३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रदेश अस्पतालको सेवा : कर्णाली सहज, सेती सुधारोन्मुख

जँचाउन आउने बिरामीलाई अन्तै जाऊ भन्ने अस्पतालहरु यतिबेला दक्ष जनशक्ति र पूर्वाधार सम्पन्न

वीरेन्द्रनगर/धनगढी — सफा र स्वच्छ वातावरण । आँगनको बगैंचाको सुगन्धमात्र होइन, कम्पाउन्ड र कोठामा बिछ्याइएका मार्बल र टायलले स्तरीय होटलको झल्को दिन्छ । नाम लेख्न होस् वा बिल काट्न, इलेक्ट्रोनिक टिकटको व्यवस्था । अन्तरंग विभागमा बिरामी भेट्न कडा सुरक्षा ।

प्रदेश अस्पतालको सेवा : कर्णाली सहज, सेती सुधारोन्मुख

कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल सबैलाई चकित पार्ने गरी सुधार भएको छ । भौतिक रूपमा मात्र नभई सेवाको हिसाबले पनि भरोसाको केन्द्र बन्दै गएको छ ।

दैलेख, डुंगेश्वरकी सरस्वती राना केही महिनाअघि छोराको उपचार गर्न नेपालगन्ज पुगिन् । भेरी अञ्चल अस्पतालमा करिब १५ दिनसम्म बसे पनि छोराको स्वास्थ्यमा सुधार आएन । डाक्टरले अन्यत्र लैजान सुझाए । अन्ततः उनी सुर्खेतस्थित प्रदेश अस्पताल आइन् । अहिले छोराको स्वास्थ्यमा सुधार आइरहेको छ । ‘हामी प्रदेश अस्पताल पहिलेजस्तै होला भनेर उतै (नेपालगन्ज) गयौं,’ उनले भनिन्, ‘फर्केर आएपछि किन गइएछ भनेर थकथकि लागिरहेको छ ।’ नेपालगन्ज उपचारका क्रममा ४० हजार रुपैयाँमा सकिएको उनले बताइन् ।

प्रदेश अस्पताललाई सुधारिएको देख्ने सरस्वती एक्ली होइनन् । करिब चार वर्षयता अस्पतालले गुणात्मक र भौतिक रूपमै सेवा सुधार्दै लगेको छ । यसले हिजो रिफर भएर बाहिर जाने बिरामी सुर्खेतमै रोकिने गरेका छन् । हिजोको अस्तव्यस्त अस्पताल कसरी सुधारियो त ? मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्का भन्छन्, ‘दक्ष जनशक्ति तथा अत्याधुनिक उपकरणको बन्दोबस्ती र प्रभावकारी सेवाले अस्पतालप्रति विश्वास बढेको हो ।’ कुनै बेला विशेषज्ञ चिकित्सकै नबस्ने अस्पतालमा अहिले स्वास्थ्यकर्मी अभाव छैन । १६ जना विशेषज्ञ चिकित्सक छन् । तीमध्ये १२ जना कर्णालीवासी हुनुले दक्ष चिकित्सकको अभाव नखड्किने डा. खड्का बताउँछन् । अन्य २२ जना एमबीबीएस र एमडी डाक्टर पनि छन् । प्रदेश सरकारले सेवा विस्तार गर्ने योजना बनाएपछि थप राहत मिलेको उनले बताए । प्रदेश अस्पताल मातहत गएपछि सरकारले हाल १ सय २५ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरेको छ, त्यसमध्ये चिकित्सकको दरबन्दी ७७ जना छ । अस्पताल १ सय ५० शय्यामा सञ्चालन भएपछि दरबन्दीअनुसार थप जनशक्ति आउने उनले बताए । अहिले सरकार र आन्तरिक स्रोतबाट १ सय १५ शय्या क्षमता छ ।

तीन वर्षअघिसम्म अस्पतालबाट बिरामी नेपालगन्ज र काठमाडौं रिफर हुन्थे । पहाडी जिल्लाका बिरामी पनि सिधै नेपालगन्ज जान्थे । अहिले बाहिरबाट रिफर भएर आउँछन् । दैनिक करिब ६ सय बिरामी उपचारमा आउने गरेका छन् ।

भौतिक पूर्वाधारमा पनि अस्पतालले फड्को मारेको छ । करिब ५५ करोड लागतमा तीन सय शैय्या क्षमताको भवन निर्माण भएको छ । उक्त भवनमा वैशाखदेखि सबै सेवा सञ्चालनको तयारी छ । प्रदेश सरकारमातहत जानुअघि अस्पतालमा संघीय सरकारले वार्षिक करिब १ करोड रुपैयाँ पठाउँथ्यो । गत वर्ष भने प्रदेश सरकारले ४० करोड बजेट दिएको थियो । उक्त बजेटमध्ये २० करोडबाट उपकरण खरिद प्रक्रिया सुरु गरिएको मेसु डा. खड्काले बताए । ‘उपकरण र जनशक्ति भएपछि नै हामीले डायलासिसदेखि आईसीयू, सिटीस्क्यान सेवा सुरु गरेका छौं,’ उनले भने ।

