१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेसलाई भ्रष्टाचार र विकृति मुक्त गर्ने अभियान सुरु भयो : नेता पौडेल

'केही सभापति डर, त्रासले काठमाडौं आउन सकेनन्'
सम्झना रसाइली

तनहुँ — कांग्रेसमा भ्रष्टाचार र विकृति व्याप्त रहेको र त्यसबाट मुक्त गर्ने अभियानमा आफू लागेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

कांग्रेसलाई भ्रष्टाचार र विकृति मुक्त गर्ने अभियान सुरु भयो : नेता पौडेल

तनहुँमा बिहीबारबाट सुरु भएको सातौं तनहुँ महोत्सव, २०७६ लाई सम्बोधन गर्दै पौडेलले कांग्रेस पार्टीमा पनि भ्रष्टचार र विकृति व्याप्त भएकाले यसको अन्त्यका लागि आफूले अभियान चालेको बताए ।

‘अलग–अलग नेताका गठबन्धन, कुर्सीमा जाँदा अलग–अलग नेता, प्रधानमन्त्रीको कुर्सीका लागि तीन तिर हुने तर ठूला ठूला कारोबारको लागि एकै ठाउँमा हुने गठबन्धनलाई तोड्नका लागि मैले एउटा अभियान चालेको छु,' नेता पौडेलले भने, ‘मैले अहिले भन्ने गरेको छु । यो देशलाई भ्रष्टचार मुक्त गर्न, नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्न मैले आफ्नै पार्टीलाई पनि सुधार्नु छ भन्ने नारा दिएको छु ।’


काठमाडौंमा सभापति भेला बोलाएको चर्चा गर्दै नेता पौडेलले भने, ‘मेरो अभियान अन्तर्गत सभापति काठमाडौं बोलाएको थिएँ । नेपाली कांग्रेसका ७५ जिल्लाका सभापतिहरू मध्ये एक थरी डरले, त्रासले, कारबाही हुन्छ भनेर आउन नसकेपनि दुई तिहाई भन्दा बढी सभापति काठमाडौंमा भेला भए ।’


‘काठमाडौंमा भेला भएका सभापतिलाई कारबाही गर्ने कुरा आयो’, नेता पौडेलले भने, ‘हाम्रा सभापतिले ती सबै सभापतिलाई कारबाही गर्छु भनेर पर्सेर राखेका पाठो जस्तै बनाएका ती सभापतिहरूलाई बिहान मात्रै आफ्नो घरमा बोलाएर ब्रेकफास्ट खुवाए, तपाईहरूले मलाई त्यहिँ बोलाएको भए पनि आउँथे नि भन्न पर्‍यो ।’


उनले संसद बन्धक भएकाले सभामुख चयन हुन नसकेको बताए । प्रदेश पनि बन्धक रहेका र प्रदेशको नाम तोक्न नसकेको उनको भनाइ थियो । उनले यी सबै काममा कम्युनिष्ट सरकारबाट जनता वाक्क भैसकेको बताए ।


‘आज दुई तिहाई बहुमतले सबै कुरा गर्न सक्नुपर्थ्यो तर आज देशको लागि केही गर्न सक्दैन । नराम्रो उपद्रो मात्र गर्न सक्छ,' नेता पौडेलले भने, ‘पत्रकारको मुख थुन्ने, व्यापारीको उद्योग खारेज गर्ने कानुन ल्याउन सक्छ, जनताको मौलिक अधिकार कुण्ठित गर्ने कानुन ल्याउन सक्छ तर देशको उन्नति गर्न सक्दैन । त्यसैले कम्युनिष्टहरूको नारा मात्रै हो, थोत्रा भाषणमात्र हो । देश बनाउने काम तिनीहरूबाट हुँदैन ।’


‘दुई वर्ष बितिसक्दा जनताले बुझिसके आज जनता कम्यूनिष्टबाट अक्क भैसकेका छन्, निरास भैसकेका छन्, जति कम्युनिष्ट नेताहरूले गाउँगाउँमा भाषण गरेका थिए त्यसलाई जनताले व्यवहारमा हेरेर अब पत्याउन छाडिसकेका छन्,' नेता पौडेलले भने, ‘हिजो जनताले भरोसाको केन्द्र हुन्छ कि भन्ने ठानेर कम्युनिष्टलाई भोट दिए तर आज त्यो भंग भएको छ ।’


‘अब कांग्रेस भरोसाको केन्द्र बन्ने कि नबन्ने, त्यो भन्दा अरु विकल्प पनि देखिएन,’ उनले भने, ‘गएको उपचुनावमा अरु पार्टी पनि कोही देखिएनन् थाहा भयो । त्यसकारण कांग्रेस भरोसाको केन्द्र कसरी बन्ने ? त्यो नभए यो मुलुक र जनताको संरक्षक कोही भएन । कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने हाम्रो अभियान हो ।’

प्रकाशित : पुस २४, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?