कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिरामी ठग्दै ‘अन्तिम विकल्प’

बिनु सुवेदी

काठमाडौँ — ५० वर्षीय केसाङ (परिवर्तित नाम) भरतपुर क्यान्सर अस्पताल चितवनमा एक साता बसेर गत आइतबार ललितपुर गोदावरीको घर फर्किए । अन्तिम चरणमा पुगेको आन्द्राको क्यान्सर शल्यक्रिया गरे पनि निको नहुने भएपछि अब उनीसँग उनकै शब्दमा ‘मृत्यु पर्खिनु’ को विकल्प छैन । 

बिरामी ठग्दै ‘अन्तिम विकल्प’

रोग पत्ता लाग्नेबित्तिकै उपचार गराउन अस्पताल पुगेको भए उनी छिट्टै निको हुन्थे तर उनी ‘बिना अपरेसन क्यान्सर निको पार्छौं’ भन्ने प्रचारको पछि लागे । शरीर डामाडोल भयो ।


करिब १७ महिनाअघि केसाङले आफ्नो आन्द्रामा क्यान्सर भएको पत्ता पाएका हुन् । डाक्टरले तुरुन्तै उपचार गरे रोग छिट्टै निको हुने पनि भनेका थिए । तर उनलाई शल्यक्रियासँग डर लाग्यो । उनले शरीर चिर्दै नचिरी सन्चो हुने उपचार पद्धतिबारे सुनेका थिए । सुरुमा त उनले बिमारबारे परिवारका सदस्यलाई पनि भनेनन् । गल्दै गएर करिब सात महिनाअघि उनले परिवारलाई बताउँदा उनको क्यान्सर स्टेज २ मा थियो ।


उनका छोरा सोनम (परिवर्तित नाम) भन्छन्, ‘बुबाले शल्यक्रियाभन्दा सजिलो केही उपाय छ भने बुझौं न भनेपछि हामीले इन्टरनेटमा खोज्यौं ।’ शल्यक्रिया नै नगरी रोग निको पार्छौं भन्दै प्रचार गरिरहेको ललितपुरको ढोलाहिटीस्थित ‘अन्तिम विकल्प’ मा सोनम बुबालाई लिएर गए । उनले अन्तिम विकल्पका सञ्चालक सुवास सुब्बालाई भेटेर बिमार र त्यसको उपचारबारे परामर्श गरे । सुब्बाले अन्तिम विकल्पलाई अस्पताल दाबी गर्दै गरेको प्रचार फेसबुक र युट्युबमा छ्यापछ्याप्ती छ । त्यहाँ उपचार गराएर निको भएका भनिएका ‘बिरामी’हरूलाई सुब्बा आफैंले भेटाइदिए । सबैको कुरा र दाबी सुनिसकेपछि सोनमलाई लाग्यो, ‘शल्यक्रिया नै नगरी दसै महिनामा उपचार हुने यो त गज्जबको ठाउँ रहेछ ।’


उनीहरूले त्यही उपचार सुरु गरे । सुब्बाले क्यान्सर निको पार्ने भन्दै आफ्नै क्लिनिकमा उत्पादन गरेको चमत्कार नामक औषधि चालु गराए । महिनाको ४५ हजार तिरेर किनेको त्यो औषधि केसाङले लगातार चार महिनासम्म खाए ।


तर रोगले च्याप्दै लग्यो, दुखाइ बढ्दै गयो, उनी शिथिल बने । आयुर्वेदिक भनिएको उक्त क्लिनिकबाट ल्याएको औषधिले सञ्चो नहुने देखिएपछि सोनमले बुबालाई अस्पताल लगे । त्यति बेला आन्द्राको क्यान्सर दिमागसम्म फैलिएको थियो । अहिले केसाङको आन्द्रा बन्द भएको छ । दिसा निस्किने बाटो नभएर पेट फुलेको छ । किमोथेरापीको माध्यमबाट जहिलेसम्म चल्छ, उनको जिन्दगी त्यत्ति नै हो ।


