त्यो दिन बोधकुमारी खुसीले गदगद थिइन् । ‘उतिबेला छोरीको अन्तिम लक्ष्य नै बिहे गर्नु हो जस्तै थियो,’ उनले भनिन्, ‘सम्पन्न, खान्दानी परिवार पाएपछि जीवन सुखी हुन्छ, ठानिन्थ्यो ।’


भवनको जग हालेको केही महिनामै ३२ वर्षे राजशमशेरको मृत्यु भएको उनले सुनाइन् । त्यसपछि राजशमशेरकी पत्नी जगतकुमारीले भवन निर्माण पूरा गरेकी थिइन् । बोधकुमारीका अनुसार सासूको नेतृत्वमा राजभवन चलेको थियो । ४ बिघामा बनेको राजभवनमा कति कोठा छन्, उनको उमेरले भुल्न थालेको छ । ‘२२, २३ कोठा हुनुपर्छ,’ भन्छिन्, ‘झन्डै सय जना अटाउने भवन थियो पहिले ।’ नोकरचाकर, धाईआमाहरू, भण्डारे, पाले, माली गरी सय जनाको हाराहारीमा राजभवन भरिभराउ हुन्थ्यो । राजभवनमा आएपछि उनले खासै काम गर्नुपरेन । नोकरचाकरले सबै काम निप्ट्याउँथे । त्यसबेला बिहान र बेलुका सासूको चरण छुनु अनिवार्य थियो । झिलीमिली भवनभित्रै सबै सुविधा उपलब्ध हुन्थ्यो । बगैंचामा देवरानी–जेठानी भेट भएर गफ गर्नुबाहेक अरू केही काम नभएको उनले सम्झिइन् ।


बोधकुमारीको जीवन अहिले ठीक उल्टो घुमेको छ । राजभवनमा कहिल्यै कुचो नसमाएकी उनी अचेल आफ्नो कोठा सफा नगरी बस्दिनन् । छोरा–बुहारीसँगै बसेकी उनी सकेसम्म घरको काम आफैं गर्दै आएकी छन् । राजभवनभित्रको सुखले उनलाई जीवनको गहिरो भाव बुझाएको छ । भन्छिन्, ‘सुखपछि दु:ख पाउनुभन्दा दु:खपछि सुख पाउनु भाग्यमानी ठान्न थालेकी छु ।’


उनले राजभवन रङरोगन गर्ने पैसा अभाव भएको सुनाइन् । राजशमशेरका ७ छोरामध्ये सबै बितिसकेका छन् । १७ नाति र १४ नातिनी छन् । संयुक्त परिवार चलिरहेको छ तर यसको मर्मतसम्भारमा कसैलाई चासो नभएको देख्दा बोधकुमारी खिन्न छिन् । छतको केही भागमा पानी चुहिने समस्या छ । ‘नातिनातिनालाई वास्ता छैन, हामी बुढाबुढी भयौं,’ उनी भन्छिन्, ‘कसले गर्दिने रङ ?’ राजभवनको ऐतिहासिक महत्त्व भने उस्तै छ । एकताका फिल्म सुटिङ गर्न आउनेको घुइँचो नै थियो । शुल्क तिरेर सुटिङ गर्छु भन्ने, पछि नदिने प्रवृत्ति देखेपछि उनले खिच्न दिनै छाडिन् । ‘फिल्म खिच्छन्, उल्टै फोहोर बनाएर छोडिदिन्छन्,’ उनले भनिन्, ‘अहिले कसैलाई खिच्ने अनुमति दिएकी छैन ।’

नेपालगन्जनिवासी नरेन्द्रशमशेर राणाका अनुसार राजशमशेर राणा रुद्रशमशेरका साइँला छोरा र वीरशमशेरका नाति हुन् । जुद्धशमशेरले गद्दी सम्हालेपछि रुद्रशमशेरलाई पाल्पाको गभर्नर बनाई पठाएका थिए । कमान्डर इन चिफ तथा फिल्ड मास्टर रुद्रशमशेरले पाल्पामै शासन गरे । राजशमशेरका नाति नरेन्द्रशमशेर हुन् । हाल उनको परिवार नेपालगन्जमा बस्दै आएको छ ।


नेपालगन्ज र राणाहरूको साइनो

नेपालगन्ज र राणा इतिहासबीच गहिरो सम्बन्ध छ । सन् १९१५ मा भारतमा भएको सिपाही विद्रोह दमन गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इस्ट–इन्डिया कम्पनीलाई सहयोग गरे । त्यसैबापत सुगौली सन्धिबाट गुमेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८५७ मा नेपाललाई फिर्ता गरियो । ऊबेला यी जिल्लालाई नयाँ मुलुक भनिन्थ्यो ।


विभिन्न कालखण्डमा काठमाडौंबाट निष्कासन भएका राणाहरू नेपालगन्ज आएर बस्न थालेको देखिन्छ । नेपालगन्ज उपमहानगरका मेयर धवलशमशेर राणाका अनुसार नेपालगन्जमा राणा वंशका तीन परिवार आएर बसोबास गरेका थिए । जो जंगबहादुर, देवशमशेर र रुद्रशमशेरका खलक हुन् । जंगबहादुरका परिवार नेपालगन्जको पुरैनीमा बस्न थाले । त्यस्तै, रुद्रशमशेरका दुई छोरा राजशमशेर र मेघशमशेर फुलटेक्रामा बसोबास गरे । राजशमशेर बर्दियाका गभर्नरसमेत भए । राजशमशेरले बस्नका लागि राजभवन बनाए भने मेघशमशेरले मेघालय । मेघालय भवन अहिले प्रयोगविहीन छ ।


मेयर धवलशमशेर देवशमशेर राणाका वंशज हुन् । त्यतिबेला राणाहरूको काठमाडौंपछिको दोस्रो रोजाइ नेपालगन्ज हुने गरेको उनले सुनाए । ‘जिजु हजुरबुबा मन्सुरीशमशेरले काठमाडौंमा बस्न नपाएपछि नेपालगन्ज रोज्नुभएको थियो,’ धवलशमशेरले भने । उनका अनुसार जिजु हजुरबुबा यहाँ आउनुको मुख्य कारण रुपैडिया (भारत) मा चल्ने रेल र नेपालगन्जमा पाइने टाँगा सुविधा थियो । उतिबेला रेलको डिब्बामा बसेपछि जोकोही पनि भारतको जुनसुकै ठाउँ पुग्न सकिन्थ्यो । त्यस्तै, यातायातको सुविधा नभएका बेला नेपालगन्जमा टाँगा चल्थे । उद्योगपति रहेका मन्सुरीशमशेरले तीनवटा ठूला मिल सञ्चालन गरेका थिए ।


‘जिजु हजुरबाले भनेअनुसार नेपालगन्ज त्यसबेला काठमाडौंपछिको दोस्रो ठूलो सहर थियो,’ धवलले सुनाए, ‘पछि पूर्वमा राजमार्ग खुल्दै गएपछि यहाँको विकास हराउँदै गयो ।’

प्रकाशित : पुस २५, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?