सुर्खेत जिल्ला अस्पतालबाट २०६२ फागुन ७ मा क्षेत्रीयमा स्तरोन्नति भएको अस्पताल गत वर्ष प्रादेशिक अस्पतालमा रूपान्तरण भएको हो । सुरुवातमा एक दशकसम्म चिकित्सक थिएनन् । अहेव र एचएले बिरामी जाँच्ने काम गर्थे ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारले समेत सुर्खेतमा सुर्खेत मेडिकल कलेज स्थापनाको तयारी थालेकाले प्रदेश सरकारको समेत सहकार्यमा यो योजना अघि बढ्ने बताए ।

सेती अस्पतालमा सुधार

प्रदेशकै एकमात्र रेफरल सेन्टर रहेको सेती प्रादेशिक अस्पतालका सेवा सुधारोन्मुख देखिएको छ । सेवा प्रवाह, स्वास्थ्य सेवाको गुणस्तर र पूर्वाधार विस्तारमा अस्पतालले गति लिएको हो । अस्पतालले माघ १ देखि लागू हुने गरी ६० वर्षमाथि उमेरका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्न लागेको छ ।

हाल एउटा मात्रै रहेको भेन्टिलेटर थपेर पाँच पुर्‍याउने योजना छ । अपुग विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफ थप्ने, सिटीस्क्यान मेसिन जडानलगायतका योजनाहरू अघि बढाइएको छ । ‘मुटुको जाँच गर्ने भिडियो एक्सरे (इकोकार्डियोग्राम) र भिडियो इन्डोस्कोपी सेवा पनि सुरु गरेका छौं,’ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याइसकेका छौं ।’

५० शय्याको यो अस्पतालमा बिरामीको अत्यधिक चापका कारण २ सय ४० शय्यामा सेवा दिइएको छ । धमाधम निजी अस्पताल खुल्न थालेपछि धनगढी स्वास्थ्यको ‘हब’ का रूपमा विकास हुन थालेको छ । प्रादेशिक अस्पतालको सेवा भने केही महिना अघिसम्म प्रभावकारी थिएन । ‘अहिले केही फरक महसुस भएको छ,’ अस्पतालमा भेटिएका धनगढी तारानगरका त्रिलोक साउँदले भने, ‘खोजेका बेला डाक्टर पनि भेटिन्छन् । उपचार पनि पहिलेको तुलनामा राम्रो छ ।’

अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त २ करोड ५० लाखबाट भेन्टिलेटर र अपुग विशेषज्ञ चिकित्सक र नर्सहरू थप्ने प्रक्रिया अघि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशीले बताए । ‘२० जना डाक्टर र २५ जना नर्सिङ स्टाफ थप गर्ने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘अस्पताललाई सबैभन्दा अपुग नर्सिङ स्टाफको छ । ७५ जना अपुग भए पनि अहिले २५ जना ल्याउँछौं ।’ २० जना डाक्टरहरूमा डेन्टल सर्जन, मुटु रोग विशेषज्ञ (कार्डियोलोजिस्ट), न्युरो सर्जन, जनरल सर्जन, माइक्रोबायलोजिस्ट र एआरटी विशेषज्ञहरू भर्ना गर्ने योजना अघि बढेको जोशीले बताए । ‘अन्य मेडिकल अधिकृतहरू पनि भर्ना गर्न लागेका छौं,’ उनले भने, ‘माघदेखि नयाँ स्टाफ ल्याइसक्ने योजनामा छौं ।’

अस्पतालमा पाँच शय्याको आईसीयू छ । ‘भेन्टिलेटरको संख्या थप्छौं,’ उनले भने, ‘आईसीयू पनि १५ शय्या पुर्‍याउँदै छौं ।’ हाल सुदूरपश्चिमका कुनै पनि सरकारी स्वास्थ्य संस्थामा सिटीस्क्यान सेवा छैन । अस्पतालले उक्त सेवा राख्न लागेको छ । अध्यक्ष जोशीका अनुसार सिटीस्क्यान भवन २ करोड १० लाखको लागतमा निर्माणाधीन छ । उपकरणका लागि प्रदेश मन्त्रालयबाट ८ करोड बजेट विनियोजन भइसकेको उनले बताए ।

मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु हुन लागेको छ । त्यसका लागि हाललाई ३० लाख बजेट आएको छ । अस्पतालमा मानसिक रोग उपचार, फिजियोथेरापी सेवासमेत सुरु भइसकेको उनले बताए । दुई करोड लागतमा गत मंसिरदेखि अक्सिजन उत्पादन सुरु भइसकेको अस्पतालले जनाएको छ । ‘उत्पादन क्षमताभन्दा आधा मात्रै खपत भइरहेको छ,’ सुपरिटेन्डेन्ट पाण्डेले भने, ‘बाहिरबाट अक्सिजन खरिद गर्नुपर्दा वार्षिक ७० लाख खर्च भइरहेको अवस्था थियो ।’ अस्पतालमा संघीय मन्त्रालयको ३० करोडको लागतमा अन्य सातवटा भवनहरू निर्माणाधीन छन् । हाल ५० जना डाक्टरसहित २५० जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।

प्रकाशित : पुस २४, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?