बेस्सरी पेट दुख्न थालेपछि ललितपुर कुसुन्तीकी सानु थापा गत जेठमा प्रसूति गृह थापाथलीमा जँचाउन पुगिन् । उनलाई क्यान्सरले छोइसकेको रहेछ । टेलिभिजन र युट्युबमा जस्तोसुकै रोग निको पार्ने र त्यसका लागि शल्यक्रिया पनि गर्नु नपर्ने प्रचार हेरेकी उनी अन्तिम विकल्पमा पुगिन् । त्यसका सञ्चालक सुब्बाले उनीसँग १० महिनामै क्यान्सर निको पारिदिने ग्यारेन्टी गरे । महिनाको ४५ हजारमा तीनथरी औषधि खानुपर्ने बताए । यो हिसाबमा सानुले ३ लाख १५ हजार रुपैयाँ औषधिका लागि मात्रै खर्च गरेकी छन् । सातौं महिनामा पुग्दा सानुको क्यान्सर झन् फैलियो, दुखाइ बढ्न थाल्यो । उनी आत्तिइन् । सुब्बाले मुख नबारेकाले औषधिले काम नगरेको भन्दै उल्टै गाली गरे । अहिले क्यान्सर रोग विशेषज्ञको सरसल्लाहमा उनको उपचार भइरहेको छ । तर यो सात महिनामा सानुको क्यान्सर दोस्रो स्टेजबाट चौथो स्टेजमा पुगेको छ ।


धादिङकी ४७ वर्षीया सुन्दरी तामाङ र उनको परिवार सोमबार अत्तालिँदै काठमाडौं क्यान्सर अस्पताल भक्तपुर पुग्यो । नाकको पछाडिको भागमा सुरु भएको क्यान्सर फैलिएर दिमाग र देब्रे आँखामा पुगिसकेको छ । उनी पनि युट्युब र फेसबुक हेरेर अन्तिम विकल्प पुगेकी थिइन् । १० महिनासम्म त्यहींको चमत्कार नामक औषधि खाइन् । तर बिमार झन्झन् बढ्दै गएपछि तामाङलाई सोमबार अस्पताल पुर्‍याइएको छ ।

काठमाडौं क्यान्सर अस्पतालमा मात्रै सुरुमा यस्ता गलत प्रचारवाला ठाउँमा पुगेर रोगले असाध्यै चर्को भएपछि आएका ६ जना बिरामी छन् । सबै क्यान्सरको स्टेज ४ का बिरामी हुन् । ‘क्यान्सर पत्ता लाग्नेबित्तिकै उपचार गर्न पाएको भए अहिलेसम्म उनीहरू तन्दुरुस्त भइसक्थे,’ अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीले भने ।

000

सामाजिक सञ्जालहरूमा विज्ञापन हेरेर ‘अन्तिम विकल्प’ मा दैनिक ५० हाराहारी बिरामी पुग्छन् । सञ्चालक सुब्बाकै दाबीअनुसार त्यहाँ उपचार गर्न पुग्नेमध्ये ८० प्रतिशत क्यान्सरका बिरामी र १० प्रतिशत एचआईभी संक्रमित छन् । उनी ती सबैलाई निको पारेको दाबी गर्छन् ।


सबै रोगका बिरामीलाई एउटै औषधि दिने उक्त क्लिनिकले बिरामी उपचारका नाममा १४ वर्षदेखि यो अवैध धन्दा चलाइरहेको छ । कतै दर्ता नगरी क्लिनिक चलाएको भन्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले कारबाही गर्ने बताएपछि एक महिनाअघि उक्त कम्पनी ‘अन्तिम विकल्प पोलिक्लिनिक’ का रूपमा दर्ता भएको छ । ‘त्यहाँ ठगी हुन्छ भन्ने थाहा पाएपछि हामी अनुगमनमा गयौं,’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनु शाक्यले भनिन्, ‘उनीहरू सबै विधि पुर्‍याएर दर्ता प्रक्रियामा आए ।’ उनले दर्तापछि उक्त क्लिनिकले के गरिरहेको छ भन्नेबारे आफूहरूले खोजी नगरेको बताइन् ।


क्लिनिक सञ्चालक सुब्बा भने त्यही क्लिनिकलाई अस्पताल बनाउने ध्याउन्नमा छन् । ‘मैले यति राम्रो काम गरेको छु, यहाँ आउने क्यान्सरका १०० रोगीमध्ये ९९ जनालाई निको पारेर पठाउँछु, पाँच वर्षदेखि एचआईभीको औषधि गरेर पूरै निर्मूल पारेको छु,’ सुब्बाले कान्तिपुरसँग भने, ‘तर सरकारले मेरो प्रतिभा चिनेन ।’


आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य विभाग, स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख एवं नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली आयुर्वेदिक पद्धतिबाट क्यान्सर निको हुने पद्धति फेला नपरेको बताउँछन् । उनका अनुसार आयुर्वेदिक उपचारका औषधि पनि औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्छ । सुब्बाले सञ्चालन गरिरहेको क्लिनिकले आफैं औषधि उत्पादन गर्छ र वितरण पनि । तर यो कम्पनी औषधि उत्पादनका लागि विभागमा दर्ता भएकै छैन । सुब्बा एचआईभी संक्रमितलाई पूरै निको पारिदिएको दाबी गर्छन् तर त्यस्तो औषधि संसारमै नबनेको सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । ‘एचआईभी निर्मूल हुँदैन, नियन्त्रण हुन्छ, नियमित औषधि खानुपर्छ,’ उनले भने ।

आयुर्वेदिक उपचारका नाममा ठगी धन्दा चलाउने ‘अन्तिम विकल्प’ जस्ता संस्था टोलटोलमा छन् । ‘उनीहरूले लाइसेन्स पनि लिएका छैनन्, भ्रामक प्रचार गरेर लुट मच्चाइरहेका छन्,’ डा. ज्ञवालीले भने । उनका अनुसार देशभरमा ६ सय हाराहारी मात्रै लाइसेन्स प्राप्त आयुर्वेद डाक्टर र ६० जना विषयगत डाक्टर छन् । ‘तीबाहेक अरू सबैले गैरकानुनी काम गरिरहेका हुन्,’ डा. ज्ञवालीले भने ।


केही रेडियो र टेलिभिजनमा पनि यस्ता भ्रामक विज्ञापन बजिरहेका हुन्छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले २०७२ मा प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमबाट यस्ता भ्रामक विज्ञापन हटाउन पत्राचार पनि गरेको थियो । तर अनुगमन नहुँदा सञ्चारमाध्यममै आउने यस्ता विज्ञापनले पनि रोगको आयु बढाउन र बिरामीको आयु घटाउन भूमिका खेलिरहेको डा. ज्ञवाली बताउँछन् ।


म एकदमै ट्यालेन्ट छु

– सुवास सुब्बा

सञ्चालक, अन्तिम विकल्प


मैले आयुर्वेदिक र एलोप्याथिक दुवै विषय पढेको छैन । म डाक्टर होइन तर मलाई डाक्टरलाई भन्दा १० गुणा बढी ज्ञान छ । मैले धेरै अनुसन्धान गरेर क्यान्सर र एचआईभीको औषधि पत्ता लगाएको हुँ । ती औषधि हाम्रै क्लिनिकमा उत्पादन हुन्छन् । मैले अमेरिका र युरोपमा पनि औषधि निर्यात गरेको छु । एकदम राम्रो मार्केट छ हाम्रो औषधिको । यहाँको औषधिले ९९ प्रतिशत बिरामी सञ्चो भएका छन् । यसका लागि मैले केही मिहिनेत गरेको छु, केही परमेश्वरले दिएको बरदान छ । म एकदम ट्यालेन्ट मान्छे हुँ । कलाकार हुँ । गीत गाउँछु । रिसर्चर पनि हुँ । बरको रूख महिला प्रजातिको हो भन्ने मैले पत्ता लगाएपछि रानी ऐश्वर्याबाट तक्मा पनि थापेको हुँ । फोहोर डम्पिङ साइटमा फाल्नुपर्छ भनेर मैले नै नगरपालिकाका मेयरलाई धेरै पहिले आइडिया दिएको हुँ । अरू कुरा धेरै गर्छन्, म काम गर्छु तर के गर्नु सरकारले मजस्तो प्रतिभालाई चिन्न सकेन ।


आयुर्वेदले क्यान्सर निको हुँदैन

– डा. आविश अधिकारी


क्यान्सर समयमै उपचार गर्नु निकै महत्त्वपूर्ण हुन्छ । क्यान्सरको वैज्ञानिक तथ्यहरूले प्रमाणित गरेको उपचार किमोथेरापी (क्यान्सरका विभिन्न औषधि दिने प्रक्रिया), रेडियोथेरापी (विकिरणले ‘सेक्ने’) र शल्यक्रिया (चिरेर झिकेर फाल्ने) हुन् । यी सबै वा कुनै एक वा दुई उपचार हरेक क्यान्सरलाई जरुरी हुन्छ । क्यान्सरको उपचार जटिल छ तर उपचार सम्भव छ ।


क्यान्सरको उपचारमा प्रयोग हुने प्रमाणित औषधिहरू पनि केही जडीबुटी र केही केमिकलबाट बनेका हुन् तर जडीबुटी खाएर कसैको क्यान्सर निको भएको छैन । औषधिहरू निकै राम्रा बन्न थालेका छन् । निकै जटिल अपरेसन पनि सहजै हुन थालेका छन् र रेडियोथेरापी गर्ने मेसिन पनि नयाँ र सटीक भएका छन् । विकसित देशमा उपलब्ध हुने सबै उपचार नेपालमै पाइन्छन् ।

प्रकाशित : पुस २५, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?